समाज


आमसभाका लागि विद्यालय बन्द गर्न माओवादीको पत्र

आमसभाका लागि विद्यालय बन्द गर्न माओवादीको पत्र

नेपालखबर
फागुन १२, २०८१ सोमबार २०:२८, विराटनगर

नेकपा माओवादी केन्द्रले सोमबारदेखि झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा सभा हुने ठाउँका विद्यालय बन्द गर्न दबाब दिएको छ।

मोरङको कानेपोखरी गाउँपालिकामा मङ्लबार हुने भनिएको जागरण सभामा ध्वनि प्रदूषण हुने भन्दै त्यहाँका निजी विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रम स्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन्।

उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत् जनसभा हुने उल्लेख छ।

उक्त जनसभाका कारण सवारी साधन अत्यधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ। जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदूषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौँ’ भन्दै पत्र पठाएर दबाब दिइएको हो।

विद्यालयलाई मात्रै पत्र पठाइएको छैन, पालिकामा नै विद्यालय बन्द गर्न सहजीकरण तथा परिपत्र गरिदिन भन्ने ब्यहोराको पत्र कानेपोखरी गाउँपालिकामा समेत पठाएको छ। 

कानेपोखरी गाउँपालिकाका शिक्षा अधिकृत चूडामणि रेग्मीले नेकपा माओवादी केन्द्र पार्टीको तर्फबाट एक दिन विद्यालय बन्द गर्न परिपत्र गरिदिने खालको पत्र आएको पुष्टि गरे। विद्यालय शान्ति क्षेत्र भएको कारण कुनै पनि पनि प्रतिक्रिया नदिइएको बताए।

माओवादीको अभियानको सोमबार अध्यक्ष पुष्पकमल दाहालले उद्‌घाटन गरेका थिए। अभियानको टोली मङ्लबार मोरङको कानेपोखरी आएर सभा गर्ने तयारी गरेको छ।

स्थानीय तह निर्वाचनमा कानेपोखरी गाउँपालिकामा माओवादीबाट एक जना पनि जनप्रतिनिधि निर्वाचित भएका छैनन्। जसका कारण माओवादीले त्यहाँ शक्ति प्रदर्शनसहितको सभा गर्न विद्यालय समेत बन्द गर्न दबाब दिएको हो।

माओवादीले कानेपोखरी–रङ्गेली हुलाकी सडक नै अवरुद्ध हुने गरी सभा स्थल निर्माण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad