समाज


दिल्लीबाट आएका २ जनामा र्‍यापिड टेस्टले कोरोना देखाएपछि सप्तरीका २ वडा सिल

दिल्लीबाट आएका २ जनामा र्‍यापिड टेस्टले कोरोना देखाएपछि सप्तरीका २ वडा सिल

शैलेन्द्र महतो
बैशाख ३, २०७७ बुधबार ९:१०,

सप्तरीमा तीब्र बिधिबाट गरिने र्‍यापिड डायग्निस्टिक टेस्ट (आडीटी) परीक्षणमा दुईजनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि स्थानीय दुईवटा वडा सिल गरिएको छ।

सप्तरीको खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ मंगलबार साँझदेखि नै सिल गरिएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

तर जिल्ला प्रशासन कार्यालय सप्तरीले ती दुई वडा सिल गर्ने आधिकारिक निर्णय भने बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको हो।

दिल्लीबाट आफ्नो घर फर्किएका ८ जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड टेस्ट गराएको थियो।

सातजनाको र्‍यापिड परीक्षण गर्दा दुईजनामा एन्टीबडी पोजिटिभ देखिएको थियो। यस्तै एकजनाको आज र्‍यापिड टेस्ट भइरहेको अस्पतालले जनाएको छ।

रिपोर्ट पोजिटिभ देखिएका दुवैजनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न बुधबार धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको छ।

मंगलबार साँझ नै उक्त रिपोर्ट आउँदा दुवै वडा सिल गरिएको प्रहरी उपरीक्षक प्रसाईले नेपालखबरसंग जानकारी दिए। उनका अनुसार वडाबाहिर जान र भित्रिन सर्वसाधारणलाई लगाइएकाे प्रतिवन्धमा थप कडाइ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको सुरक्षा समितिको बैठकले रिपोर्ट पोजिटिभ देखिएका दुवैजनाको परिवारका सदस्यहरुको र्‍यापिड टेस्ट गर्ने र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने निर्णय भएको प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .