मिथिला विहारी नगरपालिका–३, धनुषाका ३५ वर्षीय शिवनारायण पाण्डे र उनका भाइ २५ वर्षीय वीरनारायण पाण्डेको नागरिकतासम्बन्धी याचनामा सर्वोच्च अदालतले आज पनि सुनुवाइ गरेन।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा पेसी सूचीको ३१ औँ नम्बरमा उनको रिट निवेदन परेको थियो। कुल ३५ वटा मुद्दा पेसीमा रहेको उक्त इजलासले १३ औँ नम्बरको मुद्दासम्म हेर्न भ्यायो। त्यसपछिका सबै मुद्दा ‘हेर्न नभ्याइने’ मा परे।
बुवा भारतमा बेपत्ता भएकाले आमाको नामबाट नागरिकता पाउन उनले वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म धाउँदा पनि केही सीप नलागेपछि सर्वोच्चमा रिट दिएका थिए। २०८१ जेठ ३० मा दायर रिटको प्रारम्भिक सुनुवाइ त्यसको भोलिपल्टै भएको थियो। न्यायाधीश मनोजकुमार शर्माको इजलासले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयसँग लिखित जवाफ माग गरेको थियो।
तर, त्यसको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि शिवनारायणका दाजुभाइले नागरिकता पाउने कि नपाउने भन्ने ठेगान भइसकेको छैन।
सर्वोच्चले बाटो खोलिदिन्छ कि भनी आइतबार शिवनारायण दिनभर इजलासमै बसे। चिया समयमा पनि घरी इजलास, घरी फाँटतिर गरिरहे। त्यहाँका कर्मचारीहरूसँग सोध्थे।
यसपटक न्याय मिल्ला कि भन्ने झिनो आस किन पनि पलाएको थियो भने बिहान कर्मचारीहरूले भनेका थिए, ‘सबै उस्तै खालका मुद्दाको पेसी एकसाथ राखिएको छ। इजलासले सबै हेरेर एकसाथ किनारा लगाउन पनि सक्छ।’
जब १३ औँ नम्बरको मुद्दा सुनुवाइ भइसकेपछि इजलासले बाँकी सबै हेर्न नभ्याइने भनेर सूचना सुनायो, त्यसपछि शिवनारायणको अनुहारमा थप निराशा छायो। मुख अँध्यारो भयो। खुट्टा गह्रुँगा भए।
‘फेरि पनि रित्तै हात धनुषा फर्किनुपर्ने भयो,’ भक्कानिँदै उनले भने।
सर्वोच्चले अब भदौ १० गतेका लागि तारिख दिएको छ। नागरिकताको आसमा धनुषादेखि काठमाडौँ ओहोर-दोहोर गर्नुपर्ने दिन अझै सकिएन। यसरी सुनुवाइको दिन तोकेर पनि सर्वोच्चले रित्तै फर्काएको यो चौथोपल्ट हो।
सर्वोच्चको द्वारबाट निस्किँदै गर्दा शिवनारायणले नेपालखबरसँग यत्ति भने, ‘यसपटक त न्याय मिल्ला कि भन्ने झिनो आस थियो।’
वर्षातको समयमा विपद् पुर्वानुमान विभागले पनि सकेसम्म यात्रा नगर्नू भनिरहेको छ तर शिवनारायण भने आफ्नो पहिचानको आसमा जोखिम मोलेर राजधानी आएका थिए। उनी जोखिम मोलेरै फर्किनुपर्ने भएको छ।
अझ आमाले राम्रो भाउ आउने समय नै नभई बाख्रो बेचेर गाडीभाडा जुटाइदिएकी थिइन्। ‘अर्कोपटक फेरि के बेच्ने?’ थप चिन्ताले सताएको छ, उनलाई।
Shares

प्रतिक्रिया