समाज


नक्कली लाइसेन्स र लालपुर्जा बेचेरै अन्जनीले काठमाडौँमा ठड्याए घर

नक्कली लाइसेन्स र लालपुर्जा बेचेरै अन्जनीले काठमाडौँमा ठड्याए घर

उजिर कार्की
जेठ १, २०८२ बिहिबार २२:४५, काठमाडौँ

गोर्खाको भीमसेन थापा गाउँपालिका १ का अन्जनी बयलकोटी काठमाडौँको तारकेश्वर नगरपालिका ७ मा नक्कली कागजात बनाउने कारखाना चलाइरहेका थिए। ८ वर्षदेखि सवारी लाइसेन्सदेखि लालपुर्जासम्म बनाएर बेचिरहेका बयलकोटीको कारखानामा बुधबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुग्यो। 

बयलकोटीले यही एकान्तमा रहेको चारतले घरमा नक्कली कागजात बनाउने कारखाना चलाएरै काठमाडौँमा घर बनाएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बयलकोटीले तारकेश्वर नगरपालिका २ देवीचोकमा घर बनाएको बताए। 

२०६५ सालमा जबरजस्ती करणीको मुद्दामा साढे ३ वर्ष जेल बसेर रिहा भएका थिए बयलकोटी। जेलबाट छुटिसकेपछि उनी डिल्लीबजारको एउटा फर्निचर उद्योगमा काम गर्थे। फर्निचर उद्योगमा काम गर्दागर्दै उनको कनेक्सन नक्कली कागजात बनाउने ठाउँसम्म पुग्यो। उनले यस्ता कागजात बनाउने मान्छे लगेबापत पैसा पाउँथे। 

एजेन्ट बन्दाबन्दै उनले सामान्य काम जाने। त्यसपछि आफै कारखाना चलाउन थाले। उनले सञ्चालन गरेको कारखानामा २ जना कर्मचारीलाई रोजगारी दिए। ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका २ छ्याङढुङकी २३ वर्षकी अन्जु खत्री काम गर्थे। डेढ वर्षदेखि काम गरिरहेका उनीहरूलाई १० देखि १५ हजारसम्म तलब दिएको बताएका छन्। 

४६ वर्षका बयलकोटीले त्यहाँ कारखाना चलाइरहेको जानकारी अनुसन्धान कार्यालयमा केही दिनपहिले नै आएको थियो। तर उक्त सूचनालाई प्रमाणित गरेर प्रहरी त्यहाँ काम गर्ने दुईजना कर्मचारीसम्म पुग्यो। निर्मल र अन्जुबाट प्रहरीले त्यहाँ कारखाना रहेको पुष्टि गर्‍यो। 

निर्मल र अन्जु

तर यसको सुइँको बयलकोटीले पाए र कारखानामा ताला लगाएर फरार भए। दुईजना कर्मचारी भने प्रहरीको निगरानीमै थिए। प्रहरीले बयलकोटीलाई खोजिरहेको थियो। 

बुधबार बयलकोटीलाई फेला पारेपछि प्रहरी कारखानामा छापा मार्न पुगेको थियो। उनलाई नै लिएर गएको प्रहरीले ताला खोल्यो र २८ प्रकारका सामान कारखानाबाट बरामद गर्‍यो।

बयलकोटीले कारखाना चलाएको घर उनले भाडामा लिएको पाइएको छ। भाडामा लिएको घर अलिक एकान्तमा छ। त्यहाँ कुनै साइनबोर्ड पनि छैन। भित्र पुगेपछि भेटिन्छन् थरीथरीका उपकरण।

त्यहीँबाट तयार गरेको नक्कली कागजात बयलकोटीले बेच्थे। 

बयलकोटीले अनुसन्धान कार्यालयको टोलीसँग सवारी लाइसेन्स बनाइदिएको ३ हजार ५ सय देखि ४ हजार रूपैयाँसम्म लिने गरेको बताएका छन्। उनले अन्य कागजात पनि सस्तै बताएको र उनको भनाइमा विश्वास गर्न नसकिने प्रहरीको भनाइ छ।

आचार्य भन्छन्, ‘यो भन्दा महँगोमा बेचेको हाम्रो अनुमान छ। थप अनुसन्धानपछि सत्य पत्ता लाग्छ। अहिले उसले भनेको यति नै हो।’ 

यहाँ तयार भएका कागज स्वदेशमा भन्दा पनि बढी विदेश जानेले प्रयोग गरेको प्रहरीको अनुमान छ। 

उनीहरूले डिपेन्डेन्ट भिसामा विदेश जानेलाई वैवाहिक प्रमाण पत्र, बैंकबाट ऋण लिनको लागि नक्कली जग्गाधनी पुर्जा र विद्यार्थी भिसामा जापान जानेलाई सहकारी संस्थाको स्टेटमेन्ट पनि त्यहीँ तयार गरेर पठाइदिने गरेको खुलेको छ। 

विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्राम, जापानमा कामदार भिसामा जानेलाई शैक्षिक प्रमाण पत्र र विदेशमा बस्ने नेपालीलाई ग्रिनकार्ड तथा पीआरका लागि आवेदन दिन विभिन्न अस्पतालका मेडिकल कार्ड पनि तयार गरिदिएको भेटिएको छ। प्रहरीले मनमोहन मेमोरियल अस्पताल, सल्यानको जिल्ला अस्पताल, वीर अस्पताल लगायत स्वास्थ्य संस्थाका कार्ड बनाइदिएको फेला पारेको छ। भिजिट भिसाका लागि क वर्गका बैंकहरूको नक्कली स्टेटमेन्ट पनि यही कारखानामा तयार भएको भेटिएको छ। 

कारखाना चलाइएको एकान्त घर

कारखानाबाट प्रहरीले वैवाहिक प्रमाणपत्र ४२ थान, चारित्रिक प्रमाणपत्र ६० थान, ट्रान्सक्रिप्ट ११० थान र नक्कली लालपुर्जा १० थान पनि बरामद गरेको छ। 

यस्तै विभिन्न सहकारी संस्थाका लेटरप्याड १७ थान, सहकारीका स्टेटमेन्ट १७ थान, स्वास्थ्य संस्थाका सिफारिस पत्र २ थान, विभिन्न बैंकका स्टेटमेन्ट एक सय थान पनि फेला पारेको छ। 

स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्रहरू २० थान, सरकारी, गैरसरकारी, संघसंस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका स्ट्याम्प ३५५ थान लगायत २८ प्रकारका समान बरामद भएको छ। 

पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको पनि एसपी आचार्यले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad