समाज


वार्षिक ६० हजार जलनपीडित, तर प्लास्टिक सर्जनको दरबन्दी ६ वटा मात्रै

दरबन्दी नहुँदा प्लास्टिक सर्जरी विषयमा रुचि घट्दो, न्याम्सले दिने ३ सिट पनि जान्छ खेर
वार्षिक ६० हजार जलनपीडित, तर प्लास्टिक सर्जनको दरबन्दी ६ वटा मात्रै

प्लास्टिक सर्जरी दिवसका अवसरमा ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा धारणा राख्दै चिकित्सकहरू


प्रज्ञा तिम्सिना
असार ३१, २०८२ मंगलबार २१:२०, काठमाडौँ

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)सँग वार्षिक ३ जना प्लास्टिक सर्जन उत्पादन गर्ने क्षमता छ। तीन वर्षयता ९ जना चिकित्सक उत्पादन हुनु पर्नेमा ३ जना मात्र चिकित्सक उत्पादन भए। तर, तीन वर्ष लगातार ३ जनाको सिटमा १ जना मात्र चिकित्सक पढ्न आए। जसका कारण न्याम्सको वार्षिक २ वटा सिट खाली गइरहेको छ। 

त्रिवि शिक्षण अस्पतालमा पनि छुट्याएको सिटमा पढ्न चिकित्सकहरूले रुचि देखाएका छैनन्। आयोगले त्रिविलाई २ सिट छुट्याएको छ, जहाँ यो वर्ष मात्र २ विद्यार्थी आए। यसअघिका दुई वर्ष सिट खाली गएको थियो।

हाल त्रिवि शिक्षण र वीर अस्पतालले प्लास्टिक सर्जरी विषय पढाउन अनुमति पाएका छन्। आयोगले दुई अस्पताललाई ५ सिट दिएको छ। तर, शल्यचिकित्सामा स्नातकोत्तर (एमएस) गरेका चिकित्सकहरूको प्लास्टिक सर्जरीमा आकर्षण कम हुँदा सिट खाली जाने गरेको हो।

यसका कारण नेपालमा प्लास्टिक सर्जन समेत कम छन्। हाल काम गरिरहेका र पढिरहेका गरी ५० जना प्लास्टिक सर्जन छन्। 

प्लास्टिक सर्जनको सरकारी दरबन्दी पनि निकै कम छ। ९ औँ तहमा ४ र ११ औँ तहमा २ वटा मात्र दरबन्दी छ। 

वीर अस्पतालका प्लास्टिक सर्जन डा पशुपतिबाबु पोखरेल सरकारी दरबन्दी कम हुँदा प्लास्टिक सर्जरीमा अरुचि भएको बताउँछन्।

‘९ औँ तहतमा ४ दरबन्दी भए पनि २ जना मात्र कार्यरत छन्। भएको दरबन्दीमा पनि विज्ञापन खुलाएर चिकित्सक राख्न सकिएको छैन, नयाँ दरबन्दी २०४८ देखि  थपिएको छैन,’ उनले भने, ‘निजी अस्पतालले नराख्ने, सरकारीमा दरबन्दी नखुलाउने हुँदा प्लास्टिक सर्जरी विषयप्रति रुचि घट्दै गएको छ। बरु एमएस गरिसकेपछि न्युरो सर्जरी, कार्डियो सर्जरीजस्ता विषयमा आकर्षण बढ्न थाल्यो।’

कीर्तिपुर बर्न अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा शकरमान राई नेपालमा जलनको उपचार गर्न आवश्यक पर्ने चिकित्सक उत्पादन नभएको बताउँछन्। 

‘वर्षको ५ जना पढाउन सक्ने क्षमता छ। वार्षिक २ जना पनि चिकित्सक  उत्पादन हुँदैनन्,’ डा. राईले भने, ‘क्षमता अनुसार पढाउन नपाएका कारण चिकित्सक नै कम छन्।’

पढेका चिकित्सक पनि काठमाडौँ केन्द्रित भएको डा राई गुनासो गर्छन्। 

डा राईले भने ‘छात्रवृत्तिमा पढेका प्लास्टिक सर्जनलाई २ वर्ष काठमाडौँबाहिर गएर काम गर्नुपर्ने बाध्यामक अवस्था भएर मात्र चिकित्सक काठमाडौँ बाहिर गएका हुन्। वार्षिक २ जना चिकित्सक २ वर्षका लागि बाहिर जान्छन्। त्यसैको भरमा काठमाडौँबाहिरको उपचार विस्तार हुन सकेको हो। सरकारको ध्यान अहिले शय्या विस्तार गर्नतिर गयो, जनशक्ति कसरी बढाउन सकिन्छ भन्नेतिर गएन।’

कांगे्रस नेता चन्द्र भण्डारी जलनमा पर्दा उनलाई भारत लैजानुपर्ने अवस्था आएपछि नेपालमै जलनको अत्याधुनिक अस्पताल बन्नुपर्ने बहस चलेको थियो। संसदमा समेत यो विषय उठेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर अस्पताललाई जलन उपचारको प्रमुख अस्पतालका रूपमा विस्तार गर्नका लागि अनुदान दिने प्रक्रिया अगाडि बढिसकेको बताएका थिए। 

‘जलनमा उपचार गर्ने चिकित्सकलाई बेवास्ता गर्ने सरकार आफ्नै नेता जलनमा परेपछि केही चासो दिन थालेको छ,’ डा राई भन्छन्, ‘सबै अस्पतालमा जलनको शय्या थप गर्ने भनेर उद्घोष गरियो। तर, शय्या थप गरेर मात्र हुँदैन, जलनमा परेका सबैलाई शय्या आवश्यक पर्दैन, उपचार गर्न चिकित्सक चाहिन्छ, त्यो तर्फ सरकारको कहिल्यै ध्यान गएन।’ 

तर, कीर्तिपुर अस्पताल विस्तारको प्रक्रिया पनि अघि नबढेको उनको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनमा परेका सबै व्यक्तिको निशुल्क उपचार हुने र सातै प्रदेशमा जलनको उपचार हुने व्यवस्था मिलाउने जनाएको छ। हाल देशभर वार्षिक ६० हजारसम्म व्यक्ति जलनमा पर्ने गरेका छन् भने २ हजारको मृत्यु हुने गरेको तथ्यांक छ।

ओएनएम सर्वेक्षणमा समावेश गरिएन प्लास्टिक सर्जनको दरबन्दी 
अस्पतालमा चिकित्सकको दरबन्दी थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेको थियो। सर्वेक्षणले २ हजार १०२ जनशक्ति थप गर्न सकिने प्रतिवेदन बुझाएको थियो। सो बमोजिम मन्त्रालयले संघीय सरकार अन्तर्गत रहने गरी २ हजार १०२ दरबन्दी थप्न प्रस्ताव गरेको छ। तर, मन्त्रालयले गरेको सर्वेक्षणमा प्लास्टिक सर्जनको दरबन्दी थप्न भनिएको छैन।

‘सरकारले लामो समयपछि गरेको ओएनएम सर्वेक्षणमा पनि प्लास्टिक सर्जनको दरबन्दी थप गरिएको छैन, निजी मेडिकल कलेजदेखि अस्पतालले राख्दैनन्,’ वीर अस्पतालका डा पोखरेल भन्छन्, ‘जागिर पाउने सुनिश्चित नभएपछि कसरी पढ्छन्? भएका चिकित्सक पनि पलायन हुन्छन्।’

देशभर जलनको उपचार गर्ने ६ अस्पताल छन्। वीर, त्रिवि शिक्षण, पाटन, कीर्तिपुर, सुष्मा कोइराला अस्पतालमा जलनको उपचार हुदै आएको छ। 

क्यान्सरदेखि जलनका बिरामीको उपचार गर्न चाहिन्छ प्लास्टिक सर्जन
प्लास्टिक सर्जन अनुहार मिलाउन गरिने शल्यक्रिया, जन्मजात हुने रोगदेखि क्यान्सरको शल्यक्रियापछिको उपचारमा पनि आवश्यक पर्छ। 
‘टाउकोमा ट्युमर भएका व्यक्तिलाई ट्युमर निकालेपछि सो स्थानमा थप उपचार चाहिन्छ,’ त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा सुमित शर्मा भन्छन्, ‘प्लास्टिक सर्जरीको माध्यमबाट थप उपचार गर्छौं।’

कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डा विशाल कार्की जन्मजात हुने समस्या पनि प्लास्टिक सर्जरी मार्फत मिलाउन सकिने बताउँछन्। 

‘विभिन्न कारणले जन्मजात तालु फाटेको, ओठ काटिएको जस्ता समस्या प्लास्टिक सर्जरीबाट मिलाउन सकिन्छ। सबै रोगको उपचार गर्न प्लास्टिक सर्जन आवश्यक पर्छ,’ उनले भने, ‘कप्र्तिपुर अस्पतालमा मात्र यस्तो समस्या भएका २५ हजारभन्दा बढी बालबालिको शल्यक्रिया गरेका छौँ। जन्मजात देखिने यस्तो समस्याको कप्र्तिपुर अस्पतालले निशुल्क उपचार गर्ने गरेको छ। बिरामीको अस्पताल भर्नादेखि उपचार खर्च अस्पतालले नै बेहोर्ने गरेको छ।’

के हो प्लास्टिक सर्जरी?
डा कार्कीका अनुसार प्लास्टिक सर्जरी दुई खालको हुन्छ। एउटा कस्मेटिक सर्जरी र रिकन्स्ट्रक्टिभ सर्जरी। 

‘प्लास्टिक सर्जरी सौन्दर्यसँग सम्बन्धित सर्जरी हो। हाम्रो शरीरको कुनै भाग वा अंग आफूलाई ठूलो लाग्यो भने सानो बनाउने, ठूलो लाग्यो भने सानो बनाउन गरिन्छ। या एउटा कस्मेटिक सर्जरी हो,’ ‘रिकन्स्ट्रक्टिभ सर्जरीमा राम्रो देखिने भन्दा पनि बिग्रिएको शरीरको पार्टलाई राम्रो बनाउने हो। जस्तैः आगोले पोलेको घाउ निको भएपछि त्यसमा भएको दागले गरेर खुट्टा, औँलाहरू बांगिने, आँखा खोल्न नसक्ने, मुख खोल्न नसक्ने भएमा सर्जरी गरेर खुट्टा तथा औँलाहरू चल्ने बनाउने, आँखा, मुख खोल्न सक्ने बनाउने गरिन्छ।’

बिरामीको दैनिक काम गर्न सहज बनाउन यस्तो शल्यक्रिया गर्ने गरिन्छ। 

सन् १९८८ देखि वीर अस्पतालले जलनको उपचार सुरु गरेको थियो। त्यसको २ वर्षपछि वीर अस्पतालमा जलनको छुट्टै वार्ड स्थापना भएको थियो। डा केशवदास जोशीले नेपालमा पहिलो जलन जलनको उपचार सुरु गरेका हुन्। 

सन् २०१२ देखि त्रिवि शिक्षण अस्पताल र सन् २०१३ देखि वीर अस्पतालले प्लास्टिक सर्जरी विषयमा पढाइ सुरु गरेको हो। मंगलबार प्लास्टिक सर्जरी दिवस हो। जुन सन् २०१५ देखि मनाउन थालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad