राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टाइनको समस्या नेपालमा पनि आउन सक्ने चेतावनी दिएका छन्।
शुक्रबार विभिन्न १२ वामपन्थी दल, समूह तथा व्यक्तिहरूको आयोजनामा काठमाडौँमा भएको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व कायम गर्न विभिन्न देशमा युद्ध थोपरिरहेको दाबी गर्दै साम्राज्यवाद रहेसम्म युद्ध रहने बताए।
‘साम्राज्यवाद रहेसम्म युद्ध यथावत् रहन्छ’ उनले भने, ‘अमेरिकी साम्राज्यवादले सिङ्गो मानव समुदायमाथि नै आक्रमण गरिरहेको छ। विश्वभरि नरसंहार मच्याइरहेको छ।’
उनले साम्राज्यवादको अन्त्य नभए मानव समूदाय नै ध्वस्त हुनसक्ने चिन्ता व्यक्त गरे।
‘या त मानव समुदायले साम्राज्यवादको अन्त गर्नुपर्छ, होइन भने साम्राज्यवादले सिङ्गो मानव समुदायलाई नै ध्वस्त पार्नेछ’ केसीले भने, ‘ ‘गाजामा जस्तै हामी पनि भाग्ने दिन आउन सक्छ किनकि हामी पनि साम्राज्यवादको सिकार भइरहेका छौँ।’
वामपन्थीले मात्रै साम्राज्यवादको विरुद्धमा लड्न सक्ने केसीले बताए।
देशमा वापमन्थी शक्ति एमालेले नै सरकार चलाएको तर यसबारेमा सरकार नबोलेकोप्रति उनले रोस प्रकट गरे।
‘इजरायलले प्यालेस्टाइनमा बर्बर अत्याचार गरिरहेको छ’ उनले भने– ‘अन्तर्राष्ट्रिय अदालतले समेत इजरायलका राष्ट्रपति बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधी घोषणा गरेर पक्राउ आदेश जारी गरेको छ। हाम्रो सरकारले यसबारेमा के गरिरहेको छ?’
अध्यक्ष केसीले साम्राज्यवादी स्वार्थसित जोडिएको कारणले नै नेपाल सरकार यसबारेमा बोल्न नसकेको दाबी गरे।
अमेरिकी तथा इजरायली साम्राज्यवादले प्यालेस्टाइन र इरानलगायत माथि थोपरेको युद्धको विरोध गर्दै नेपालका १२ राजनीतिक दल तथा संस्थाले जुलुससहित प्रदर्शन गरेका हुन्।
विरोध सभालाई अध्यक्ष केसीसहित नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी नेपालका नेता तथा राष्ट्रियसभाका सांसद खालिद सिद्दिकी, नेपाल कम्युनिस्ट पार्टीका चिरन सी, जनता समाजवादी पार्टीका राजु थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका रामसिंह श्रीस, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुति, नेकपा (बहुमत) का सागर लिम्बु, देशभक्त समाजवादी मोर्चाका गोपाल किराँती र राजनीतिक संवाद थालनी अभियानका संयोजक सङ्गीत स्रोताले सम्बोधन गरेका थिए।
कार्यक्रममा सुशेला सङ्गीत समूह, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, जनवादी सांस्कृतिककर्मी कुश्मिता दर्लामीलगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए।
Shares

प्रतिक्रिया