समाज


राष्ट्रपतिद्वारा राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल

राष्ट्रपतिद्वारा राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल

नेपालखबर
फागुन १७, २०८१ शनिबार १५:४७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन्। 

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा आयोजित श्रीमद्भगवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव २०८१ एवं देवालय सराङकोटधामको समुदघाट्न समारोहलाई आज सम्बोधन गर्दै उहाँले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पारे। 

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे। उनले भने, 'युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो। यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ।' 

उनले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे। 

राष्ट्रपति पौडेलले २०४६ सालको परिवर्तनपछि गाउँ, गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सृजना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको बताए। 

उनले भने, 'यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस्।'

उनले पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र  सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना आफूले देखिरहेको बताए।

उनले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने भन्दै निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले उपयुक्त नीति, नियम र कानुन निर्माण गरेर प्रोत्साहन गरिदिनुपर्ने उल्लेख गरे।
 
राष्ट्रपति पौडेलले पोखरा अन्तरराष्ट्रिय विमानस्थलले यसलाई सिधैँ विश्वसँग जोडेको उल्लेख गर्दै ‘जाउँ है पोखरा’लगायतका पर्यटन प्रवर्द्धन अभियानमात्र होइन यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले यो विश्वकै एउटा घुम्नैपर्ने ठाउँका रूपमा विकास हुँदै गएको बताए। 

उनले भने, 'पोखरालाई अझै आधुनिक, विकसित र सुविधासम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका बासिन्दा दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad