सरकारले हेमोफिलिया (रगत नजम्ने रोग) का बिरामीलाई निःशुल्क औषधी वितरण गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ सरकारी अस्पतालबाट हेमोफिलियाको निःशुल्क औषधी वितरण गर्ने तयारी गरेको हो।
मन्त्रालयले विश्व हेमोफिलिया महासंघको सहयोगमा आएको औषधी वितरण गर्न लागिएको जनाएको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत फागुन ४ गते विश्व हेमोफिलिया महासंघसँग औषधी निःशुल्क वितरण गर्न सम्झौता गरेका थिए।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीले सम्झौताअनुसार हेमोफिलियाका बिरामीले प्रयोग गर्ने ५ प्रकारका औषधी नेपाल आएको जानकारी दिएका छन्।
त्रिवि शिक्षण अस्पताल, वीर, कान्ति वाल र मिभिल अस्पतालमार्फत यो औषधि तत्काल वितरण गर्ने पौडेलले बताए। सातै प्रादेशिक अस्पतालबाट औषधी वितरण हुने स्वास्थ्य सेवा विभागले जनाएको छ।
जीवनभर औषधी सेवन गर्नु पर्ने हेमोफिलियाका बिरामीले औषधी निःशुल्क गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएका थिए।
हेमोफिलिया रगतसम्बन्धी आनुवंशिक कारणले देखिने रोग हो।
हेमोफिलिया लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा रगत बन्द हुन समय लाग्छ। हेमोफिलियाका बिरामीमा रगत नजम्ने समस्या हुन्छ।
चोटपटक लाग्दा शरीरबाट धैरै रगत बगेर बिरामीको मृत्यु समेत हुनसक्छ।
२०७८ को जनगणनामा २ दशमलव २ प्रतिशत अपागंता देखिएकामध्ये ० दशमलव ८ प्रतिशतमा हेमोफिलिया रहेको पाइएको थियो। विश्व स्वास्थ्य संगठनले नेपालमा ५ हजार व्यक्तिमा हेमोफिलिया रहेको जनाएको छ।
Shares

प्रतिक्रिया