समाज


जोखिममा भटौली खोलाको पक्की पुल

जोखिममा भटौली खोलाको पक्की पुल

नेपालखबर
साउन ११, २०८२ आइतबार ७:५१, रामेछाप

सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ।

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँसँग जोड्ने वैकल्पिक सडक खण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको हो। जिल्ला सदरमुकाम रहको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढी सिधै ठोक्किन थालेपछि पुल जोखिम मा पर्दै गएको हो। 

खाँडादेवी–४ का स्थानीय खेमबहादुर खत्रीका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा कटान गर्दै लगेको छ। खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएकोले, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठुलो क्षति पुग्न सक्ने पनि खत्रीले बताए। उनले पुलको सुरक्षाका लागि खाँडादेवी गाउँपालिका,मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको भए पनि कतैबाट हालसम्म सुनुवाइ नभएको बताए। 

वर्षायाम सुरु भएसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठुलो क्षति पुग्ने जोखिम उच्च रहेको स्थानीय अक्कलबहादुर माझी बताउँछन्। वर्षाको बेला बाहुन्चुरा, पिङ्गखुरी र गागलको माथिल्लो भेगमा बढी पानी पर्ने गरेको र ती ठाउँमा परको पानीका कारण दैनिक जसो यस खोलामा बाढी आउने गरेकाले पनि यसलाई चाँडै नै क्षति हुनबाट बचाउन आवश्यक रहेको मन्थली नगरपालिका–७ का वडाध्यक्ष भुवनहरी प्रसाईँले बताए। 

उनले भने, ‘यो मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्दछ, मैले पनि नगर कार्यपालिकाको बैठकमा कुरा राखेको छु, दुवै पालिका मिलेर समस्या समाधान गर्न जरुरी छ।’ खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्ण पौडेलले पनि यसबारेमा सम्बन्धित निकायलाई यसअघि नै जानकारी गराइसकिएको बताए।

यो खोलाको पक्की पुल तीनवटा गाउँपालिका जाने प्रमुख र काठमाडौ जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ । गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा र रामेछाप जाने आउने सबै सवारीसाधनले यही बाटो प्रयोग गरेका थिए । अहिले पनि खुर्कोटको बेलीब्रिजबाट १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन वारपार गर्न पाउँदैनन्, यही पुल भएर आवतजावत गर्नुपर्छ । त्यसैले पनि यस पुलमा क्षति पुग्ने हो भने यस क्षेत्रको आवागमन नै अवरुद्ध हुने मन्थली नगरपालिका–७ का स्थानीय बलवहादुर तामाङ बताउँछन् । उनले भने, ‘यो पुल क्षति हुनबाट चाँडै जोगाउन सकिएन भने पछि पछुताउनु सिवाय केही हुँदैन।’

उक्त पुललाई क्षति हुनबाट जोगाउन चालु आवमा खर्च गर्ने गरी कार्यपालिकाबाट कुनै बजेट विनियोजन नभएको तर त्यस्तो समस्या भइहाल्यो भने विपद् कोषबाट तत्काल मर्मत सम्भार गर्न सकिने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad