समाज


धुलिखेल अस्पतालका ४ चिकित्सकलाई हुन सक्छ यी ३ कानुनअनुसार कारबाही

धुलिखेल अस्पतालका ४ चिकित्सकलाई हुन सक्छ यी ३ कानुनअनुसार कारबाही

नेपालखबर
चैत ५, २०८१ मंगलबार २१:२७, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले आफ्नो प्रारम्भिक छानबिनपछि आंशिक दोषी ठहर गरेका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) का ४ जना चिकित्सकमाथि आत्महत्या दुरुत्साहन र क्षतिपूर्ति ऐनअनुसार कारबाही अघि बढाउन सकिने कानुन व्यवसायीहरूले बताएका छन्। साथै मेडिकल काउन्सिलले इजाजत रद्दसम्मको निर्णय लिन सक्नेछ। 

काउन्सिलले छानबिनका क्रममा उनीहरू दोषी देखिएकाले कानुनी प्रक्रिया अघि बढाउने निर्णय मंगलबार गरिसकेको छ। 

काउन्सिलको निर्णयअनुसार, अस्पतालको मनोचिकित्सा विभागका डा अजय रिसाल, डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाल कानुनी कारबाहीमा पर्ने भएका हुन्। यसअघि काउन्सिलले उनीहरूलाई निलम्बन गरेर छानबिन अघि बढाएको थियो। छानबिनपछि उनीहरूमाथि कानुनी कारबाही गर्ने भने पनि प्राध्यापक चिकित्सकमाथि कस्तो कारबाही प्रक्रिया अघि बढाउने भन्नेमा काउन्सिलले आधिकारिक धारणा दिएको छैन ।

अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले विद्यार्थीलाई पटकपटक मानसिक तनाव दिएर आत्महत्या गर्न उक्साएको तथ्य स्थापित भएमा सरकारले आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन सक्ने जनाएका छन्। आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको उनले बताए छ।

यस्तै पीडित विद्यार्थीले क्षतिपूर्ति कानुनअनुसार पनि उपचार खोज्न सक्ने उनको भनाइ छ।

उनका अनुसार, पढ्न बसेका विद्यार्थीलाई पठनपाठनमा नै असर पर्ने गरी मानसिक, सामाजिक र आर्थिक रूपमा असर गरेको व्यहोरा खुलाएर विद्यार्थीले उजुरी गर्न सक्नेछन्।

यस्तै, काउन्सिलले नै थप केही समयका लागि निलम्बन गर्न सक्नेदेखि सधैँका लागि इजाजत खारेज गर्न सक्ने अधिकार पनि कानुनले दिएको छ।

फागुन ४ गते मनोचिकित्सा विषयमा स्नातकोत्तर पहिलो वर्षमा अध्ययन गर्ने आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेकी थिइन्।

आवासीय चिकित्सकहरूको उजुरीपछि काउन्सिलले गत फागुन १७ गते चार जना चिकित्सकलाई एक साताका लागि निलम्बन गरी छानबिन अघि बढाएको थियो।

छानबिनका लागि व्यावसायिक आचरण समितिका संयोजक डा विश्वराज दवाडी, सहसंयोजक डा कुन्जाङ शेर्पा र सदस्यहरू डा आनन्दकुमार शर्मा, डा रूपक बीके घिमिरे र राजेश्वर अधिकारी रहेको पाँच सदस्यीय समिति पनि काउन्सिलले बनाएको थियो। उक्त समितिले आरोपी चिकित्सकहरूसँग बयान पनि लिएको थियो। अन्य पक्षहरूसँग पनि समितिले सोधपुछ र कागजात माग गरी अध्ययन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad