अबदेखि सेयर धितोमा एक व्यक्तिले २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरेको हो।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो कर्जाको सीमा बढाउने बताएका थिए। सोहीअनुसार केन्द्रीय बैंकले बुधबार एकल ग्राहक कर्जा सीमा बढाएको हो।
यसअघि १५ करोडसम्म मात्र लिन पाइने व्यवस्था थियो।
यसअनुसार धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि भने यो व्यवस्था लागू हुनेछैन।
सेयर धितोमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको एकीन गरेर मात्र कर्जा प्रवाह वा नवीकरण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरे बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।
Shares

प्रतिक्रिया