पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा बढी अमेरिकामा देखिएको छ।
पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ९५ व्यक्तिमा कोरोनाको नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित भएको देश बनेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोनाबाट अमेरिकामा संक्रमण हुने मानिसको संख्या ८३ हजार २०६ पुगेको छ। जबकि कोरोनाको उद्मगस्थल चीनमा संक्रमितको संख्या ८१ हजार २ सय ८५ छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा यो संक्रमणबाट १ सय ७४ जनाको मृत्यु भएको छ। जुन जोड्दा अमेरिकामा कोरोनाले मृत्यु हुनेको कूल संख्या १२ सय १ पुगेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भनेजस्तै कोरोना संक्रमणको इपिसेन्टर अब अमेरिका बनेको देखिएको छ। जहाँ दिनमै हजारभन्दा बढीका दरले संक्रमित भएर कोरोना महामारीले अति डरलाग्दो रूप लिइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रण गर्न अमेरिका सबैभन्दा बढी सक्षम राष्ट्र भएको दाबी गरिरहँदा त्यहाँको स्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको छ।
काेराेना संक्रमणमा इटाली तेस्रो स्थानमा देखिएको छ। जहाँ कोरोनाबाट अहिलेसम्म ८० हजार ५ सय ९८ व्यक्ति कोरोनाबाट संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका छन्।
इटालीमा पछिल्लो २४ घण्टामा ७ सय १२ जनाको मृत्यु भएको छ। योसमेत जोड्दा त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ।
यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ।पछिल्लो २४ घण्टामा स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ। योसमेत गरेर कोरोना भाइरसका कारण स्पेनमा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ६५ पुगेको छ।
विश्वभर अहिलेसम्म ५ लाख २९ हजार १ सय ४८ जना कोरोनाबाट संक्रमित भएका छन्। जसमध्ये २३ हजार ९ सय ६८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
संक्रमितमध्ये १ लाख २३ हजार ३ सय ८० व्यक्ति भने उपचारपछि स्वस्थ भएका छन्।

प्रतिक्रिया