समाज


आमाको नामबाट नागरिकता पाउन संघर्ष गरिरहेका दाजुभाइको पीडा- न विवाह भयो, न विदेश नै जान पाइयो

‘कहिलेकाहीँ त म यस धर्तीमा किन बाँच्नुजस्तो पनि लाग्छ’
आमाको नामबाट नागरिकता पाउन संघर्ष गरिरहेका दाजुभाइको पीडा- न विवाह भयो, न विदेश नै जान पाइयो

शिवनारायण पाण्डे र वीरनारायण पाण्डे


आयुषा ढकाल
असार २९, २०८२ आइतबार ७:२३, काठमाडौँ

मिथिला बिहारी नगरपालिका–३, धनुषाका ३५ वर्षीय शिवनारायण पाण्‍डे र उनका भाइ २५ वर्षीय वीरनारायण पाण्डे नागरिकता पाउनका लागि सर्वोच्च अदालत धाउन थालेको एक वर्षभन्दा बढी भइसक्यो।

आमाको नामबाट नागरिकता पाउन उनले वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म धाउँदा पनि केही सीप नलागेपछि सर्वोच्चको शरणमा पुगेका हुन्। तर, सर्वोच्चले पनि एक वर्षभन्दा बढी समयदेखि उनलाई आस मात्र देखाइरहेको छ। समयमा निर्णय नदिँदा उनीहरूको ऊर्जावान् उमेर दुःखसुख गरेर खर्च जुटाउने, धनुषादेखि काठमाडौँ आउने, अदालतमा कुर्ने र निराश भएर फर्किने चक्रमा फसिरहेको छ।

शिवनारायण करिब १७ वर्षको हुँदा पहिलोपटक गाउँमा नागरिकता बनाउने टोली आएको थियो। त्यस समयमा उनी पनि नागरिकता पाउने आसले टोली खटिएको विद्यालयमा दौडिँदै गए।

तर, टोलीले उनलाई नागरिकताका लागि योग्य ठहर्‍याएन। कारण, उनीसँग बुवाको नागरिकता थिएन।

टोलीले बुवाको नागरिकता लिएर आउन भनेपछि उनी मलिन अनुहार लिएर घर फर्किएका थिए।

त्यसपछि नागरिकता बनाउने सपना बोकेर कहिले गाविस, कहिले जिल्ला प्रशासन कार्यालय त कहिले वडा कार्यालय गर्दै धेरै वर्ष बिताए। कुनै सीप नलागेपछि उनले आफन्त पर्ने एक जना प्रहरी कर्मचारीको सहयोगमा काठमाडौँ आए। सर्वोच्च अदालतमा रिट दायर गरे, २०८१ जेठ ३० मा।

शिवनारायणका कानुन व्यवसायी अधिवक्ता गोपीकृष्ण थापाका अनुसार, रिट दर्ता भएको भोलिपल्टै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। उक्त इजलासले वडादेखि जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग शिवनारायणका दाजुभाइलाई नागरिकता नदिनुको कारण के हो भनेर लिखित जवाफ माग गर्ने आदेश गर्‍यो। साथै नागरिकताजस्तो विषयमा चाँडै फैसला हुनुपर्ने भन्दै रिटलाई अग्राधिकार दिने आदेश पनि त्यसैबेला भएको हो।

तर, अग्राधिकार दिने भनेर गरेको त्यही आदेश सर्वोच्च स्वयंले पालना नगरेको हो कि भन्ने शिवनारायणलाई लागेको छ। नभए एक वर्षसम्म पनि यस विषयको टुंगो नलागेर आफूले सर्वोच्च धाइरहनुपर्ने थिएन भन्ने उनको बुझाइ छ।

बुवा हराउँदा नागरिकता पाउने हक नै हराउँछ?
आजभन्दा करिब ४० वर्षअघि शिवनारायण पाण्डेका पिता रामपुजन पाण्डे र माता रामसुमारी कुमारी मिश्रको विवाह भएको थियो।

रामपुजन पाण्डे भारतीय नागरिक थिए। शिवनारायण पाण्डेका हजुरबुवाकी एक मात्र सन्तान थिइन्, रामसुमारी। त्यसैले घरज्वाइँ बस्ने केटा खोजेर छोरीको विवाह गरिदिए।

उता रामपुजनका बुवाआमा थिएनन्। त्यसैले उनी घरज्वाइँ बस्न राजी भए।

रामपुजन कामको सिलसिलामा भारतको आसाम गुवाहाटी जान्छु भन्दै छ महिना उतै हराउँथे। अनि छ महिना आफ्नो परिवारसँग ससुरालमा बस्थे। दस वर्ष यसरी नै चल्यो। 

शिवनारायण पाँच वर्षको हुँदा भारत गएका उनका बुवा त्यसपछि भने फर्केर आएनन्।

न बुवा आउँछन्। न त बुवाको कुनै खबर आउँछ। बरु बुवा बेपत्ता भएसँगै शिवनारायणका दाजुभाइका दुःखका दिन सुरु भए।

उनलाई अहिले पनि खड्किन्छ, ‘मलाई आफ्ना पिताको हात समातेर हिँडेको त परै जाओस्, अनुहार पनि कस्तो थियो भनेर सम्झिने गरी देख्न पाइनँ।’

रामपुजन नफर्किएपछि एकल हैसियतमै आमा रामसुमारीले दुई छोरा र दुई छोरी हुर्काइन्। गाँसवास जसोतसो दिइन्। तर छोराछोरीलाई राज्यबाट पहिचान दिलाउन सकिनन्।

रामसुमारीको ठाउँमा कुनै पुरुष हुँदो हो त सन्तानलाई नागरिकता दिलाउन कुनै समस्या हुन्थेन। किनभने, यहाँ कानुनदेखि वडा कार्यालय र प्रहरी-प्रशासन पुरुषलाई सजिलै चिन्छन्। पुरुषका हकमा सजिलै कागज बनाइदिन्छन्। तर, एउटी आमाले आफ्नो कोखबाट जन्मिएका सन्तानलाई आफ्नै नामबाट नागिरकता दिन्छु भन्दा वडाले मान्दैन, प्रशासनले मान्दैन। अत्तोपत्तो नभएका बाबुलाई खोजेर ल्याउन भन्छ।

अन्तिम आशाको केन्द्र सर्वोच्च अदालतको ढोकामा पनि कहिलेसम्म धाइरहनुपर्ने हो, बडो अनिश्चय र निराशाबीच उनीहरूको जिन्दगी गुज्रिरहेको छ।

‘१६ वर्षमा पाउनुपर्ने हो नागिरकता, मेरो आधा उमेर यसै बितिसक्यो,’ शिवनारायण भन्छन्, ‘जहाँ गए पनि नागिरकताको खोजी हुन्छ। बैंकमा खाता खोल्न, जागिर गर्न, व्यवसाय दर्ता, बिमा गराउनदेखि कोरोनाको खोप लगाउन समेत नागिरकता माग्छन्। कहिलेसम्म पहिचानबिनै यसरी दुःख पाइरहनुपर्ने हो? थाहा छैन।’  

शिवनारायणलाई बुवाको धमिलो तस्बिर पनि याद छैन। उनका मामा पर्ने व्यक्तिहरू उनको बुबाले काम गर्ने ठाउँतिर खोज्न पनि गएका थिए। तर कुनै अत्तोपत्तो भएन।

ज्वाइँ नफर्किएकै पिरमा शिवशरणका हजुरबुवाको निधन भयो। आर्थिक स्थिति राम्रो नभएका कारण शिवनारायणले सानैमा एक जना प्रहरीका हाकिमको घरमा बसेर काम गरे। त्यहीबीचमा अलिअलि पढ्ने मौका पनि पाए।

पछि काठमाडौँमा रङ लगाउने काम गर्न पनि आए। अदालतमा रिट दार्ता गराउने, बहसको लागि कानुन व्यवसायी खोजिदिने काममा तिनै प्रहरी अधिकृतले सहयोग गरे।

‘बाल्यकालमा त नागरिकताको त्यति चासो भएन,’ शिवनारायण भन्छन्, ‘तर जतिजति उमेर बढ्दै गयो, उतिउति हरेक कामका लागि नागरिकता नभई नहुनेरहेछ।’

उनकी आमासँग वंशजको नागरिकता छ। उनीहरूको जन्मदर्ताको प्रमाणपत्र छ। हजुरबुवाले आफ्नो जग्गा छोरीको नाममा गराइदिएका पनि छन्।

आमा नेपाली नागरिक भए आफ्ना सन्तानलाई नागिरकता दिलाउन सक्ने व्यवस्था संविधानमा स्पष्टै लेखिएको छ। साधारण लेखपढ गर्न जान्ने जोकोहीले पढ्न सक्ने संविधानका ती अक्षर यी दाजुभाइका हकमा हालसम्म अर्थहीन देखिएका छन्।

हाल शिवनारायणको परिवारमा तीनजना मात्र छन्। दिदी–बहिनी विवाह गरेर गइसकेका छन्। जीविकोपार्जनको लागि आमाले पशुपालन गर्छिन्। दुई भाइ छोरा खेतीपाती गर्छन्। तर नागरिकता नहुँदा कृषिको लागि भनेर आउने सेवासुविधाबाट उनीहरु वञ्चित हुनुपरेको छ।

सर्वोच्‍चमा रिट दर्ता भएपछि हालसम्म चारपटक सुनुवाइ हुने आसमा काठमाडौँ आइसकेका छन्। तर उनको निवेदनमा सुनुवाइको पालो अहिलेसम्म आएको छैन। इजलासमा प्रस्तुत हुने पेसीसूचीमै नचढाएर सर्वोच्च प्रशासनले आफै स्थगित गरिदिएको अनुभव पनि उनीसँग छ।

लामो सुस्केरा लिँदै उनी भन्छन्, ‘त्यति राम्रोसँग मलाई बोल्ल आउँदैन। आफ्नो अधिकार मैले कसरी अनि काहाँ गएर माग्ने? म समाजले दबाएर राखेको, थिचोमिचोमा, हेपाइमा परेको मान्छे हुँ।’

यसपटक पनि आइतबार (असार २९ गते) पेसी भनिएको छ। त्यसैका निम्ति उनी झीनो आस बोकेर काठमाडौँ आइसकेका छन्। ‘तर सुनुवाइ नभए के गर्ने? भनसुन गर्नुपर्ने हो भने कसलाई कसरी भन्ने?’ उनी बडो अलमलमा देखिन्छन्।

‘अहिले त आमाले पालेको बाख्रा राम्रो भाउ आउने समय नै नभई बेचेर भए पनि गाडीभाडा जुटाएर आएँ। काठमाडौँको महँगीमा दुईचार छाक खान र बस्न पनि गाह्रो हुनेरहेछ। अर्कोपटक फेरि आउनुपरे के बेच्ने?’ उनलाई अहिलेदेखि नै चिन्ताले गाँजिसकेको छ। 

न विवाह भयो, न विदेश जान पाइयो
शिवनारायणका दाजुभाइको न कुनै जागिर छ, न त व्यवसाय नै। उनीहरूसँगैका धेरैले विदेश जान राहदानी बनाए। विदेश गएर घरमा पैसा पठाइरहेका छन्। तर, शिवनारायणहरूले वैदेशिक रोजगारीमा पनि जान पाएका छैनन्।

उनी स्नातक तह पढ्न चाहन्थे तर नागिरकताबिना भर्ना हुन पाएनन्। ब्यांक खाता खोल्नको लागि नागरिकता चाहिने भएपछि गाविस सचिवलाई गएर धेरैपटक हारगुहार गरे तर उनको माग कतैबाट सुनुवाइ भएन। बरू उल्टै हेपाइ खाए। ‘कतिपटक त भारतीय व्यक्तिको छोरा हो, यसको नागरिकता नेपालमा बन्दैन भन्दै हेप्थे र आज पनि हेप्छन्,’ आँखाभरि आँसु पारेर उनी नेपाली धर्तीमा जन्मिएर पनि राष्ट्रियताविहीन हुनुपर्दाको पीडा सुनाउँछन्, ‘म यहीँ जन्मिएँ, हुर्किएँ, यही माटोमा खेलेँ, पढेँ, बढेँ र यहीँ काम गर्छु। मेरो आफ्नो पिताको नामबाहेक भारतीय नागरिक भन्‍नको लागि भारतमा कुनै सम्बन्ध छैन।’

नागरिकता नभएकै कारण उनको विवाहसमेत हुन सकेको छैन। नागरिकता नभएको मान्छेसँग विवाह गर्दा भोलि दुःख पाउँछ भनेर कतिपय प्रस्तावमा कुरा हुँदाहुँदै बिथोलिएको उनी सुनाउँछन्।

नागरिकता नभएकै कारण उनी भोट दिन पनि पाउँदैनन् नै, सँगैका अरू साथीले चुनावमा म्यादी प्रहरीका रूपमा काम पाउँदा त्यस अवसरबाट वञ्चित हुने शिवनारायणहरू नै हुन्छन्।

गाउँमा खेतीपातीका लागि भनेर बर्सेनि मल र बिउ आउने गर्छ तर नागरिकताकै कारण उनले त्यो पनि पाउँदैनन्। शिवनारायण सुनाउँछन्, ‘मैले पियनकै नोकरी गर्नुपरे पनि मलाई नागरिकता चाहिन्छ। अब भन्‍नुस् न म कुन स्तरमा छु? कुल्लीको कामबाहेक मैले कुनै काम पाउँदिनँ। यसरी हरेक ठाउँमा क्षमता भएर पनि अवसरबाट वञ्चित हुनुपर्दा र हेपिनुपर्दा कहिलेकाहीँ त म यस धर्तीमा किन बाँच्नुजस्तो पनि लाग्छ।’

शिवनारायणसँग अहिले अरु धेरै ठूला सपना छैनन्, जीवनमा केही काम गरेर आमालाई सुखसाथ पाल्नेबाहेक। तर यति पनि गर्न नपाउँदा रातभरि उनलाई निद्रा पर्दैन। सोचेको भन्दा धेरै गए–गुज्रेको जिन्दगी बिताउनुपर्दा ग्लानि महसुस हुन्छ।

उनी भन्छन्, ‘कहिलेकाहीँ त यो जिन्दगीबाट नै हार खाएर दिक्क लाग्छ। यस्तो जिन्दगी बाँच्नुभन्दा त मर्नु बेस हुन्छ होलाजस्तो लाग्छ। हेर्नूस् न, मान्छेहरूको एकै दिनको लागि मात्र परिचय गुमाउनुपर्‍यो भने कति गाह्रो हुन्छ। म त जन्मिएको ३५ वर्ष हुँदासम्म पनि कुनै परिचय छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad