ad ad

समाज


टेकु अस्पतालका अनुसन्धान प्रमुख भन्छन्ः एक जनामा कोरोना देखियो भन्दैमा अत्तालिन पर्दैन

टेकु अस्पतालका अनुसन्धान प्रमुख भन्छन्ः एक जनामा कोरोना देखियो भन्दैमा अत्तालिन पर्दैन

नेपालखबर
चैत ११, २०७६ मंगलबार ४:३१,

विश्वभर महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि एक युवतीमा देखिएपछि यतिबेला देशभर त्रास बढेको छ।

यसअघि पनि चीनको उहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकै हो। तर त्यो संक्रमणको सुरुवात समय, उपचारपछि उनी निको भएको र उनबाट अरूलाई संक्रमण नसरेकाले खासै धेरै चर्चा भएन।

त्यसयता शंका गरिएका साढे ५ सय जनाजतिको स्वास्थ्य परीक्षण गरिए पनि कोरोना संक्रमण पाइएको थिएन। जसका कारण नेपालमा कोरोनाको विश्वव्यापी हिसाबले केही त्रास देखिए पनि खासै ठूलो चिन्ता थिएन।

तर जब सोमबार जनस्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयले नै पत्रकार सम्मेलन गरी फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण देखिएको जानकारी गरायाे तब यसकाे त्रास ह्वात्तै बढेको हाे।

विदेशमा दिनप्रतिदिन सयौंको संख्यामा मानिसको मृत्यु भइरहेको खबर सुनिरहेका नागरिक अब नेपालमा पनि त्यस्तै हुन्छ कि भनेर त्राहिमाम भएका हुन्।

तर तिनै संक्रमित युवती उपचाररत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन सतर्कता जरुरी भए पनि धेरै अत्तालिनुपर्ने अवस्था नरहेको बताउँछन्।

उक्त अस्पतालका अनुसन्धान एकाइका प्रमुखसमेत रहेका डा. पुनले मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै भने, ‘केस थपिँदै गएपछि मानिस आत्तिनु स्वाभाविकै हो। तर यसमा मेरो हेराइ फरक छ। यस मानेमा कि अहिले जुन संक्रमण देखिएको छ, त्यो समुदायस्तरबाट फैलिएको भए व्यापक बन्ने हो कि भनेर डराउनुपर्थ्याे तर त्यस्तो नभएर विदेशबाट आएको एक जनामा देखिएको हो। त्यसकारण धेरै डराउनुपर्ने अवस्था म देख्दिनँ।’

डा. पुन यो पहिलेभन्दा अझ संयमित र व्यवस्थित ठान्छन्। पहिले भनेको सुरुको अवस्थामा चीनको उहानबाट फर्किएका एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। जो अहिले स्वस्थ भइसकेका छन्।

उनीभन्दा अहिले संक्रमित युवती बढी सचेत र इमान्दार भएको डा. पुनको बुझाइ छ।

‘अहिलेकी युवती इमान्दारितासाथ अस्पताल आइन्, परीक्षण गराइन् र कोरोना पोजेटिभ देखिएपछि तुरुन्त पुन: अस्पताल आएर बसेकी छन्,’ डा. पुनले भने, ‘उनले जुन इमान्दारिता देखाएकी छन्। लापर्बाही पनि गर्न सक्थिन्। त्यसो भएको भए स्थिति भयावह पनि हुन सक्थ्यो। यस अर्थमा उनको इमान्दारितालाई म धन्यवाद दिन्छु।’

फ्रान्समा पढ्ने १९ वर्षीया ती युवती विमानमार्फत कतार हुँदै यही चैत ४ गते नेपाल आएकी थिइन्। उनी काठमाडौं आइपुगेको केही दिनपछि उनीसँगै विमान यात्रा गरेकी एक भियतनामी साथीले फोन गरेर आफूलाई कोरोना भएको जानकारी गराइन्।

त्यसपछि शंका लागेर आफ्नो स्वाब (नाक/मुखेको र्‍याल) परीक्षण गराउन उनी टेकु अस्पताल पुगेकी थिइन्। परीक्षणका क्रममा उनमा काेराेना भाइरस पाइएपछि अहिले टेकु अस्पतालमै उपचार गराइरहेकी छन्। 

ती छात्राको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा कोरोना भाइरस भेटिएको हो। यसबारे सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो।

त्यसलगत्तै उनको घरमा र परिवार पनि जोखिममा हुने भएकाले स्वास्थ्य मन्त्रालयको टोली काठमाडौंमै रहेको उनको घर पुगेको थियो।

डा. पुनका अनुसार कोरोनाबाट संक्रमित पहिलो नेपालीको स्वास्थ्य अवस्था जति नाजुक थियो, अहिलेकी संक्रमित युवतीको अवस्था त्यस्ताे नभएकाे अर्थात् एकदमै सामान्य छ। त्यस्तो सिकिस्तजस्तै मानिस त उपचारपछि ठीक भए भने अहिलेकी युवती उपचारपछि पूर्ण स्वस्थ हुनेमा डा. पुन विश्वस्त छन्।

पहिलेका बिरामीका सम्पर्कमा रहेका कोहीमा पनि कोरोना संक्रमण नफैलिएकाले अहिले पनि यी संक्रमित युवतीबाट धेरै जनामा फैलिएको होला भनेर अत्तालिनुपर्ने अवस्था नरहेको उनको दाबी छ।

तर सतर्कता भने कडा रूपमा अपनाउनुपर्ने उनको सुझाव छ। अहिले सरकारले गरेको देशै लकडाउन पनि अत्यन्त राम्रो कदम भएको डा. पुन बताउँछन्।

‘यस्तो सतर्कतालाई अझ कडा बनाउँदै लानुपर्छ,’ उनले भने, ‘अहिले गरिएको लकडाउनले पनि भिडभाड, भोजभतेर हुन पाउँदैन, त्यसले यो संक्रमण फैलिने जोखिम घटाएको छ।’

तर पनि विदेशमा जस्तै यहाँ पनि महामारी आउँछ कि भनेर सबै तरिकाले तयारी अवस्थामा रहन भने आवश्यक रहेको उनले बताए।

उनी अहिलेको महामारीलाई स्वाइन फ्लुसँग तुलना गर्छन्। स्वाइनफ्लु फैलिएका बेला युरोप, अमेरिकामा जति मानवीय क्षति भएको थियो, त्यति नेपाललगायत दक्षिण एसियामा नभएको उनी बताउँछन्।

यस आधारमा पनि युरोपतिर जस्तो नेपालमा कोरोनाले क्षति नपुर्याउने उनको आकलन छ।

‘त्यसो भनेर मैले आनन्दले ढुक्कसँग बस्नुपर्छ भनेको पटक्कै होइन,’ डा. पुनले भने, ‘होसियारी त अपनाउनै पर्छ, अपनाइ पनि रहेका छौं, तर आतंकित हुन जरुरी छैन।’

अर्काे कुरा कोरोना संक्रमण हुँदैमा मृत्यु नै भइहाल्छ भन्ने नहुने उनी बताउँछन्।

नेपालमै पहिलो संक्रमित स्वस्थ भएको उदाहरण दिँदै उनी भन्छ्न, ‘विश्वमा पनि कोरोना संक्रमण भएका एक लाख मानिस स्वस्थ भएका छन्, अझै स्वस्थ हुने क्रम जारी छ।’

लकडाउन नै संक्रमण रोक्ने अचूक उपाय
डा. शेरबहादुर पुन लकडाउन नै कोरोना संक्रमणबाट बच्ने एक मात्र अचूक उपाय भएको बताउँछन्।

सिंगापुरलगायत देशले सुरुकै अवस्थामा लकडाउन गरेकाले, मानिसको आवतजावत र निगरानीमा कडाइ गरेकाले महामारी नियन्त्रण गर्न सफल भएको उनी बताउँछन्।

‘त्यही भएर हामी पनि यो उपाय अपनाऔं, घरमै पनि कसैलाई रुघाखोकी लागेको छ भने आपसमा अलग रहने, ६ फिटभन्दा कम दूरीमा नबस्ने आदि अपनाऔं,’ उनको सुझाव छ, ‘त्यसैगरी हात साबुन पानीले बारम्बार धुनेलगायत सरसफाइमा ध्यान दिऔं।’

साथै कुनै शंका जिज्ञासा भए फोनबाटै पनि स्वास्थ्यकर्मीसँग सल्लाह लिन सकिने उनको सुझाव छ।

‘पोजेटिभ कुरा गर्दा यहाँ गाली खाइन्छ’
नेपाली समाज किन यति धेरै नकारात्मक भएको हो भनेर आफू छक्क परेको डा.शेरबहादुर पुन बताउँछन्।

मानिस सकारात्कमभन्दा नकारात्मक कुरा गर्न बढी इच्छुक देखिएको उनको बुझाइ छ।

‘डाक्टरले नतिजा नेगेटिभ आयो भन्यो भने मानिस पत्याउँदैनन्, ढाँटेको होला भन्छन्,’ उनले भने, ‘पोजेटिभ आयो भनेचाहिँ खुसी भएको जस्तो गर्छन्। मानौं हामी बढीभन्दा बढी त्यस्तै खबर सुन्न चाहन्छौं।’

राम्रो कुरा गर्दा, सकारात्मक कुरा गर्दा आफूले धेरै पटक गाली खाएको उनी सुनाउँछन्।

अहिलेको महामारी नेपालको मात्र समस्या नभएर विश्वकै भएकाले यसको परीक्षणमा विश्व स्वास्थ्य संगठनदेखि विश्वका विभन्न मुलुकको संलग्नता भएको डा. पुन बताउँछन्।

‘हामीले रोग लुकायौं भने विश्वकै लागि खतरा हो, लुकाएर लुक्ने कुरा होइन, त्यसैले हाम्रो परीक्षणमा विश्व स्वास्थ्य संगठन, विदेशी चिकित्सको पनि संलग्नता हुन्छ,’ उनले भने, ‘त्यसकारण यसमा धेरै शंका गर्न जरुरी छैन।’

याे पनि : 

टेकुमा उपचाररत कोरोना संक्रमित युवतीको अवस्था कस्तो छ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .