समाज


पत्रकार साहमाथि जलेश्वरमा दुर्व्यवहार, महासंघले सम्झायो आचारसंहिता

पत्रकार साहमाथि जलेश्वरमा दुर्व्यवहार, महासंघले सम्झायो आचारसंहिता

नेपालखबर
असार २५, २०८२ बुधबार १५:१३, काठमाडौँ

नेपाल पत्रकार महासंघले महोत्तरीका पत्रकार दिवाकर साहमाथि जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

२०८२ असार २३ गते सोमबार राति उक्त कार्यालयमा ‘अनुचित गतिविधि भइरहेको’ आशंकामा समाचार संकलन गर्न गएका एचटिपी खबरका सञ्चालक साहमाथि केही व्यक्तिबाट दुर्व्यवहार भएको महासंघ महोत्तरी शाखाले जानकारी गराएको छ।

‘पेशागत धर्म निर्वाहका क्रममा कुनै पनि किसिमले अवरोध पुर्‍याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ यस्ता हर्कतको सधैँ निन्दा गर्दछ र दुर्व्यवहारमा संलग्नको पहिचान गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायसँग माग गर्दछ।’
 
साथै, महासंघले पत्रकार साहलाई पनि कर्तव्य पालनाका क्रममा पत्रकार आचारसंहिता पालना गर्न अनुरोध गरेको छ।

यसैगरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्यासलाई लिएर रामेछापका पत्रकार शम्बरबहादुर हायु (प्रशान्त) लाई मन्थली माध्यामिक विद्यालय रामेछापमा कार्यरत शिक्षक ऋषि कार्कीले दुर्व्यवहार गरेकोमा महासंघले ध्यानार्षण भएको जनाएको छ।
 
यही असार २१ गते शनिबार कुनै व्यक्तिको नाम तथा चरित्र नखुलाई लेखेको स्ट्याटसको निहुँमा पत्रकार हायु कार्यरत रेडियो तफदीको कार्यालयमा प्रवेश गरेर कार्कीले दुर्व्यवहार गरेको महासंघ रामेछाप शाखाले जनाएको छ।

‘कुनै पनि विषयमा असन्तुष्टि भए छलफल र वार्ताका माध्यमबाट समाधान खोज्ने उपाय हुँदाहुँदै शिक्षण पेशाजस्तो मर्यादित क्षेत्रमा कार्यरत व्यक्तिबाट अपनाइएको यो शैलीलाई महासंघले अत्यन्त निन्दनीय, अशोभनीय र प्रेस स्वतन्त्रता विरोधी घटनाका रुपमा लिएको छ’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले यो हर्कतप्रति कडा आपत्ति र खेद प्रकट गर्दै घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रता उपभोगको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad