नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाईंको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले किसानले समयमै मल नपाउँदा धानको उत्पादकत्वमा कमी आउँदा खाद्य सुरक्षामै असर पर्ने बताए।
‘धान रोपाइँ चलिरहेको बेला किसानहरुलाई समयमै मल उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको छ, जेठ महिनामै रापाईं सुरु हुने कञ्चनपुर लगायतका जिल्लाहरुमा समयमा मल उपलब्ध गराउन सकिएको छैन,’ साउदले भने, ‘कृषकहरुको ठूलो लगानी, श्रम र आशामा तुषारापात भयो भने हाम्रो वर्षभरीकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति समेत जोखिममा पर्ने देखिन्छ। कृषि प्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैंमा एउटा विडम्वना भएको छ।’
सांसद साउदले मल आपूर्तिको समस्याको समाधानका लागि दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरे।
Shares

प्रतिक्रिया