समाज


एजेन्टसँग सुनीलको घुसवार्ता: ४ लाख डलरबाट बार्गेनिङ सुरु, २ लाख ८० हजारमा पक्का

एजेन्टसँग सुनीलको घुसवार्ता: ४ लाख डलरबाट बार्गेनिङ सुरु, २ लाख ८० हजारमा पक्का

नेपालखबर
माघ २४, २०८१ बिहिबार २०:१७, काठमाडौँ

राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलले एउटा ठेक्कामा ४ लाख डलरबाट घुसको बार्गेनिङ सुरु गरी २ लाख ८० हजारमा पक्का गरेको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल र ठेकेदार कम्पनीका एजेन्ट भारतीय नागरिक दीपक आनन्दबीच ह्वाट्सएपबाट भएको कुराकानीको विस्तृत विवरण नै फेला पारेको छ।

उक्त वार्तालापमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गर्न लागेको सामानको विवरण केकस्तो राख्ने, ती सामानका विशेषता, मूल्य अनि प्रक्रियाका बारेमा पनि एजेन्टसँग पौडेलले सोझै कुरा गरेका छन्। यति मात्र होइन, घुसको लागि चर्कै बार्गेनिङ चलेको छ। 

बार्गेनिङका क्रममा एजेन्टले वस्तुको मात्रा, गुणस्तर र मूल्य सकेसम्म यथार्थपरक हुनुपर्ने भन्दा पनि सुनील

आपूर्ति भएका सामग्रीमा कुनै प्रश्न नहुनु र खर्चको न्यायोचित हुनु नै हाम्रो आशय रहेको पौडेलले मात्रा र गुणस्तर घटाएर पनि आफ्नो घुस रकम घटाउन नहुने अडान लिएका छन्।

यस्तो छ वार्तालाप
एजेन्ट आनन्दले २०१८ अप्रिल ५ मा कन्सल्टिङ फी शीर्षकमा २ लाख ७५ हजार डलर छुट्याएर प्रस्ताव पौडेलकहाँ पठाउँछन्।

तर, पौडेललाई यो चित्त बुझ्दैन।

उनी भन्छन्, ‘२७५ (हजार अमेरिकी डलर) त ०.८ मिलियन अमेरिकी डलरको ठेक्कामा पाउनुपर्ने रकम हो। अब १.२ मिलियन अमेरिकी डलरको ठेक्कामा समेत एकै परिमाणको रकम भएकोले द्विविधामा परेको छु।’

अर्थात्, ८ लाख डलरको ठेक्का र १२ लाख डलरको ठेक्कामा उही रकममा कसरी काम गर्ने भन्ने उनको प्रश्न देखिन्छ। र, उनले तत्कालै ४ लाख डलर माग्छन्।

हालको विनिमय दर अनुसार, उनले मागेको यो घुस रकम ५ करोड ६० लाख नेपाली रुपैयाँ हुन्छ।

दुई दिनसम्म उनीहरूबीच बार्गेनिङ चल्छ।

आनन्दले अर्को प्रस्ताव ल्याउँछन् र सिस्को भन्ने कम्पनीका उपकरणमा डिस्काउन्ट गरी ३ लाख डलरसम्म दिन सक्ने भन्छन्।

तर, उक्त कम्पनीको उपकरणमा पौडेलले यति थोरै मार्जिनमा खरिद गर्न गाह्रो भएको बताउँछन्। मिटिङपछि धारणा यकिन गर्नुपर्ने यहाँनिर उनको भनाइ हुन्छ।

त्यसपछि आनन्दले पौडेललाई ‘तपाईंको अपेक्षित रकम कति हो’ भनी सोधेका छन्। र, अर्को मेसेजमा भनेका छन्, ‘तपाईंको निर्णयबमोजिम नै गर्नेछु।’

अर्थात्, पौडेलले मागेको घुस रकमका आधारमा उपकरणको मूल्य र गुणस्तर तय गर्न एजेन्ट तयार छन्। उनी सोध्छन्, ‘३ लाखदेखि साढे ३ लाख हो कि, ४ लाख नै चाहिने हो?’

‘तपाईँ सहमत हुनुहन्छ भने अगाडि बढ्छु, नत्र रोक्छु,’ एजेन्टले पौडेललाई अप्रिल ६ को बिहान १०:१२ बजे मेसेज पठाउँछन्।

पौडेल यसको जवाफ दिउँसो १२ बजेपछि दिन्छन्। 

उनले १२:५१ मा लेखेका छन्, ‘सरोकारवालासँग कुरा गरेँ। ३ लाखमा काम गर्न गाह्रो हुने भएकाले ४ लाख चाहिन्छ र आयोजनाको आकारलाई समेत यहीअनुसार बनाऔँ।’ 

अख्तियारले तयार पारेको चित्र

त्यसपछि एजेन्टले ४ लाख डलर पुर्‍याउन प्रयास गर्ने तर यसका लागि सिस्को कम्पनीका सामान्य खालका उपकरण मात्र किन्नुपर्ने बताए।

सँगसँगै एजेन्टले घुसको प्रस्तावित रकम बढाउँदै भनेका छन्, ‘३ लाख ७५ हजार अमेरिकी डलरमा चित्त बुझाउने हो भने अर्को जिम्ब्राको ठेक्काबाट २५ हजार अमेरिकी डलर पूर्ति गरौँला।’

यस प्रस्तावमा पौडेल सकारात्मक देखिन्छन् र एफफाइभका उपकरणहरूको रकम बढाएर कोटेसन पठाउन निर्देशन दिन्छन्। साथै, इन्स्टासेफ नामक अर्को कम्पनीका सामानको पनि मूल्य बढाउन सकिने ठाउँ उनी देखाउँछन्।

एजेन्टले भने ‘आपूर्ति भएका सामग्रीमा कुनै प्रश्न नहोस् र खर्च न्यायोचित देखियोस् भन्ने नै हाम्रो आशय रहेको’ भनी प्रस्टीकरण दिएका छन्।

उनीहरूबीच ठेक्काको रकमबारे अरू पनि लामै कुरा भएको छ। जस्तो कि एजेन्टले भ्याटसहित ठेक्काको कुल बजेट सोध्छन्। साढे १४.५ करोड रुपैयाँ भनी पौडेल जानकारी दिन्छन्।

त्यसो भए भन्सार, बैंक र बिमाहरूको रकम समावेश नभएको हो कि भनेर एजेन्टले जिज्ञासा राख्छन्। १२ करोडको ठेक्कामा थप शुल्कसहित जोड्दा १६ करोडसम्म पुग्ने अनुमान पनि पेस गर्छन्।

यसबीचमा एजेन्टले विभिन्न कम्पनीसँग कुरा गरेको बताउँछन्। र, अनि १७ अप्रिलमा पौडेलसँग भन्छन्, ‘तपाईंले ३ लाख ७५ हजार नभई ३ लाख ५० हजार डलर पाउनुहुनेछ।’

५० हजार डलर नै घुस रकम घट्ने कुराले पौडेल झन् असन्तुष्ट देखिन्छन्। बरू सामान घटाएर भए पनि आफूले पाउनुपर्ने घुस रकम बढाउन सुझाव दिन्छन्।

एजेन्ट थप डर देखाउँछन्, ‘सामान घटायो भने कम्पनीले डिस्काउन्ट रकम ७८ प्रतिशतबाट ६५ प्रतिशतमा झार्न सक्छन्।’ 

त्यसपछि एजेन्टले वास्तविक रकम बाँडफाँट र बोलपत्रमा उल्लेख गर्ने रकम समावेश गरी दुईवटा तालिका बनाई पठाउँछन्। र भन्छन्, ‘म यतिसम्म अधिकतम स्ट्रेच (लचक) बन्न सक्छु।’

‘त्यसो भए ३ लाख १० हजारमा कन्फर्म गरौँ,’ पौडेल बिट मार्न खोज्छन्। 

मे महिनाको १३ तारिखमा एजेन्ट काठमाडौँ ओर्लिएको र बोलपत्र तयारीका लागि थाक्रल वन नेपाल प्रालि नामक कम्पनीमा जाने जानकारी गराउँछन्। १५ मे बोलपत्र पेस गर्ने अन्तिम दिन हुन्छ। त्यस दिनसम्म उनी नेपालमै रहेको पाइएको अख्तियारले जनाएको छ।

३० मेमा पुगेर एजेन्टले पौडेलले पाउने घुस रकम घट्ने जानकारी दिन्छन्। डलरको भाउ फरक परेको कारण अब ३ लाख डलर मात्र घुस दिन सकिने उनले लेखेका छन्। अर्थात्, १० हजार डलर घुस कम पाउने भए।

१३ जुनमा ती एजेन्टले पौडेलले घुस रकम अझै घटाइदिन्छन्। उनी लेख्छन्, ‘तपाईंलाई थाहा भएकै कुरा हो, ठूला सम्झौतामा हामीले ३ लाख डलर विचार गरेका थियौँ। जबकि त्यसबेला १ डलर बराबर नेपाली रुपैयाँ १०५ थियो र अहिले १०८.३ रुपैयाँ पुगेको छ। हामीले पहिला भनेजस्तै ३ लाखबाट घटेर २ लाख ८० हजार डलर हुनेछ।’

उक्त रकम पौडेलले अमेरिका र भारतमा रहेका आफ्ना बैंक खातामा जम्मा गरिदिन भनेका थिए। २ लाख ८० हजारमध्ये कति अमेरिकामा र कति भारतमा जम्मा गर्नुपर्ने हो भनेर पनि एजेन्टले सोधेका छन्।

त्यसको जवाफमा भने सबै कुरा विकल (पौडेल) लाई भनिसकेको र उनले नै थप जानकारी दिने सुनीलको भनाइ छ।

अन्तिममा २ लाख ८० हजार डलर (३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ) मा कुरा मिल्छ। यो रकम कारोबार हुँदा प्रतिडलर नेपाली ११० रुपैयाँ १८ पैसा थियो। हालको विनिमय दरमा हिसाब गर्दा भने यो रकम ३ करोड ९२ लाखभन्दा माथि हुन्छ।

त्यसपछि विभिन्न मितिमा सुनीलको सिंगापुरको बैंकमा विभिन्न मितिमा घुस रकम जम्मा भएको छ।

सुनील पौडेल पछिल्लो समय नेपाल टेलिकमका प्रबन्ध निर्देशक थिए। टेलिकममा जानुअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएका थिए।

आर्थिक वर्ष २०७४/७५ मा आह्वान ‍गरिएको बोलपत्र सप्लाइ, डेलिभरी, इन्स्टलेसन अफ सेक्युरिटी अप्लाइएन्सेस एन्ड नेटवर्क इक्विपमेन्टको खरिदमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले मिलेमतोमा बोलपत्र तयार गरी प्रस्तावसमेत स्वीकृत गरेको पाइएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

पौडेलले एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दीपक आनन्दसँगको मिलोमतोमा ३ वटा कम्पनीबाट कोटेसन प्राप्त गरे गराएको देखाएको, त्यो पनि झुटा रहेको, अनि तिनै झुटा कोटेसनका आधारमा मातहत कर्मचारीहरूबाट स्पेसिफिकेसन तयार गर्न लगाएको, आफैले लागत अनुमान स्वीकृत गरेको र बोलपत्र आह्वान गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ।

वास्तविक मूल्य अमेरिकी डलर ६ लाख ७६ हजार रहेको ठेक्कामा पौडेललाई २ लाख ८० हजार डलर अर्थात् नेपाली रुपैयाँ ३ करोड ८ लाख ५० हजार ४०० घुस दिएको ठेकेदार कम्पनीले दिएको भेटिएको अख्तियारले जनाएको छ। उक्त रकम सिंगापुरको बैंक खातामा जम्मा भएको अख्तियारको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad