समाज


सर्लाहीका एसपीलाई जसपाका प्रदेश अध्यक्षको धम्की, मुद्दा चलाउने प्रहरीको तयारी

सर्लाहीका एसपीलाई जसपाका प्रदेश अध्यक्षको धम्की, मुद्दा चलाउने प्रहरीको तयारी

नेपालखबर
असार २०, २०८२ शुक्रबार १५:४५, काठमाडौँ

जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएका छन्। अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

प्रहरीले रातिको समयमा सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिएको विषयमा यादवले धम्क्याएको प्रहरीको दाबी छ। सार्वजनिक भएको अडिओमा अध्यक्ष यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन्। एसपी खड्कालाई लुट्न तराईमा आएको भन्दै उनले गाली गरेको अडिओमा सुनिन्छ। 

यादवले यसअघि पनि प्रदेश मन्त्रीलाई पनि यस्तै धम्कीपूर्ण भाषामा म्यासेज गरेको फेला परेको छ। उक्त म्यासेज पनि प्रहरीले अबको कारबाहीका लागि प्रमाणका रुपमा लिने भएको छ। 

‘उहाँ सधैँ लफडा गर्ने मान्छे हो। अहिले पनि फेरि प्रहरीलाई गाली गर्नु भएछ’, मधेस प्रदेशका प्रहरी अधिकारीले भने, ‘प्रहरीले सुरक्षा दिँदा उहाँलाई के समस्या भयो हामीले बुझेको छैन। जिल्ला प्रशासन कार्यालयबाट आदेश आएपछि सुरक्षा दिनु हाम्रो कर्तव्य हो।’

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले यस विषयमा प्रहरीले कानुनी कारबाही अगाडि बढाउने बताए। प्रहरीले यादवले यसअघि धम्क्याएका अरुसँगको प्रमाण पनि संकलन गरिरहेको र यस विषयमा पनि टिप्पणी उठाएर कारबाही गर्ने तयारी गरेको छ।

धम्की दिने जसपा मधेस प्रदेश अध्यक्ष यादवमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयले पनि निर्देशन दिएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad