समाज


डाक्टरलाई नै बिरामी बनाइरहेको केयू: पीडित छात्राको बयान- अति भएपछि औषधि खाएर ढलेँ

डाक्टरलाई नै बिरामी बनाइरहेको केयू: पीडित छात्राको बयान- अति भएपछि औषधि खाएर ढलेँ

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका विभिन्न विभागमा अध्ययनरत आवासीय चिकित्सकहरूको प्रदर्शन


प्रज्ञा तिम्सिना
चैत १, २०८१ शुक्रबार २१:३९, काठमाडौँ

भैरहवा मेडिकल कलेजबाट एमबीबीएस (स्नातक, चिकित्सा) अध्ययन गरेकी डा कोपिला (नाम परिवर्तन) लाई मनोचिकित्सामा रुचि थियो। एमबीबीएस अध्ययन गर्ने क्रममा नै उनले यही विषयमा एमडी (स्नातकोत्तर) गर्ने सोच बनाएकी थिइन्। 

एमबीबीएसपछि एमडीमा आफ्नो रुचिअनुसारै मनोचिकित्सा विषय नै छानिन्। चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा नाम निस्किएको आधारमा उनले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) मा पढ्न पाइन्।

बुटवल घर भएकी उनी २ वर्षकी छोरीलाई परिवारको जिम्मा छाडेर काभ्रेको धुलिखेलमा बसेर पढ्ने निधो गरिन्। 

काठमाडौँ विश्वविद्यालयमा पढ्न पाएकोमा उनी खुसी थिइन्। तर, उनको खुसी धेरै दिन टिकेन।

बिरामी हेर्न वार्डमा जाँदा विभागीय प्रमुख एवं प्राध्यापक चिकित्सकहरूले गर्ने व्यवहार सुरुबाटै उनलाई अनौठो लागिरहेको थियो।

‘भर्खर पहिलो वर्ष हो, पछि ठीक हुन्छ होला,’ उनले ठानिन्।

उनले जे सोचिन्, विभागको वातावरण भने ठिक उल्टो पाउँदै गइन्। सानोसानो गल्तीमा पनि बिरामीको अगाडि नै गाली गर्ने चलन रहेछ।

‘तिमीहरूलाई यति पनि आउँदैन? किन पढ्न आएको?’ दिनँहुजस्तै सुनिने प्रश्न र गाली थिए यी।

यसलाई उनले सहज रूपमा लिन सकेकी त थिइनन्। तर, आफ्नो पढाइकै लागि हो भनेर एक मनले चित्त बुझाउने प्रयास भने गरिरहिन्। 
अझ गत वर्ष एक आवासीय चिकित्सकले पढ्न नसकेर आत्महत्याको प्रयास गरे। त्यस घटनालाई यहाँको मनोचिकित्सा विभागले आफूभित्र जाँचपड्ताल गर्नुपर्ने आवश्यकता ठानेन। बरु उल्टै प्राध्यापकहरूले अरू विद्यार्थीलाई तर्साउने र थर्काउने अस्त्रका रूपमा उपयोग गर्न थाले।

‘तिमीहरू पनि त्यस्तै गर्ने हो भने उसले खाएको भन्दा धेरै औषधि खानू,’ प्राध्यापकहरूले भन्न थाले, ‘औषधि बरु हामी किनेर दिन्छौँ।’

‘तेस्रो वर्षमा अध्ययन गर्ने चिकित्सकले आत्महत्या प्रयास गरेपछि त्यसको रिस हामीमाथि पोख्न थालियो,’ डा कोपिला भन्छिन्।

सानी छोरीलाई घरमा छाड्नुपरेको पीडा दबाएरै सही, उनले मानसिक रोगका बिरामीको उपचारमा जीवनभर आफूलाई समर्पित गर्ने अठोट लिएर एमडी पढ्न थालेकी थिइन्। तर, प्राध्यापकहरूले दिने तनावले आफैलाई एन्जाइटी (मन डराउने, आत्तिने समस्या) जस्तो भयो।

‘छोरीसँग पनि भेट हुन्छ र उनको जन्मदिन आएकाले गत माघमा दुई दिन बिदा लिएकी थिएँ,’ उनले नेपालखबरसँग सुनाइन्, ‘छोरीको बहाना बनाएर बिदामा किन बसेको भन्दै सबैको अगाडि गाली गरियो। यसले एन्जाइटी झन् बढ्दै गयो।’

त्यसपछि त उनलाई प्रत्येक दिन, प्रत्येक क्षण ‘भोलि के कुरामा गाली खाइने हो?’ भन्ने डरले हातखुट्टा काम्न थाले। मनमा छटपटी बढ्न थाल्यो। सोधेको प्रश्नको जवाफ पनि दिन नसक्ने अवस्थामा उनी पुगिन्।

त्यस क्रममा एन्जाइटी कम गराउन १४ दिनसम्म औषधि खानुपरेको उनको भनाइ छ।

फागुन ४ गते भने बिरामी डिस्चार्ज गर्ने विषयलाई लिएर डा रिका रिजालले उनलाई सहनै नसक्ने गाली गरिन्।

कुरा के परेछ भने उनले हेरेको एक बिरामीलाई डा रिजालले हेर्न खोजिन्। डा कोपिलाले आफूले गरेको उपचार र बिरामीलाई दिएको परामर्शबारे डा रिजाललाई जानकारी गराउनु कर्तव्य ठानिन्।

‘म्याम, त्यो बिरामीले डिस्चार्ज गर्दिनु भन्दै छन्,’ उनले भनिन्, ‘मैले केही दिन बस्नुपर्छ भनेको छु। तपाईँले पनि त्यसरी नै भन्दिनुहोला।’

त्यसपछि के चाहियो गाली गर्नलाई?

‘म्यामलाई मैले काम लगाएको भन्ने लागेछ,’ आँखाभरि आँसु पार्दै डा कोपिलाले सुनाइन्, ‘मैले सिनियरलाई रिपोर्टिङ गर्नुपर्छ भन्ने कर्तव्य सम्झेर गरेको कुरालाई लिएर उहाँले आफूलाई काम लगाएको भन्दै डिपार्टमेन्ट हेड (विभाग प्रमुख) सरलाई समेत भन्नुभएछ।’

बिरामीको अगाडि नै गाली गर्न थालेपछि उनलाई निकै अपमान महसुस भयो। त्यसै दिन दिउँसो १ बजे खाजा खाने समयमा नै उनलाई आत्महत्याको सोच आयो।

दिउँसो ४ बजेतिर उनी ‘भोलि मेरो प्रिजेन्टेसन बनाउनु छ’ भन्दै कोठातिर लागिन्।

कोठामा जाँदा ‘आज म आत्महत्या गर्छु’ भन्दै औषधि किनेर लगिन्। कोठामा गएर औषधि सेवन गरेर सुतिन्।

साथीहरूलाई मोबाइलबाटै मेसेज लेखेर पठाइन्, ‘मैले गर्दा तिमीहरूले पनि गाली खायौ। मलाई माफ गरिदेऊ।’

उनको यस सन्देशले साथीहरूलाई झस्कायो। उनको कोठामा गएर हेरे। उनले औषधि खाइसकेको भेटेपछि हतारहतार अस्पतालमा भर्ना गरे। उपचारपछि उनको भौतिक शरीर ठिकठाक छ। तर यस घटनाले आफूलाई मानसिक रूपमा निकै तनाव दिएको उनी बताउँछिन्। 

गत वर्ष पनि मानसिक विभागमा एमडी तेस्रो वर्ष अध्ययनरत अर्की महिला आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेकी थिइन्।

त्यतिखेर विश्वविद्यालय र अस्पतालको साख बिग्रन्छ भनेर घटना बाहिर ल्याउनु सहपाठीहरूले उचित ठानेका थिएनन्। सोही विभागमा दोस्रो वर्ष पढ्ने एक पुरुष आवासीय चिकित्सकले विभागको तनाव खेप्न नसकेर बीचैमा पढाइ छाडेका थिए। उनका लागि पनि केही गर्न नसकेकोमा सँगै पढ्ने साथीहरूमा थकथकी थियो। 

अस्पतालमा ७ जना आवासीय चिकित्सक अध्ययन गर्छन्, एमडी पहिलो वर्ष ३ जना, दोस्रो र तेस्रो वर्ष २–२ जना। दोस्रो वर्ष अध्ययन गर्ने ३ जनामध्ये एकले गत वर्ष पढ्न नसकेर छाडेका हुन्।

एकपछि अर्को विद्यार्थी सिकार बन्न थालेपछि भने अरू सहपाठी पनि चुप बस्न सकेनन्। विरोधमा गर्नुपर्छ र पीडकलाई कारबाही गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे। विद्यार्थीले विरोध गर्दा अस्पताल र विश्वविद्यालयले वास्ता गरेन। बरु उल्टै विरोधको आवाज दबाउन धम्कीको बाटो रोज्यो।
त्यसपछि भने कानुनी उपचार पनि खोज्नुपर्छ भन्ने निष्कर्षमा पुगे, उनीहरू। र, नेपाल मेडिकल काउन्सिलमा उजुरी दिए। 

कहाँ पुग्यो कारबाही?
उजुरीपछि फागुन १२ गते काउन्सिलले अस्पतालका विभागीय प्रमुख एवं एसोसिएट डिन प्राडा अजय रिसाल, एसोसिएट प्रोफेसर डा दीपक कुँवर, लेक्चररद्वय डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई एक साताका लागि निलम्बन गरेको थियो। 

काउन्सिलका रजिस्ट्रार एवं प्रवक्ता डा सतीशकुमार देव घटनाको थप छानबिन गर्न समिति गठन गरेको बताउँछन्।

‘विद्यार्थीहरूको उजुरी अनुसार मनोचिकित्सा विभागका चार चिकित्सकलाई एक साताका लागि निलम्बन गरेका थियौँ। थप अध्ययनका लागि समिति गठन भएको छ। समितिले छिटै प्रतिवेदन बुझाउँछ,’ उनले भने।

बिरामीको सेवा बन्द गर्ने धुलिखेल अस्पताल प्रशासनको सूचना र डिन कार्यालयमा विद्यार्थीले लगाएको ताला

१७ दिनपछि मात्र बनायो केयूले छानबिन समिति 
विद्यार्थीहरूका अनुसार, आत्महत्याको प्रयासपछि डिन कार्यालयले पनि घटना किन बाहिर ल्याएको भन्दै थर्काउने र धम्क्याउने गरेको थियो। आत्महत्याको प्रयास गरेका विद्यार्थीलाई नै दोषी देखाउने गरी विभिन्न प्रकारका लाञ्छना लगाउने अभिव्यक्तिसमेत जिम्मेवार पदाधिकारीहरूले दिए। 

‘साथीका बारेमा झन् नराम्रो कुरा गर्न थालेपछि फागुन १६ गते डिन कार्यालयमा नै ताल्चा लगायौँ,’ आवासीय चिकित्सक भन्छन्।

उनका अनुसार छानबिन समिति गठन गर्नुपर्ने र डा दीपक कुँवरलाई एसोसिएट डिनको जिम्मेवारीबाट हटाउनुपर्ने माग विद्यार्थीहरूको थियो। लामो समय उनीहरूको मागलाई बेवास्ता गरी न्यायका लागि उठाएको माग दबाउने प्रयासमै अस्पताल र विश्वविद्यालय लाग्यो।

धेरैतिरबाट दबाब परेपछि घटनाको १७ दिनपछि अर्थात् फागुन २१ गते मात्र काठमाडौँ विश्व विद्यालयले छानबिन समिति गठन गरेको थियो। समितिलाई ५ दिनको म्याद दिइएको भए पनि यो सामग्री तयार पार्दासम्म प्रतिवेदन बुझाइएको छैन।

समितिले प्रतिवेदन पेस नगर्दाको अवधिसम्मका लागि मानसिक विभागमा कार्यरत शिक्षकहरूलाई शैक्षिक, चिकित्सकीय र एसोसिएट डिनको हैसियतमा कामकाजमा संलग्न नगराउने विश्वविद्यालयले जनाएको छ। 

मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघको टोलीले समेत अध्ययन गरिरहेको अवस्थामा सम्बद्ध पक्षको छानबिनले दिने प्रतिवेदनका आधारमा समेत नियमबमोजिम कारबाहीका लागि प्रतिबद्ध रहेको डिन प्राडा मनोज हुमागाईँले विज्ञप्तिमा उल्लेख गरेका छन्।

तीन सातादेखि बन्द विभाग
काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) को मनोचिकित्सा विभाग २१ दिनदेखि बन्द छ। 

आवासीय चिकित्सकहरूले विद्यार्थीमाथिका ज्यादतीको छानबिनको माग गर्दै विरोध गर्न थालेपछि अस्पताल प्रशासनले फागुन ९ गतेदेखि अनिश्चितकालका लागि विभाग बन्द गरेको हो। घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्न सेवा बन्द गरिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।

अस्पतालको मनोचिकित्सा विभाग बन्द हुँदा नियमित बिरामी जाँचका काम मात्र रोकिएका छैनन्, एमडी गर्ने आवासीय चिकित्सकहरूको पढाइसमेत ठप्प भएको छ।

मनोचिकित्सामा एमडी तेस्रो वर्ष अध्ययन गर्ने डा रियासा संग्रौला २६ दिनदेखि पठनपाठन रोकिँदा आफूहरूलाई निकै समस्या परेको सुनाउँछिन्।

भन्छिन्, ‘अस्पतालले घटना भएको लामो समयसम्म पनि विभागीय प्रमुख सहितका ४ जना चिकित्सकलाई कारबाही नगर्दा हामीलाई धेरै घाटा भयो। बिरामीसँग काम गरेर पढ्ने–सिक्ने हो। बिरामी हेर्न नपाएकै तीन साताभन्दा बढी भइसक्यो। यसले हाम्रो पढाइमा निकै असर गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad