कोरोना संक्रमणका लक्षण झन्झन् बढी हुँदै गएर जोनसनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई आईसीयूमा राखिएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
‘उहाँलाई लन्डनको सेन्ट थोमस हस्पिटलको डाक्टरको निगरानीमा रोखिएको छ,’ बेलायती प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अवस्था थप गम्भीर देखिएपछि मेडिकल टिमको सल्लाहमा आईसीयूमा सारिएको हो।’
पहिले निवासमै आराम गरिरहेका ५५ वर्षीय जोन्सनलाई रोगले च्यापेपछि आइतबार राति अस्पताल भर्ना गरिएको थियो।
आईसीयू के हो? यो कसको लागि महत्वपूर्ण?
आईसीयू अस्पतालको विशेष वार्ड हो, जहाँ गम्भीर प्रकृतिका बिरामीको उपचार चिकित्सकहरुको चुस्त निगरानीमा गरिन्छ।
आईसीयूमा बिरामीको संख्या कम हुन्छ भने चिकित्सकहरुको संख्या बढी हुन्छ किनभने त्यहाँ बिरामीको अवस्था जतिबेला पनि जटिल बन्नसक्छ।
आईसीयूमा भर्ना भएका बिरामीको पर्याप्त ध्यान राख्नुपर्छ। उनीहरुको निगरानीका लागि विशेष स्वास्थ्य उपकरण उक्त कक्षमा हुन्छ।
कस्ता बिरामीलाई आईसीयूमा भर्ना गर्ने भन्ने त्यो रोग र बिरामीको अवस्थामा भरपर्छ।
कुनै बिरामीलाई गम्भीर सर्जरीपछि निको नहुन्जेल आईसीयूमा राखिन्छ। गम्भीर दुर्घटनामा परेका मानिसलाई पनि आईसीयूमा राखिन्छ।
बेलायती प्रधानमन्त्रीलाई किन राखियो आईसीयूमा?
कोरोना संक्रमणपछि प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार नआएपछि उनमा कोरोनाको लक्षणहरु झनै बढी देखिन थाल्यो।
स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनलाई चिकित्सकहरुले आईसीयूमा उपचार गराउन सुझाव दिएका हुन्।
बोरिस जोनसनलाई यतिबेला सास फेर्न गाह्रो भइरहेको बताइएको छ। यद्यपी भेन्टिलेटरमै राख्ने अवस्था भने आएको छैन।
आईसीयूमा के हुन्छ?
आईसीयूमा भर्ना भएका सबै बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ भन्ने छैन। सास फेर्न गाह्रो भइरहेका मानिसलाई मात्र भेन्टिलेटरमा राखिन्छ।
केही बिरामीमा सास फेर्न सजिलो बनाउने अर्को उपकरण सीपीएपी जडान गरिन्छ। यसमा मास्कको मद्दतमा अक्सिजन प्रदान गरिन्छ।
आईसीयूमा बिरामीलाई विभिन्न स्वास्थ्य उपकरणसँग जोडिएको हुन्छ। जसले उसका शरीरका अंगको क्रियाप्रतिक्रिया मापन गर्दछ।
आईसीयूमा बिरामीलाई नसाको माध्यमबाट इन्जेक्सन मात्र नभएर पोषक तत्व पनि दिन सकिन्छ।
हाल बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले उपचार गरिहरहेको अस्पताल सेन्ट थोमसमा पहिले पनि आईसीयूमा सफल उपचारहरु भएका छन्।
यस अस्पतलामा फोक्सो र मुटु सम्बन्धी रोगको उपचार गरिन्छ।
आईसीयूमा उपचारपछि जब बिरामी स्वस्थ हुन्छ तब अस्पतालले बिरामीलाई अर्को सामान्य वार्डमा सारिदिन्छ।
केही बिरामी दुई चार दिनमा अस्पतालबाट डिस्चार्ज हुन्छन्। तर केहीलाई अस्पतालबाट फर्कना एक दुईहप्ता लाग्नसक्छ। बीबीसी

प्रतिक्रिया