समाज


रेशमलाई थुनाउने सर्वोच्चका अधिकृत विष्ट निलम्बित

रेशमलाई थुनाउने सर्वोच्चका अधिकृत विष्ट निलम्बित

नेपालखबर
जेठ १४, २०८२ बुधबार १९:५४, काठमाडौँ

सर्वोच्च अदालत प्रशासनले आफ्ना शाखा अधिकृत महिमानसिंह विष्टलाई विभागीय कारबाही अघि बढाइएको छ।

उनलाई तत्काल निलम्बन गरी जाँचबुझ गर्न थालिएको छ।

उनले अनुशासनहीन काम गरेको आरोप लगाउँदै विभागीय सजाय गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्दै तत्काल निलम्बनको निर्णय गरेको हो। सर्वोच्च प्रशासनले निलम्बनसम्बन्धी निर्णयको बोधार्थ न्याय सेवा आयोगलाई पनि दिइसकेको छ।

थप जाँचबुझ गर्दा दोषी देखिएमा उनलाई सरकारी सेवाबाट हटाइनेछ।

निजामती सेवा ऐनको दफा ६१ मा कुनै कर्मचारीले अनुशासनहीन काम गरेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ। यसरी सेवाबाट हटाउनुअघि आरोपित कर्मचारीलाई निलम्बन गरी जाँचबुझ गर्न सकिने दफा ६४ मा उल्लेख छ।

उनीविरुद्ध गलत सूचना दिएको र लिखतसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा पनि चलिरहेको छ। अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ।

वैशाख १७ गते पक्राउ परेका उनी जेठ ५ गते अदालतबाट धरौटीमा छुटेका हुन्। जिल्ला अदालतबाट छुटेपछि हाजिर हुन सर्वोच्च गएका उनलाई त्यहाँको प्रशासनले निलम्बनको पत्र थमाएको थियो।

टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका रेशम चौधरी महिमानले लेखेको पत्रका आधारमा वैशाख १७ गते ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो।

सर्वोच्च प्रशासनले भने अनधिकृत पत्र लेखेको भन्दै थप कारबाही गर्न प्रहरीको जिम्मा लगाएको थियो।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका थिए। तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए।

त्यसबखत रेशमलाई जन्मकैद गर्ने मातहत अदालतका फैसला सर्वोच्चले सदर हुने निर्णय सुनाइसकेको भए पनि पूर्ण पाठ आइसकेको थिएन। पछि आएको पूर्ण पाठमा जन्मकैद सजाय तोकिएका व्यक्तिलाई आममाफी दिन नपाइने उल्लेख गरियो।

२०८० जेठ २ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले रेशमलाई तल्ला अदालतले गरेको फैसला सदर गर्दा उक्त फैसलामा यो कसुर सजायमा माफी वा मिनाहा दिन नमिल्ने प्रकृतिको भनेर स्पष्ट किटान गरेको थियो। तर, रेशम ६५ प्रतिशत कैद बाँकी छँदै छुटेका थिए।

प्रतिनिभि सभाको चुनाव जितिसकेपछि २०७४ फागुन १५ अदालतमा आत्मसमर्पण गरेका रेशम २०८० जेठ १५ गतेसम्म कैद बसे। ५ वर्ष ३ महिनामै उनले सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी पाए। अर्थात्, उनले १४ वर्ष ९ महिना कैद मिनाह पाएका थिए।

टीकापुरमै मारिएका सुरक्षाकर्मीकी पत्नी शारदा कडायतले राष्ट्रपतिबाट भएको आममाफी बदर गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिट भने अझै विचाराधीन छ। सर्वोच्चले लामो समयदेखि यस निवेदनमा सुनुवाइ नै गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad