समाज


सातै प्रदेशमा प्रहरी प्रमुख खाली हुँदै, यी १० डीआईजी मध्येबाट खटाइने

सातै प्रदेशमा प्रहरी प्रमुख खाली हुँदै, यी १० डीआईजी मध्येबाट खटाइने

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार २१:४७, काठमाडौँ

नेपाल प्रहरीमा एकसाथ सबै प्रदेशमा प्रहरी प्रमुख रिक्त हुने भएका छन्। सात प्रदेशमध्ये तीनवटा प्रदेशमा अहिले पनि प्रहरी प्रमुख छैनन्। बाँकी चारवटा प्रदेश पनि आगामी सोमबारसम्ममा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विहीन हुने भएका हुन्।

चारवटै प्रदेशका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस भइसकेका छन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ। एआईजीमा बढुवा भएसँगै उनीहरूले पनि प्रदेश छाड्नेछन्। 

मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, बागमतीका प्रहरी प्रमुख कृष्णहरि शर्मा पोखरेल, लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र कोसीका प्रहरी प्रमुख राजन अधिकारी एआईजीमा सिफारिस भएका छन्। 

यसअघि गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा एक महिनादेखि प्रहरी प्रमुख छैनन्। २० जना डीआईजीको दरबन्दी रहेको नेपाल प्रहरीमा जनपदतर्फ ६ एआईजी सिफारिससँगै १० जना डीआईजीको दरबन्दी रिक्त भएको छ। 

अब बढुवा हुने डीआईजीलाई सुरुमै प्रदेश इन्चार्ज नपठाउने भएकाले यसअघिका डीआईजीहरू प्रदेश जान दौडधुपमा लागेका छन्। दुई टोलीका १० डीआईजी मध्येबाट प्रदेश इन्चार्ज जानेछन्। 

डीआईजीहरू सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकमध्ये केही प्रदेश इन्चार्जमा जानेछन्। विशेष ब्युरो प्रमुख सिद्धिविक्रम शाह अहिले प्रदेश इन्चार्जमा जाने सम्भावना कम छ। आगामी जेठमा एकजना एआईजीको दरबन्दी रिक्त हुने र त्यसमा उनलाई बढुवा गर्ने सम्भावना भएकाले शाह अहिले इन्चार्ज जान इच्छुक छैनन्। 

यस्तै, उनलाई रोकेर पछिल्लो ब्याचबाट एआईजी बनाउने कसरतमा पनि प्रहरीभित्रकै ठूलो समूह लागेको छ। त्यस्तो अवस्थामा ईश्वर कार्की एआईजी बन्नेछन्। तर कार्की भने अहिले नै प्रदेश इन्चार्ज जान इच्छुक देखिएका छन्। 

कार्कीकै ब्याचका राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि प्रदेश इन्चार्जमा इच्छुक छन्। 

यी १० जनामध्ये ७ जना प्रदेशमा जाँदा बाँकी डीआईजी तत्काललाई अन्य कार्यालयमै सरुवा हुनेछन्। तर १० जना डीआईजी नै एकसाथ सरुवा हुने सम्भावना छ। 

यस्तै रिक्त रहेको १० जना डीआईजीमा बढुवा गर्न पनि सरकारले तयारी गरिरहेको छ। एकसाथ ६ जना एआईजीमा बढुवा सिफारिस भएसँगै रिक्त डीआईजीको संख्या १० पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad