खेल


आईपीएल फाइनलमा बोलाइयो सेना, बीसीसीआईले बनायो विशेष योजना

आईपीएल फाइनलमा बोलाइयो सेना, बीसीसीआईले बनायो विशेष योजना

नेपालखबर
जेठ १४, २०८२ बुधबार २०:५, काठमाडौँ

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ सिजनको फाइनल खेल आगामी जुन ३ तारिख भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। 

यसको समापन समारोहका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले विशेष योजना बनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआईले अपरेसन सिन्दूरको सफलता मनाउने निर्णय गरेको हो। यसका लागि रक्षा प्रमुखका साथै सेना, नौसेना र वायुसेनाका प्रमुखहरूलाई निम्ता गरिएको छ। 

बीसीसीआईका सचिव देवजित सैकियाले भनेका छन्, ‘हाम्रा सशस्त्र सेनाको बहादुरी, साहस र नि:स्वार्थ सेवालाई बोर्ड सलाम गर्छ, जसको अपरेसन सिन्दूरले वीर प्रयासका साथ राष्ट्रको रक्षा गर्‍यो र हामीलाई प्रेरणा दियो। सम्मानका रूपमा हामीले समापन समारोह सशस्त्र सेनालाई समर्पण गर्ने निर्णय गरेका छौँ।’

उनका अनुसार अहमदाबादमा हुने फाइनल खेलमा तीनै सेनाका प्रमुख, उच्च पदका अधिकारी र भारतीय सेनाका सैनिकहरूलाई आमन्त्रण गरिएको छ। 

देशभक्तिको भावना अझ जगाउन कार्यक्रममा सैन्य ब्यान्डले प्रस्तुति दिने सम्भावना छ। यसपछि संगीतमय कन्सर्ट हुनेछ।

नरेन्द्र मोदी स्टेडियममा एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ।

यसअघि सन् २०१९ मा पनि सशस्त्र बलहरूलाई आईपीएलको समापन समारोह समर्पण गरिएको थियो। 

गत अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमला गरी २६ पर्यटक मारिएपछि पाकिस्तानलाई दोष लगाउँदै भारतले मे ७ मा सिन्दूर अपरेसन सञ्चालन गरेको थियो। यसअन्तर्गत भारतले पाकिस्तानविरुद्ध सैन्य आक्रमण गरेको थियो। यद्यपि उसले आतंकवादी लुकेका स्थानलाई मात्र लक्ष्य गरिएको दाबी गरेको थियो। 

त्यसपछि पाकिस्तानले पनि जवाफी हमला सुरु गरेको थियो। यही कारण आईपीएलका खेल एक हप्ताका लागि स्थगन गर्नुपरेको थियो। दुई देशबीच मे १० मा युद्धविराम भएपछि मे १७ देखि आईपीएलका खेल पुन: सञ्चालन भइरहेका हुन्।  

जसअन्तर्गत बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर पहिलो क्वालिफायर खेल्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad