समाज


केसी कार्यसमितिको असहमतिका बाबजुद एनआरएनएको एकता महाधिवेशन शनिबार गर्ने तयारी

केसी कार्यसमितिको असहमतिका बाबजुद एनआरएनएको एकता महाधिवेशन शनिबार गर्ने तयारी

शेष घले र बद्री केसी


नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १७:३४, काठमाडौँ

शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको उद्घाटन शनिबार हुने भएको छ।

डा बद्री केसी नेतृत्वको कार्यसमितिको असहमतिका बाबजुद घले नेतृत्वको समितिले महाधिवेशन गर्न लागेको हो। महाधिवेशन शनिबारदेखि सोमबार (२०-२२ वैशाखमा) राजधानीको हायात होटलमा हुने घलेको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्रालय र केसी नेतृत्वको कार्यसमितिले महाधिवेशन रोक्न माग गरी दिएका निवेदनहरूमा सर्वोच्चले कुनै निर्णय दिइसकेको छैन। उक्त निवेदनमा भएको प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको भए पनि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेकाले सर्वोच्चले स्पष्ट आदेश दिन नसकेको हो।

शुक्रबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी चढेको भए पनि हेर्न नमिल्नेमा परेको थियो।

घले नेतृत्वको समितिले सर्वोच्चबाट रोक्ने आदेश नभएकाले महाधिवेशन गर्न बाटो खुला भएको दाबी गरेको छ।

संघको ११ औँ महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्यसमितिले आफूलाई सर्वोच्च अदालतले नै वैधता प्रदान गरेकाले महाधिवेशन पनि आफैँले गर्न पाउनुपर्ने माग गरेको छ। यस कार्यसमितिलाई वैधता दिने गरी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले गत साउन २१ गते आदेश जारी गरेको थियो। विगतका कुनै महाधिवेशन अवैध थिए भन्ने आधारमा नयाँ महाधिवेशन पनि अवैध मान्न नमिल्ने उक्त इजलासको ठहर थियो। संस्थाको सर्वोच्च र सार्वभौम निकाय मानिने भएकाले एउटा महाधिवेशन वा कार्यसमितिको मातहत अर्को महाधिवेशन नहुने व्याख्या यसमा गरिएको छ।

तर, त्यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले १० औँ महाधिवेशन अवैधानिक भएकाले नयाँ महाधिवेशन गर्न भन्दै शेष घले नेतृत्वको उच्चस्तरीय विवाद समाधान समिति ब्युँताइदिएको थियो। 

घलेको सचिवालयका अनुसार, एकता महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट एनआरएन प्रतिनिधिहरू काठमाडौँमा भेला भइरहेका  छन्। उच्चस्तरीय समिति तथा निर्वाचन समितिले शुक्रबारदेखि नै होटेल हायातबाट काम सुरु गरेका छन्। 

समितिले सबै प्रतिनिधिलाई  होटेल हायातमै गएर शुक्रबारभित्र डेलिगेट शुल्क तिरिसक्न अनुरोध गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad