समाज


संसद्‌मा २५ करोडका मालिकको खोजी, प्रहरी र राजस्वको अनुसन्धानमा उठ्यो प्रश्न

संसद्‌मा २५ करोडका मालिकको खोजी, प्रहरी र राजस्वको अनुसन्धानमा उठ्यो प्रश्न

उजिर कार्की
चैत ६, २०८१ बुधबार २२:५, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २५ गते पोखराबाट फर्किएपछि संसद् बैठक त्यसैको पेरीफेरीमा केन्द्रित थियो। पूर्वराजाले राजनीतिक अभ्यास गर्न लागेको भन्दै दलहरू सशंकित भएर संसदबाट प्रतिवाद गरिरहेका थिए। 

तर बुधबारको बैठक भने पूर्वराजा र राजतन्त्रको विषयबाट २५ करोडको मालिकतिर मोडियो। बुधबार प्रमुख प्रतिपक्षी दल र सत्ता गठबन्धनकै सांसदले संसद्‌ बैठकमा २५ करोडको मालिकको खोजी गरेका छन्।  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति ट्रकमा युरो र अमेरिकी डलर गरी नेपाली रूपैयाँ २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबर बरामद गरेको छ। त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बस्ने फुच्चे भन्ने ४३३ वर्षका कुसाङ लामा रहेका छन्। 

गोप्य सूचनाका आधारमा टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रक रोकी अनुसन्धान कार्यालयको टोलीले खानतलासी गरेको थियो। तर ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो।

ट्रकमा उक्त रकम लिएर कपडा किन्न चीन जान लागेको कुसाङले बताएको प्रहरीको दाबी छ। तर प्रहरीले नै उक्त रकम कपडा किन्न नभई सुन किन्नका लागि चीन जान लागेको आशंका गरेको छ।  

उक्त ट्रकमा १०० दरका अमेरिकी डलर ३ हजार ११९ थान, ५० दरका १७९ थान र ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान बरामद गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए। यसको नेपालीमा विनियम गर्दा करिब २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ हुन आउँछ।

प्रहरीले यो रकम राखिएको ट्रक र चालकका दुईवटा मोवाइल पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। कुसाङलाई भने मंगलबार नै राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले कुसाङलाई हिरासतमा पठाइएको र रकमको नम्बर टिपेर रुजु गर्ने काम भइरहेको बताए।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले कुसाङका मोबाइल परीक्षणका लागि पठाइएको बताए। 

‘हामीले पक्राउ परेका व्यक्ति, सवारी साधन र सबै सामान राजस्व अनुसन्धान विभागलाई बुझाइसकेका छौँ। यसको टेक्निकल अध्ययन हामीले गरिरहेका छौँ। विवरण आउन कम्तीमा दुई दिन लाग्छ। त्यो विवरण आएपछि थप खुल्नसक्छ,’ आचार्यले नेपालखबरसँग भने। 

सांसदले माग गरे छुट्टै छानबिन समिति 
माओवादीका सांसद माधव सापकोटाले अवैध रकम बरामदबारे अनुसन्धान गर्न विशेष समिति गठनको माग गरेका छन्। 

प्रहरीले एकजना ट्रक चालकलाई पक्राउ गरेर राजस्वलाई बुझाएपछि बाँकी अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले नै गर्छ। तर प्रहरीको सुरुवाती अनुसन्धानमै प्रश्न उठेपछि सांसदले छुट्टै समितिको माग गरेका हुन्। 

‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस्। घटनामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ सापकोटाले संसद् बैठकमा भने।

उनले उपल्लो तहको कनेक्सनबिना यस्ता घटना हुन नसक्ने बताए। 

‘यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन। गम्भीरतापूर्वक यी घटनाको छानबिन गर्न जोडदार माग गर्दछु,’ उनले भने। 

सापकोटाले भरियालाई मात्रै पक्राउ गरेर सरकारले सुनको मालिक जोगाउन लागेको र सरकारमा सहभागी दलकै उच्च तहका व्यक्ति सुनका मालिक हुनसक्नेतर्फ संकेत गरे। प्रहरीको कच्चा अनुसन्धान र अप्रेसनले त्यसलाई बल पुर्‍याएको छ। यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयकै टोलीले भारतमा पक्राउ गरेर ल्याएका एक अभियुक्तलाई टोखामा लगेर गोली हानेको थियो। जुन घटना पनि विवादित बन्यो।

अपराध अनुसन्धान कार्यालयकै टोलीले अहिले फेरि ट्रक चालकलाई मात्रै पक्राउ गरेर राजस्वलाई बुझाएको हो। त्यो रकम कसको हो र घटनामा अरु कोको संलग्न छन् भन्ने खुलाउन सकेको छैन।

सत्ताधारी दलकै सांसदले पनि त्यो रकमका मालिक पत्ता लगाउन माग गरेका छन्। ड्राइभर र भरिया मात्रै पक्राउ गरेर उम्कन नमिल्ने भन्दै कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद रघुजी पन्तले अनुसन्धान नाइकेसम्म पुग्नु पर्ने बताएका छन्। ड्राइभर पक्राउ पर्नु तर अन्य को संलग्न छन् र मुख्य अभियुक्त को हो भन्ने नखुल्नु गम्भीर भएको बताएका हुन्। 

कांग्रेस सांसद खतिवडाले मुख्य अभियुक्तलाई छुट नदिन माग गरेका छन्। 

‘कहिले १८, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न ड्राइभर र भरियालाई पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो,’ खतिवडाले भने, ‘अहिले पनि सरकार भरिया र ड्राइभरलाई समातेर मुख्य नाइकेलाई समात्न सफल भएन भने फेरि आँखामा छारो हालेजस्तो देखिन पुग्छ। सरकार नाइकेसम्म पुगोस्, जुन तहको भए पनि कारबाहीको दायरामा ल्याओस्।’

एमाले सांसद पन्तले पनि पञ्चायतकालदेखि नै सुन तस्करीमा भरिया मात्रै पक्राउ पर्ने र नाइकेसम्म नपुग्ने गरेको र यसपटक पनि त्यस्तै हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए। निर्बाध सुन तस्करी भइरहेको भन्दै पन्तले प्रश्न उठाए।

राजस्वले पत्ता लगाउँछ २५ करोडका मालिक?
राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले आवश्यक अनुसन्धान सुरु गरिसकेको बताए। 

मंगलबार प्रहरीले ढिलो गरी बुझाएकाले बरामद डलरको नम्बर टिपेर राख्ने काम बाँकी नै रहेको बताए। 

‘हामी अनुसन्धान गर्छौँ, तर हिजो प्रहरीले पनि कतिपय कुरा पत्रकार सम्मेलनमा नभनिदिएको भए अनुसन्धानमा राम्रो हुन्थ्यो। ग्यारेजको नाम नभनिदिएको भए त्यहाँबाट केही कुरा पत्ता लाग्न सक्थ्यो। अब त त्यहाँबाट केही कुरा खुल्ने अवस्था थियो भने पनि सचेत भए अब,’ घिमिरेले प्रहरीप्रति असन्तुष्टि व्यक्त गरे। 

प्रहरीले धेरै कुरा छरपस्ट बनाउँदा अनुसन्धान प्रभावित हुने उनले दाबी गरे। 

‘अब हामी हेर्दै जान्छौँ। यो ड्राइभर पनि प्रोफेसनल रहेछ। पहिले ७ किलो सुनमा पनि कसैको बारेमा नखुलाई आफै ५ वर्ष बसेर छुटेको व्यक्ति हो। यसका मोबाइलबाट, बयानबाट खुल्दै जाँदा हामी एउटा निष्कर्षमा पुग्छौँ’, उनले भने।

हुण्डीमा जोडिए प्रहरी पनि अनुसन्धानमा जोडिने तर विदेशी विनिमय र राजस्व चुहावटको कुरा मात्रै भए आफै टुंग्याउने घिमिरेले बताए। राजस्व र प्रहरीले मात्रै अनुसन्धान नगरी संसदमा कुरा उठेजस्तो छुट्टै समिति बनाए झनै राम्रो हुने पनि उनले बताए। 

राजस्व अनुसन्धान विभागसँग प्राविधिक र दक्ष जनशक्ति नरहे पनि अन्य निकायबाट सहयोग माग गरेर अनुसन्धान गर्ने उनले बताए। यसरी अन्य निकायबाट सहयोग लिन पाउने आफ्नो अधिकार भएको महानिर्देशक घिमिरेले बताए। 

सुन तस्करीमा ५ वर्ष जेल बसेर छुटेका कुसाङ 
युरो तथा अमेरिकी डलर लिएर कुसाङले उक्त ट्रक रसुवागढी नाका हुँदै चीन लैजान लागेको दाबी प्रहरीको छ। 

अपराध अनुसन्धान कार्यालयका अनुसार तीन साता ग्यारेजमा राखेर गाडीमा पैसा लुकाउने ठाउँ बनाइएको थियो। 

कुसाङले कपडा लिन जान लागेको बताए पनि प्रहरीले भने उनको पृष्ठभूमिका कारण सुन तस्करीतर्फ आशंका गरेको हो। 

उनी २०७३ पुसमा ७ किलो सुनसहित धादिङबाट पक्राउ परेका थिए। त्यतिबेला पनि प्रहरीले कुसाङलाई पक्राउ गरे पनि सुनका मालिक पत्ता लगाउन सकेको थिएन। उनले भने आफू भरिया मात्रै भएको बताएका थिए। त्यतिबेला उनी गाडीको एयरफिल्टरमा सुन लुकाएको अवस्थामा पक्राउ परेका थिए। 

जुन मुद्दामा उनलाई तीन करोड बढी जरिवाना र एक वर्ष कैदको फैसला भएको थियो। तर उनले जरिवाना पनि नतिरी थप ४ वर्ष कैद बसेर सजाय भुक्तान गरेका थिए। त्यो मुद्दामा पनि मुख्य अभियुक्त नबताएका र प्रहरीले पनि पत्ता लगाउन नसकेका कुसाङबाट यसपटक पनि खुल्ने सम्भावना कम देखिएको छ। 

सो मुद्दामा जेल बसेर छुटेपछि पनि उनले सुन तस्करीकै काम गरिरहेको दाबी प्रहरीको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad