समाज


कक्षा १२ मा ५ वर्षयताकै उत्कृष्ट नतिजा, शिक्षा क्षेत्रमा सुधारको संकेत

शिक्षाविद् भन्छन् : सुधार देखियो, अब यी विद्यार्थीलाई देशमै टिकाएर देखाऔँ
कक्षा १२ मा ५ वर्षयताकै उत्कृष्ट नतिजा, शिक्षा क्षेत्रमा सुधारको संकेत

प्रज्ञा तिम्सिना
साउन १९, २०८२ सोमबार २१:५७, काठमाडौँ

माध्यामिक शिक्षाको अन्तिम (कक्षा १२) को परीक्षामा ५ वर्षयताकै धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। सोमबार सार्वजनिक भएको नतिजाअनुसार यस वर्ष गतवर्षको तुलनामा उत्तीर्ण विद्यार्थी प्रतिशतमा ९ अंकको सुधार आएको छ।

परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना सहभागी भएकोमा ६१ दशमलव १९ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ विद्यार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी सहभागी भएकोमा ३६ दशमलव १४ प्रतिशत अर्थात् ४१ हजार ८४० जना विद्यार्थी उत्तीर्ण भएका छन्।  

वैशाख २१ गते देखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएकामा २ लाख ८४ हजार ३०५ जना विद्यार्थी उत्तीर्ण भएका हुन्। 

नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना र आंशिकतर्फ ७२ हजार ८०० विद्यार्थीले ननग्रेड पाएका छन्। 

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थीको नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ।

परीक्षा दिएका मध्ये नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना विद्यार्थीको परीक्षा रद्द भएको छ। 

अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थीले ननग्रेड पाएका छन्। 

१३ हजार ५०२ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन्। 

नतिजा अनुसार २ दशमलव ८ देखि ३ दशमलव २ ल्याउने सबैभन्दा बढी विद्यार्थी छन्। यस वर्ष ९४ हजार २६८ जना विद्यार्थीले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन्। २.४ देखि २ दशमलव ८ प्रतिशत ल्याएर ६९ हजार ८ सय १२ जना उत्तीर्ण भएका छन्। ३.२ देखि ३.६ जीपीए ५५ हजार ८९६ जना विद्यार्थीले ल्याएका छन्। २.१ देखि २ .४ जीपीए ल्याउने विद्यार्थी संख्या ८ हजार ९६४ छन्। १.६ देखि २ जीपीए ल्याउने २३ जना विद्यार्थी छन्।

यो नतिजा पाँच वर्षयताकै उत्कृष्ट हो।

२०७८ सालको परीक्षामा ४६ दशमलव ४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। २०८० को परीक्षामा नतिजा केही घटेको थियो। सो वर्ष ५०.९१ प्रतिशत उत्तीर्ण भएका थिए। 

गत वर्ष ५२ प्रतिशत विद्यार्थी कक्षा १२ मा ग्रेडिङ भएका थिए। गत वर्ष ५२.९१ प्रतिशत उत्तीर्ण भएका थिए। यस वर्ष ९ अंकको सुधार आएर ६१ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका हुन्। 

माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो।

‘नतिजा सुधारोन्मुख छ, खुसी भइहाल्ने अवस्था छैन’ 
शिक्षाविद् धनञ्जय शर्मा कक्षा १२ को नतिजा सुधारोन्मुख देखिए पनि गुणस्तरका हिसाबले सन्तोषजनक नभएको बताउँछन्। 

‘केही वर्षयताको नतिजा मूल्यांकन गर्दा यस वर्ष सुधारोन्मुख देखिएको छ। तर, विद्यार्थीको सिकाइदर सुधार हुन सकेको छैन। विषयगत रुपमा ननग्रेड ल्याउने विद्यार्थी संख्या ठूलो छ,’ उनी भन्छन्, ‘आंशिकतर्फका विद्यार्थी ठूलो संख्यामा ननग्रेड भएका छन् त्यसले सिकाइदरमा सुधार हुन नसकेको देखाउँछ। यद्यपि, नतिजा निराशाजनक होइन। गुणस्तरको हिसाबले माध्यामिक शिक्षा अपेक्षाकृत सुधार हुन सकेको छैन। आंशिकमा पास हुने विद्यार्थी संख्या गत वर्षको तुलनामा घटेको छ। संख्यात्मक हिसाबले बढे पनि सन्तोष गर्ने ठाउँ छैन।’

पास हुने विद्यार्थीको संख्या बढ्नुमा परीक्षा कसरी सञ्चालन भयो र उत्तरपुस्तिका कसरी परीक्षण गरियो भन्ने कुराले प्रभाव पारेको बताउँछन्।

‘परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, परीक्षा हलको वातावरण कस्तो थियो भन्नेले पनि निधारण गर्छ। यो वर्षको नतिजाले निराश हुने अवस्था छैन। तर, सरकारको लगानी, शिक्षकहरूको श्रम र विद्यार्थीको मेहनतको तुलनामा कम हो,’ उनले भने।

शिक्षाविद् बालचन्द्र लुइँटेल कक्षा १२ मा पास हुने विद्यार्थी संख्या बढ्नुलाई स्वाभाविक मान्छन्।

‘शिक्षामा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले लगानी गरेका छन्, मेहनत गरेका छन्, त्यसको प्रतिफल देखिएको हो। यो स्वाभाविक पनि हो, तर अहिले नै नेपालको शिक्षा प्रणाली सुधार भयो भनेर खुसी भइहाल्ने अवस्था भने छैन,’ उनी थप्छन्, ‘अहिले पास भएको नतिजालाई सकारात्मक रुपमा भने लिनुपर्छ।’

‘यो वर्ष कक्षा १० को नतिजा सुधारोन्मुख देखिएको थियो, अब विस्तारै शैक्षिक क्षेत्र सुधार हुँदै गएको भन्ने बुझ्न सकिन्छ,’ उनले भने, ‘नतिजा सुधार हुँदा परीक्षा राम्रोसँग सञ्चालन भएन, उत्तर पुस्तिका राम्रोसँग परीक्षण भएन भनेर प्रश्न गर्नु भने गलत हो। देशभरिका सबै परीक्षा केन्द्रले राम्रोसँग परीक्षा सञ्चालन गरेनन् भनेर कसरी प्रमाणित गर्न सकिन्छ? केही जिल्लामा सामुदायिक विद्यालय निजीका तुलनामा अब्बल हुँदै गएका छन्, उनीहरूमाथि पनि हामीले प्रश्न उठाउने?’

बरु नतिजालाई लिएर टिप्पणी गर्नुभन्दा मेहनत गरे राम्रो नतिजा आउँछ भनेर शिक्षक र विद्यार्थीलाई उत्प्रेरित गर्नुपर्ने उनको तर्क छ।

‘विद्यार्थी टिकाउने शिक्षा दियौँ त?’
शिक्षाविद् विद्यानाथ कोइराला भने विद्यार्थीलाई नेपालमा नै टिकाउने शिक्षा दिए/नदिएको परीक्षण गर्नुपर्ने बताउँछन्। 

‘हामीले विद्यार्थीलाई गरिखाने व्यावहारिक ज्ञान दिन सकेका छैनौँ, कक्षा १२ पछि विदेशिने विद्यार्थीको लर्को लाग्छ,’ कोइराला भन्छन्, ‘विद्यार्थी टिकाउने शिक्षा दिनुपर्‍यो, यान्त्रिक नतिजामा खुसी हुनु हुँदैन।’

‘विद्यार्थीलाई गरी खाने सीप नदिएका कारण विद्यार्थीमा खाडीमा भेटौँला भन्ने भाष्य स्थापित भएको छ। नेपालमा केही सम्भावना छैन भन्ने मानसिकता विकास भएको छ, त्यसलाई हटाउन सक्नु पर्छ,’ उनले थपे, ‘नतिजाको संख्यात्मक वृद्धिमा खुसी हुनु पर्दैन। अब विद्यार्थीलाई नेपालमा सम्भावना छ भन्ने देखाउन सक्नु पर्छ। पास भएका विद्यार्थीलाई नेपालमा टिकाउन सक्नुपर्‍यो। १२ पछि बाहिरिने क्रम रोक्नु पर्छ। यही माटोमा टिकाउन सक्ने वातावरण बनाउनु पर्छ।’ 

पूरक परीक्षा भदौ २८ र २९ गते
राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडेड भएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक परीक्षा सञ्चालन गर्ने जनाएको छ। 

परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेडेड भएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षाफलमा आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले प्रतिविषय ५०० रुपैयाँका दरले अनलाइन मार्फत दस्तुर बुझाई ०८२ साउन २० गते अपरान्ह १ बजेदेखि साउन २९ गते साँझ ५ बजेभित्र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad