समाज


एनआरएनए महाधिवेशन कार्यक्रममा राष्ट्रपति प्रमुख अतिथि, शीतलनिवासलाई थाहै छैन

एनआरएनए महाधिवेशन कार्यक्रममा राष्ट्रपति प्रमुख अतिथि, शीतलनिवासलाई थाहै छैन

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार २०:३७, काठमाडौँ

शेष घले संयोजक रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले भोलि (शनिबार) एकता महाधिवेशन गर्ने भन्दै कार्यक्रम तालिका सार्वजनिक गरेको छ।

उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल र सम्मानित अतिथि डा आरजु राणा देउवा हुने तालिकामा उल्लेख छ।

काठमाडौँको ह्यात होटलमा तीन दिनसम्म चल्ने भनिएको कार्यक्रमको उद्घाटनका लागि बिहान ९ बजे अतिथिहरूको आगमन हुने र ९३५ मा प्रमुख अतिथिबाट उद्घाटन गरिने तालिकामा उल्लेख छ।

तर, उक्त कार्यक्रममा सरकारको सहभागिता हुने सम्भावनाबारे कुनै निकायले यकिन गरेका छैनन्। किनभने, विभागीय मन्त्रालय परराष्ट्रले अहिले महाधिवेशन सम्भव नभएको भन्दै पर सार्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ। यस्तो अवस्थामा राष्ट्रपति पौडेल सहभागी होलान् त? 

राष्ट्रपतिका सल्लाहकार किरण पोखरेल भन्छन्, ‘राष्ट्रपतिज्यू भोलि त्यस्तो कुनै कार्यक्रममा जाने विषयमा मलाई केही जानकारी छैन। उहाँहरूले किन त्यसरी कार्यक्रम तालिकामा उल्लेख गर्नुभयो, उहाँहरूले नै जान्ने कुरा हो।’

घले नेतृत्वको समितिकी सदस्य एवं संघकी पूर्वअध्यक्ष रविना थापाले समितिका तर्फबाट निम्ता दिइएको र सबै निम्तालु कार्यक्रममा उपस्थित हुने अपेक्षा रहेको बताइन्।

उनले नेपालखबरसँग भनिन्, ‘हामीले आमन्त्रण गरेका छौँ। उहाँहरूको व्यस्तता के छ? आउनुहुन्छ होला।’

उनले अहिलेसम्म ६ सय जति एनआरएनए प्रतिनिधिले नाम दर्ता गराएको जानकारी पनि दिइन्। 

‘२६ सय प्रतिनिधिमा ६ सय जतिले नाम लेखाइसक्नुभएको छ। यो क्रम जारी छ। कार्यक्रमको थप तयारीबारे अब हामी मिटिङ पनि बस्दै छौँ,’ थापाले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad