त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा कर्मचारी फेरबदल गरिने भएको छ। विमानस्थल सुधारका लागि भन्दै ४५ जना कर्मचारी सरुवा गरेर नयाँ अधिकृत पठाउन लागिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृहमन्त्रालयमा पठाएको र गृहले ती नाम भएका कर्मचारीलाई विमानस्थलमा खटाइसकेको गृहमन्त्री रमेश लेखकको सचिवालयले नेपालखबरलाई जानकारी दियो।
'अब ४५ जना नयाँ अधिकृत जान्छन्। उनीहरू भरखरै लोकसेवा पास भएर आएकाहरू छन्। फ्रेसबाट काम राम्रो हुन्छ नयाँ जेनेरेसन पनि छन् भन्ने हिसाबले यो परीक्षण गर्न लागिएको हो,' सचिवालय स्रोतले भन्यो, '४५ जना अधिकृतलाई सामान्य प्रशासनले हामी(गृह)लाई पठायो गृहले मंगलबार अध्यागमन विभाग पठायो।'
सेटिङले बदनाम अध्यागमनको साख फर्काउने जिम्मा अब तिवारी र घिमिरेलाई
मंगलबार गृहले ४५ जना नयाँ अधिकृतहरूको नाम अध्यागमनमा पठाएको र मंगलबारदेखि नै उनीहरू विमानस्थलमा तालिम लिइरहेका छन्।
'काम सुरु गर्नुअघि ट्रेनिङ हुन्छ। ४५ जनाले नै हिजै (मंगलबार)देखि तालिम गरिरहेका छन्,' उनले भने,'यो ट्रेनिङ हिजोदेखि सुरु भयो भोलिसम्म चल्छ। भोलिदेखि नै त्यहाँ उनीहरूले जिम्मेवारी पनि सम्हाल्छन्।'
नयाँ अधिकृतहरूले कार्यसम्पादनदेखि विमानस्थलमा आउने, जाने पाहुनासँग गरिने व्यवहारबारे तालिम लिइरहेको गृहमन्त्रालयले जनाएको छ। गृहका अनुसार उनीहरूले त्यहाँ संकास्पद गतिविधिमा संलग्न भएकाहरू पहिचानबारे पनि विशेष तालिम लिनेछन्। त्यस्तै कार्यसम्पादन कसरी चुस्त बनाउने भन्नेबारे पनि उनीहरूले तालिम लिइरहेका छन्।
उनीहरू त्यहाँ गएपछि विमानस्थलमा भएकाहरू काठमाडौँमा रहने सम्भावना कम हुनेर बाहिरका इलाका प्रशासन र जिल्ला प्रशासन कार्यालयहरूमा सरुवा गरिने पनि बताइएको छ।
मंगलबारमात्रै गृहमन्त्रालयले विमानस्थल अध्यागमनको प्रमुखमा पनि फेरेको थियो। विमानस्थलका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा सरुवा गरेर उनको ठाउँमा खोटाङमा प्रमुख जिल्ला अधिकारी रहेका नरहरि घिमिरेलाई पठाइएको छ।
त्यस्तै मंगलबार नै अध्यागमन विभागको महानिर्देशक पनि हेरफेर गरिएको थियो। विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन्। गृहमन्त्री रमेश लेखकले मन्त्रालयकै सुरक्षा महाशाखा प्रमुख रहेका तिवारीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
यसअघि अध्यागमनको महानिर्देशक रहेका गोविन्द प्रसाद रिजाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।
Shares

प्रतिक्रिया