समाज


सुई नपाउँदा हैरान छन् ‘हेमोफिलिया’का बिरामी

सुई नपाउँदा हैरान छन् ‘हेमोफिलिया’का बिरामी

नेपालखबर
असार २७, २०८२ शुक्रबार १९:४१, तुलसीपुर (दाङ)

‍तुलसीपुर उपमहानगरपालिका-७ का रामबहादुर दहित लामो समयदेखि हेमोफिलियाका बिरामी छन्। उनीसँगै उनका तीन दाजुभाइ पनि यो रोगबाट ग्रसित छन्। 

तर, समयमा औषधि नपाउँदा वंशाणुगत यो रोगबाट उनीहरू पीडामा छन्। यो रोगको उपचारका लागि बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ। 'हामीले नजिकमा औषधि पाउँदैनौँ', उनले भने, 'यसका लागि काठमाडौँ वा बुटवल जानुपर्छ।'

उनका अनुसार हप्तामा एकपटक बुटवल गएर ‘फ्याक्टर’ नामक औषधि सुईमार्फत दिनुपर्छ। कुनै कारणले शरीरबाट रगत बगेमा त्यो रोकिँदैन। रगत बग्ने समस्या रोक्न सुई नै लगाउनु पर्छ। तर, त्यो जिल्लामा नहुँदा बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ। त्यसरी टाढा जाँदा बिरामी बाटोमै मृत्यु हुनसक्ने उनको भनाइ छ। 

फ्याक्टर पनि सहजै पाउन सक्ने अवस्था नभएको हेमोफिलिया पीडित शेरबहादुर चौधरीले गुनासो गरे। 'फ्याक्टर ल्याउन बुटवल जानुपर्छ, तर त्यहीँ पनि पाउन मुस्किल हुन्छ', उनले भने। 

फ्याक्टर नामक सुईको मूल्य महँगो छ। तर, सरकारले अहिले निःशुल्क गरेको छ। लुम्बिनी प्रदेश सरकारले निःशुल्क गरे पनि औषधि आपूर्ति सहज छैन। सरकारले हेमोफिलियाका बिरामीलाई खासै चासो नदिएको उनले गुनासो गरे।  

उक्त सुईको सेवा हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल बाँकेमा पाइन्छ। दाङको तुलसीपुरमा मात्र ६ जना हेमोफिलियाका बिरामी छन्। तुलसीपुर उपमहानगरपालिकाले हेमोफिलियाका बिरामीलाई सुई लगाउन बुटवल जाँदा सहज होस् भनी बर्सेनि आर्थिक सहयोग गर्ने गरेको छ। चालु आर्थिक वर्षमा मात्र पनि प्रतिबिरामी १५ हजारका दरले आर्थिक सहयोग गरेको उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताए। 

के हो हेमोफिलिया?
हेमोफिलिया रगतसम्बन्धी आनुवंशिक रोग हो। प्रोटिनको कमीबाट हुने यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा रगत नजम्ने समस्या हुन्छ। जसका कारण शरीरबाट रगत धैरै बग्छ। यसैले यो रोगबाट बिरामीको मृत्युसमेत हुनसक्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताए। 'यो रोगको पूर्ण उपचार छैन। कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ', उनले भने। 

यो रोग लागेका व्यक्तिको पिसाबमा रगत आउनु, गुदद्वारबाट रगत आउनु, सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु, बिनाकारण शरीरमा घाउ हुनु, चोट लाग्दा धेरै रगत आउनु, बेलाबेलामा नाकबाट पनि रगत आउनु, जोर्नीमा पीडा हुनु, बच्चामा चिडचिडाहट हुनु, कयौँपटक आँखा धमिलो देखिनुजस्ता लक्षण हुन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad