समाज


घटेन कडा कुपोषणबाट ज्यान गुमाउनेको संख्या, यूएसएडको ७२ अर्ब काटिएपछि झन् समस्या

सरकारी अधिकारी नै भन्छन् : २०३० सम्ममा कुपोषण ह्वात्तै घटाउन सम्भव छैन
घटेन कडा कुपोषणबाट ज्यान गुमाउनेको संख्या, यूएसएडको ७२ अर्ब काटिएपछि झन् समस्या

कुपोषणबाट मृत्यु भएका कलाकार विकास केसी


प्रज्ञा तिम्सिना
जेठ २८, २०८२ बुधबार २१:४३, काठमाडौँ

चैत्र १९ गते नेपाली फिल्म लाज शरणममा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भयो। २०६६ साउन १ गते जाजरकोटमा जन्मिएका विकासले १६ वर्षको उमेरमा कुपोषणबाट ज्यान गुमाए। कुपोषणबाट पीडित विकासले फिल्ममा कुपोषण लागेको पात्रको भूमिका खेलेका थिए।

विकासको स्वास्थ्य अवस्था राम्रो थिएन। फिल्म निर्माण पक्षले उपचारमा सहयोग गर्ने भन्दै विकासलाई लिएका थिए। उनलाई जाजरकोटबाट ल्याएर काठमाडौँको ग्रिन सिटी अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था नाजुक देखेर ग्रिनसिटीले कान्ति बाल अस्पताल रिफर गरेको थियो। स्वास्थ्य अवस्था निकै खस्किएको र उपचार नहुने भन्दै कान्तिले फिर्ता पठायो। विकासलाई लिएर उनको परिवार जाजरकोट नै गयो। 

चैत्र १९ गते उनको मृत्यु भयो। 

नेपालमा अझै ठूलो समस्याका रूपमा रहेको कुपोषणलाई २०३० सम्ममा नाटकीय रूपमा कम गर्ने सरकारी योजना छ। तर, त्यो सम्भव नभएको सरकारी अधिकारीहरूकै भनाइ छ। 

सरकारले सन् २०३० सम्म कुपोषणको दरलाई नाटकीय रूपमा घटाउने र सबै नागरिकका लागि पोषणको सुनिश्चितता गर्ने दिगो विकास लक्ष्य लिएको छ। यस क्रममा सरकारले बालबालिका, आमा र गर्भवती महिलालाई लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। तर, कुपोषण देखिने र मृत्यु हुने दरमा कमी आएको छैन।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले सन् २०३० सम्म नेपालबाट कुपोषण हटाउन नसकिने बताए।

‘कुपोषण घटाउन सरकारले अहिले गरेको लगानी र स्रोत साधनले असम्भव छ,’ उनले भने ‘कुपोषण हुनै नदिने कार्यक्रम नै छैनन्, कडा प्रकारका कुपोषण लागेकाहरूको उपचार गर्ने र मध्यम कुपोषण लागेकालाई पोषण युक्त खाना वितरण गर्दैमा कुपोषण घटाउन सकिँदैन।’

यूएसएडको ७२ अर्ब रूपैयाँ रोकिएपछि झन् समस्या
अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएड)ले पोषणका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको थियो। पोषण शाखा प्रमुख थापाले कुपोषण कम गराउन समुदाय स्तरमा कार्यक्रम सञ्चालन गर्न ५ वर्षे योजनासहित यूएसएडले दिने भनेको ७२ अर्ब रूपैयाँ रोकिएको बताए। 

‘यो वर्षदेखि लागू हुने कार्यक्रम फिर्ता भयो। निकै ठूलो कार्यक्रम फिर्ता भएपछि स्वास्थ्यका धेरै कार्यक्रम प्रभावित भएको छ,’ उनले भने, ‘नेपाल सरकारसँग यो प्रकारको ठूलो कार्यक्रम छैन, ४८ जिल्लामा पोषण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी भएको कार्यक्रम फिर्ता भएपछि कुपोषण घटाउन समस्या हुन्छ।’

परिवार कल्याण महाशाखाका अनुसार सरकारले पोषण कार्यक्रममा वार्षिक १३ करोड लगानी गर्ने गरेको छ। सो रकम गर्भवती महिलालाई आइरन चक्की वितरण गर्नेदेखि कुपोषण प्रभावित जिल्लामा बालभिटा वितरण गर्ने र कुपोषण लागेकाहरूको उपचार गर्नेसम्मका काम खर्च हुने गर्छ।

पोषण शाखा प्रमुख थापाका अनुसार यूएसएडले सुत्केरी महिला, बालबालिका, किशोरकिशोरी लक्षित कार्यक्रम ल्याएको थियो। 

‘परिवार कल्याण महाशाखाको १५३ कार्यक्रममध्ये यूएसएडको स्रोतबाट सञ्चालित ३५ वटा कार्यक्रम अनिश्चितकालका लागि रोकिएका छन्,’ उनले भने,  ‘स्थगित भएका कार्यक्रममा १० वर्षपछि गरिने कुपोषणको राष्ट्रिय सर्वेक्षण र स्तनपान प्रवर्द्धन कार्यक्रम प्रमुख रहेका छन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी यूएसएडको सहयोग कटौती हुँदा स्वास्थ्यका कार्यक्रमा असर परेको बताउँछन्। 

‘सरकारले आगामी आर्थिक वर्षमा केही बजेट ल्याएको छ। तर, सन् २०३० सम्ममा कुपोषण कम गराउन भने समस्या हुने देखिएको छ,’ उनले भने, ‘सरकारको सीमित स्रोतले मात्र धान्न गाह्रो छ।’

नेपालमा कुपोषणको अवस्था
लुम्बिनी प्रदेशमा यस वर्ष कुपोषणबाट १० जना बालबालिकाको मृत्यु भएको भएको छ। कुपोषण लागेका १ हजार १८४ जनामध्ये १० जनाको मृत्यु भएको हो। लुम्बिनीमा गत वर्ष कुपोषण लागेका १ हजार ९९२ जनामध्ये ७ जनाको मृत्यु भएको थियो। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा ५ वर्षभन्दा कम उमेरका बालबालिका छन्। निर्देशनालयका प्रवक्ता नेत्र अर्यालले लुम्बिनीमा सबैभन्दा धेरै रूपन्देही जिल्लामा कुपोषित भेटिएको बताए। रूपन्देही जिल्लामा यस वर्ष ६५३ जनामा कुपोषण देखिएको छ। दाङमा २६२, कपिलवस्तुमा २२२ र नवलपरासीमा ४५ जनामा कुपोषण देखिएको छ। 

गत वर्ष बाँकेको सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका थिए। बागमती प्रदेशको कैलाश र राक्सिराङ गाउँपालिकामा बालबालिका, सुत्केरी तथा गर्भवतीमा कुपोषणको दर उच्च देखिएको छ। गत वर्ष हेटौँडा जिल्लामा ८४ जनामा कुपोषण देखिएको थियो। जसमा ४८ जना बालबालिका र ३४ जना महिला रहेका थिए। ५ वर्षमुनिका ४ जनाको मृत्यु भएको थियो। 

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा कुपोषणग्रस्त बालबालिका बढी देखिएका छन्।  कर्णाली प्रदेशमा पाँच वर्षमुनिका ५५ प्रतिशत बालबालिका अधिक पोषण, न्यून पोषण, मोटो र पुड्कोपन, कम तौल जस्ता समस्याबाट ग्रसित छन्। कर्णालीमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका कम तौलका छन भने ५५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ।

सरकारले कुपोषण अन्त्य गर्न बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन कार्यविधि ल्याएको छ। २०८० माघ १४ गते स्वीकृत भई कार्यान्वयनमा आएको बहुक्षेत्रीय पोषण योजनाले कुपोषणको समस्या बढी रहेका स्थानीय तहमा पोषण लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। 

सरकारले कुपोषण लक्षित कार्यक्रम अन्तर्गत गर्भवती जाँच गर्ने, रक्तअल्पता हेर्ने, आइरन चक्की खुवाउने, बच्चाहरूलाई जुकाको औषधि र भिटामिन ए खुवाउने गर्छ। 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले हिमाली क्षेत्रका पाँच वर्षमुनिका कुल बालबालिकामध्येमा २५ प्रतिशतमा पुड्कोपना रहेको औँल्याएको छ।

सर्वेक्षणले सहरी क्षेत्रमा २२ प्रतिशत, ग्रामीण क्षेत्रमा ३१ प्रतिशत, पहाडी भेगमा २२ प्रतिशत र हिमाली भेगमा ४२ प्रतिशत बालबालिकामा पुड्कोपना रहेको देखाएको हो।

तथ्याङ्क अनुसार पाँच वर्षमुनिका ८ प्रतिशत बालबालिकामा ख्याउटेपन पाइएको छ। यो उमेर समूहका १९ प्रतिशत बालबालिकामा कम तौल हुने समस्या छ। पछिल्लो तथ्याङ्कले बालबालिकामा हुने पुड्कोपना घट्दै गएको देखिएको छ।

सन् १९९६ मा नेपालमा बालबालिकामा हुने पुड्कोपना ५७ प्रतिशत थियो भने यो संख्या ५० वर्षको अवधिमा ३२ प्रतिशत घटेको हो। 

सन् २०१६ मा नेपालमा पुड्कोपना ११ प्रतिशत घटेको छ। सरकारले सन २०३० सम्म पुड्कोपनाको सूचकाङ्क न्यूनीकरण गर्ने योजना बनाएको छ। दिगो विकासको लक्ष्य अनुसार सरकारले सन् २०३० सम्ममा कुपोषण हटाउन योजना बनाएको हो।  

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले ५ वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपन ३६ प्रतिशत, २७ प्रतिशत बालबालिका कम तौल र १० प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या रहेको थियो। 

सरकारले सन् २०३० सम्म सबै खालका कुपोषणलाई १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ। क्लिनिकल इपिडिमियोलोजी एन्ड ग्लोबल हेल्थमा प्रकाशित अनुसन्धानले  नेपालमा ५ वर्षमुनिका १० प्रतिशत बालबालिकामा कुपोषण देखाएको छ। सन् २०२४ मा प्रकाशित अनुसन्धानमा ५ वर्षमुनिका कुल २ हजार ३८१ जना बालबालिकामा गरिएको  अध्ययनले १० प्रतिशतमा कुपोषण, ३६ प्रतिशतमा पुड्कोपन र २७ प्रतिशत बालबालिकामा कम तौल पाइएको छ। 

कुपोषण भनेको के हो?
कान्ति बाल अस्पतालकी बाल रोग बिशेषज्ञ डा हेमा जोशीका अनुसार कुपोषण भनेको खराब पोषण हो। 

‘पोषणको मात्र कमी र बढी भयो भने कुपोषण हुन्छ। पोषणमा खराबी भएर देखिने कुपोषण सन्तुलित भोजनको कमी भएर देखिने गरेको छ,’ उनी भन्छिन्, ‘हाम्रो खानामा कार्बोहाइड्रेट, खनिज, मिनरल, प्रोटिन नपुगेर नै कुपोषण देखिने गरेको छ। न्यूनपोषणका कारण बालबालिकामा पुड्कोपन, ख्याउटेपन, कम तौल र  रक्तअल्पता जस्ता समस्या देखिने गर्छ।’

डा जोशीका अनुसार कुपोषण आमाको पेटमा रहँदादेखि अर्थात् गर्भवस्थादेखि नै हुन्छ। 

‘आमामा पोषणको कमी छ भने बच्चामा कुपोषण देखिन्छ। आमालाई पोषण पुगेको छैन, दूध पनि धेरै नआउने वा गुणस्तर नआउने हुन्छ, आमाको दूध ६ महिनासम्म राम्रोसँग खान नपाएका बालबालिकामा कुपोषण हुने जोखिम हुन्छ,’ उनले भनिन्, बालबालिकाको महिना र तौल अनुसार खाना खान नपाउँदा शरीरलाई चाहिने पोषण नपुगेर कुपोषण देखिन्छ।’

उनका अनुसार बच्चालाई ६ महिनासम्म आमाको दूध खुवाउनु पर्छ। महिना अनुसार बच्चाको तौल विकास हुनुपर्छ। जन्मिँदाको तौलको तुलनामा ६ महिनामा दोब्बर र १ वर्षमा तेब्बर हुनुपर्छ। यो अनुसार भएन भने बालबालिकाको शरीरमा पोषण पुगेको हुँदैन,’ डा जोशी बताउँछिन्। 

बच्चालाई ६ महिनापछि आमाको दुध अनुसार अन्य खाना खुवाउनु पर्छ। १ वर्षपछि घरमा पाइने खानालाई सन्तुलित बनाएर खुवाउनु पर्छ। 

‘कुपोषण सामान्यतया तीन प्रकारको हुन्छ। हल्का वा सामान्य, मध्यम र कडा। तीन कुपोषणमध्ये कडा खालको कुपोषण भएका बालबालिकामा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति निकै कम हुन्छ। जसका कारण उनीहरूमा संक्रमणको जोखिम बढी हुन्छ। रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कम भएर सामान्य झाडापखाला, निमोनिया लगायत अन्य संक्रामक रोगहरू लागेर मृत्यु हुन्छ। कडा खालको कुपोषण भएकाहरूको अस्पतालमा राखेर नै उपचार गराउनुपर्छ। कडा कुपोषण भएकाहरूको शरीरमा ग्लुकोजको मात्रा कमी भए विभिन्न समस्या देखिन्छ। मधुमेह र मुटुको समेत समस्या देखिने गरेको छ। कडा कुपोषण लागेकाहरूको लक्षण अनुसार उपचार गरेर संक्रमण हुने जोखिम कम गराउनुपर्छ। विस्तारै पोषणयुक्त खानेकुरा खुवाएर उनीहरूको शरीरमा कुपोषण कम गराउन सकिन्छ,’ उनी भन्छिन्।

कुपोषण लागेका बालबालिका सधैँ रोइरहने, चिड्चिडे हुने, अनुहार चाउरी परेर बुढाबुढीको जस्तो हुने, शरीरमा मासुको मात्रा नभर्ई हाड र छाला मात्र देखिने र छाला हड्डीमा टाँसिने हुन्छ। कपालको रङ कैलो तथा अलिकति तान्दा पनि झर्ने, झाडापखाला तथा अन्य समस्याहरू देखिने हुन्छ। यसलाई बोलिचालीको भाषामा सुकेनास समेत भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad