कोरोना भाइरसको प्रकोप र प्रभावबाट आप्रवासी कामदारहरुलाई बचाउन आवश्यक आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
बुधबार दायर गरिएको रिटमा कोरोनाका कारण वैदेशिक रोजगारीको स्थिति भयावह हुन सक्ने भन्दै अन्तिरिम आदेश जारी गर्न माग गरिएको छ।
अधिवक्ता सोमप्रसाद लुइटेल, नरेन्द्र प्रकाश खनाल र सुदिप देबकोटाले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट मन्त्रालयका नाममा आदेश माग गर्दै रिट दायर गरेका हुन्।
नेपाली कामदारहरु मध्ये ठूलो हिस्सामा मलेसिया र खाडी मुलुकहरुमा कार्यरत छन्। नेपाली कामदारहरु रहेको ती मुलुकहरुमा कोरोना संक्रमण बढ्दै गएको छ। विदेशमा करिव ७ सय नेपाली संक्रमित हुँदा १४ जनाको ज्यान गइसकेको छ।
नेपाली कामदारहरुका प्रमुख गन्तव्य मुलुकहरु मलेसिया, साउदी अरेबिया, कतार, युएईलगायतका देशमा महामारी फैलिएको छ। ती देशमा अहिले लकडाउनको अवस्था छ्।
कोरोना संक्रमणका कारण त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य उपचारदेखि रोजगारीमा समस्या भएको रिटमा उल्लेख छ।
काम बन्द हुँदा रोजगारी गुमाउनु परेको कम तलब पाउने तथा वेतलवी बिदामा बस्नु परेको, खान बस्न समस्या भएको, अलपत्र परेकाहरुलाई नेपाल फर्कन समस्या भएको, भिसा, रोजगार सम्झौता तथा श्रम स्वीकृतिको अवधि समाप्त भएको, दीर्घकालिन रुपमा रोजगार गन्तव्य गुम्न सक्ने, मृतक कामदारहरुको शव ल्याउन समस्या भएको रिटमा उल्लेख गरिएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ (२) अनुसार नेपाली कामदार रहेको मुलुकमा महामारीका कारण कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनितिक नियोग वा श्रम सहचारी मार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउने छ भन्ने उल्लेख छ।
दफा ३३ अनुसार कामदार तथा मृतक कामदारको शवलाई त्यसरी फिर्ता गराउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको छ।
तर विश्वव्यापी महामारीको प्रकोपको बेलामा वैदेशिक रोजगारीमा लाखौँको संख्यामा रहेका नेपाली कामदारहरुको विषयमा सरकारबाट कुनै पहल हुन नसकेको बताइएको छ।
विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वास्थ्य सेवाका लागि कुटनैतिक नियोगहरु परिचालन गर्न र रोजगार गुमाउन सक्ने कामदारहरुलाई त्यहिका अन्य कम्पनीमा काम दिलाउन पहल गर्न माग गरिएको छ। यदि रोजगारी दिलाउन नसके तत्काल उद्धार गरी नेपाल ल्याउन भनिएको छ।
रोजगारी गुमाई नेपाल आउन सक्ने कामदारको तलब लगायतका सुविधा सम्बन्धीत देशको कम्पनीबाट दिलाउन र उनीहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपुर्ति दिलाउन र पुर्नएकिकरण कार्यक्रम सञ्चालन गर्न पनि माग गरिएको छ।
कोरोना प्रभावित मुलुकहरुमा नेपाली कामदारलाई हाल परिरहेको र भविष्यमा पर्नसक्ने असरको विश्लेषण गरी वैदेशिक रोजगारीमा पर्न सक्ने असर र नेपालले उठाउनु पर्ने कदमबारे कार्यदल मार्फत रणनिति तयार गर्न पनि रिटमा माग गरिएको छ।
कोरोना प्रभावित कामदारको उद्धार, स्वदेश फिर्ती, उपचार र पुर्नसंस्थापनका लागि दातृ निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र व्यक्तिहरुको परिचालन गरी छुट्टै कोष निर्माण गर्न, सार्क स्तरीय कोरोना रोकथाम कोषको परिचालन गर्न सकिने विकल्प रिटमा सारिएको छ।

प्रतिक्रिया