समाज


सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

नेपालखबर
बैशाख २८, २०८२ आइतबार २१:३८, काठमाडौँ

बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए। नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेर्स्याएका थिए। 

कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद गर्दै थिए।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए।

‘स्पार्क कार’को आयोजनामा सञ्चालित ‘स्पार्क एड्भेञ्चर’ कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई यहाँसम्म ल्याएको थियो। प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो। यसका लागि काठमाडौँबाट करिब ५०  विद्युतीय सवारीसाधनमा उनीहरु सोलुुखुम्बु आइपुगेका थिए।

‘स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो, यसपटक गौरीटाप रोजाइमा पर्‍यो’, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने।

निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो। कालोपत्र सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नकसेको उहाँको भनाइ छ।
    
समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो। काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थान भएको लामो समयदेखि गौरीटापमा रहेका लौरेश्वर बाबाले बताए।

‘माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको र सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ’, उनले भने।

चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ। लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन्। धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन्।

नेपाली चलचित्रका अभिनेता राजेश हमालले गौरीटाप अत्यन्तै सुन्दर र रमणीय स्थान रहेको उल्लेख गर्दै यहाँ आउनपाउँदा खुसी लागेको बताए। ‘काठमाडौँदेखि गौरीटापसम्म सहज यात्रा गर्दै यहाँ आइपुगेका थियौँ, यहाँबाट देखिने सगरमाथालगायतका हिमाल र सूर्योदयको दृश्य निकै सुन्दर लाग्यो, यहाँको पर्यटन प्रवद्र्धन गर्न आवश्यक सहयोगका लागि म सबैलाई आह्वान गर्दछु’ उनले भने।

गौरीटापमा अघिल्लो टेन्टक्याम्पिङ गर्दै रमाइलो गरेपछि शनिबार दिउँसो उक्त टोली ओखलढुङ्गाको रुम्जाटार झरेको थियो। उक्त टोलीलाई रुम्झाटारमा स्थानीय पालिकाका जनप्रतिनिधिका साथै गुरुङ, राई, नेवारलगायतका समुदायले स्वागत गरेका थिए। रुम्जाटारस्थित बौद्ध गुम्बामा स्वागत गरिनुका साथै गुम्बाबारे आवश्यक जानकारी दिइएको थियो।
    
शनिबार साँझ कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए.। उनीहरुले सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न आग्रह गरे। उनीहरुले ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित रहेको उल्लेख गर्दै यसैमार्फत यहाँको प्रचारप्रसार गर्न सकिने बताए।

बिबिसी मास्टरसेफ सन्तोष साहले यहाँको रैथाने परिकार खान पाउँदा निकै खुसी लागेको बताए। ‘विशेष गरी गुन्द्रुक र न्यूरोको अचारको स्वाद निकै मीठो लायो, यहाँसम्म आएर यहाँको कला र संस्कृति, भूगोल जान्न पाउनुलाई मैले ठूलो उपलब्धि मानेको छु’, उनले भने।

गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीपाखीका लागि प्रख्यात थियो। यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडीपाखी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पुर्‍याइन्थ्यो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad