समाज


गए राति चन्द्रमामा देखियो फरक रङ, खगोल शास्त्रीका विभिन्न अनुमान

गए राति चन्द्रमामा देखियो फरक रङ, खगोल शास्त्रीका विभिन्न अनुमान

पूर्णप्रसाद मिश्र
चैत २६, २०७६ बुधबार ३:१०,

चैत्र शुक्ल पूर्णिमाको राति मंगलबार चन्द्रमाको फरक रङ देखिएको छ। यो खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ।

शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुले बताएका छन्। गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो रङ देखिएको थियो।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका फलित ज्योतिष विषयका सहप्राध्यापक डा.माधवप्रसाद पाण्डेय भने, ‘यो राम्रो योग होइन, अहिले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी फैलिएको छ, यस्तो योग दुर्लभप्रायः हुन्छ।’

वेदका छ अङ्गमध्येको एक ज्योतिषको सूक्ष्म अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले भविष्यका घटनाको पहिले नै थाहा पाउन सकिने विज्ञ बताउँछन्। तर पछिल्लो समय नेपालमा यसको अध्ययन अनुसन्धान केवल औपचारिकतामा मात्र सीमित छ। सूक्ष्म रुपमा हुननसकेको यसका अध्येताको स्वीकारोक्ति छ।

ज्योतिषविद् डा. खिलानाथ बस्ताकोटी शनि, वृहस्पति र मङ्गल एकै राशिमा हुने योग भएका बेला विगतमा विश्वव्यापीरूपमा ठूला घटना भएको बताउँछन्।

विसं २०४६ मा यस्तै योग भएका बेला रसिया टुक्रिएको र नेपालमा जनआन्दोलन भई प्रजातन्त्र पुनःस्थापना भएको थियो। रणबहादुर शाह राजा भएका बेला पनि यस्तै योगका बेलामा विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको थियो।

चन्द्रमामा मङ्गलबार देखिएको दृश्य भने वायु प्रदूषण नभई स्वच्छताका कारण पनि देखिएको हुनसक्ने भएकाले यस विषयमा दूरबीनलगायत यन्त्रका आधारमा अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने बस्ताकोटी बताउँछन्।

वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्य चैत्र शुक्ल पूर्णिमामा चन्द्रमा अन्य पूर्णिमामा भन्दा नजिक देखिने र वायुमण्डलसमेत स्वच्छ भएकाले मङ्गलबार राति आकाशमा फरक दृश्य देखिएको बताए।

प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ। आज बिहान ८ः५२ सम्म पूर्णिमा तिथि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

पूर्णिमा व्रत मङ्गलबार र हनुमान जयन्ती पूर्णिमामा सूर्योदय भएका दिन मनाइने भएकाले आज मनाइने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad