समाज


साहित्यिक महोत्सवमा विद्यार्थीको प्रश्न : देशमै बस्ने कि विदेशिने?

साहित्यिक महोत्सवमा विद्यार्थीको प्रश्न : देशमै बस्ने कि विदेशिने?

नेपालखबर
माघ २४, २०८१ बिहिबार १८:२८, काठमाडौँ

१२ कक्षा सकेपछि विदेश जानु ठीक कि बेठीक? ह्वाइट हाउस लिटरेचर फिल्म फेस्टिभलको पहिलो दिन प्रायः यही विषयमा छलफल भएको छ।

महोत्सवको उद्घाटन कार्यक्रममा डा भगवान कोइरालाले आफू नौ कक्षासम्म घरको काम गर्दै पढेको स्मरण गरे। उनले भने, ‘म कलाको क्षेत्रमा कमजोरी विद्यार्थी हुँ, यसको मतलव सबै विद्यार्थी सबै विषयमा उत्कृष्ट हुँदैन।’

विज्ञान मात्रै विद्यार्थीको सफलताको मापन नभएको भन्दै उनले ‘पास हुने बित्तिकै विदेश जाने सोच छ भने, जानुस्, पढ्नुस्, सिक्नुस् र नेपालमै आएर केही गर्नुस्’ भन्ने आग्रह गरे।

पहिलो दिन सातओटा विविध विषयमा छलफल भए। विद्यार्थीहरुको नृत्य प्रतिभा हेर्दै अगाडी बढेको फेस्टिभलमा पहिलो छलफल राउटेः जंगलमै जिन्दगी भन्ने शिर्षकमा भएको थियो।

पहिलोपटक स्टेज चढेका ४ जना राउटे समुदायका ब्यक्तिहरुले जंगल र आफ्नो काठमाडौं यात्राका बारेमा बताए। न विदेश जाने मोह, न घर ठड्याउने लोभ। उनीहरु भिड देखेर डराए पनि। उनीहरूले अहिले नाम लेख्न जानेको भन्दै बिस्तारै पुराना काम छाडेर नयाँतिर आकर्षित भएको बताए।

वक्ता दीपक शाहीले काठका कामहरु कम हुँदै गएको र धेरैजसो निर्भरता नेपाल सरकारमा भएको बताए।

‘राजनिती : विकर्षण कि आकर्षण’ भन्ने छलफलमा राजनीतिज्ञ रामकुमारी झाँक्रीले वितृष्णा नभएको, झनै पावर डिजायनले व्यावसायिक धन्दा भएको धारणा व्यक्त गरिन्। उनले पनि हरेक सुविधा हुँदाहुँदै पनि अहिलेका युवा विदेश जान चाहेको धारणा व्यक्त गरिन्।

युवा राजनीतिज्ञ मिलन पाण्डेले पनि वर्तमान राजनीतिमा विकर्षण बढेकाले युवाहरु विदेश पलायन भइरहेको तितो यथार्थ पोखे।

त्यसैगरी, ‘जेन जी जिज्ञाशा’ भन्ने छलफलमा पनि विशेष गरेर अहिलेको पुस्ताको विदेश मोहबारे नै छलफल भएको थियो।

पत्रकार सुधिर शर्माले विदेश जानु नराम्रो नभएको भन्दै फर्केर देशमै केहि गर्नुपर्नेमा जोड दिए। 

अहिले व्याण्डहरु सेलाइरहेको समयमा पनि लामो समयदेखि व्याण्ड सहित सक्रिय रहेकी गायिका, गीतकार तथा कम्पोजर अभया सुब्बा सामाजिक सञ्जाल अनुसार नयाँ पुस्ताको टेष्ट बुझ्न नसक्दा जेनजी जेनेरेशनले सुन्ने गीत कम भएको बताइन्। उनले भनिन्, ‘अहिलेका पुस्तालाई संगितमा पिस (शान्ती) मनपर्छ, पहिले रिस मनपर्थ्यो।’

व्याण्ड मात्रै हैन, यसमा महिलाको आवाज त झनै बिरलै सुनिन्छ। यस विषयमा पनि अभयाले यदि गायिका मात्रै भएको भए आफू पनि हराउने बताइन्। उनले भनिन्, ‘गायिका र गाउने महिला धेरै भएपनि म यसलाई एउटा पार्ट मात्रै बनाउँछु। गीत आफै लेख्छु, आफै कम्पोज गर्छु। त्यसैले म यहाँ छु।’

लेखक पत्रकार बसन्त बस्नेतले अहिलेसम्म लेखेका दुईथरी पुस्तकका बारेमा बताए। उनले भने, ‘पहिलो पुस्तक कन्टेम्पोररी हिस्ट्रीका बारेमा थियो। मधेशको यथार्थ घटनालाई पत्रकारको आँखाले देखेका कुरा उतारिएका थिए। पछि २ ओटा उपन्यासमा व्यक्ति र समाजलाई बुझ्न सकिन्छ।’

लेखन सबै साहित्य मान्न नसकिने पनि उनले बताए। भने, ‘अरु मानिसको निजी भोगाइलाई साहित्य मान्न सकिँदैन। अहिले पत्रकारिता र अहिलेको पुस्ता सहित्यसँग जोडिएको पनि उनले दावी गरे। भने, ‘अहिले पढ्ने संस्कार कम भयो भन्ने चलन छ। तर तथ्य र तथ्यांकले त्यस्तो देखाउँदैन।पहिले पत्रकारिता हतारको साहित्य भन्थे।’

अहिले साहित्य समाचारमा पसेको हो कि सहित्यमा समाचार भन्ने प्रश्नमा उनले भने दुबैका अक्षर एक्प्रेसन पसको बताए।

यस्तै, अहिले पूर्ण बहादुरको सारङ्गीबाट चर्चित भएका कलाकार विजय बरालले अभिनयलाई पढाईले निखारता ल्याउने बताए। उनले भने, ‘अभिनय जन्तजातै हुन्छ। हरेक कुरा अब्जर्भेसन गरेर त्यसैको नक्कल गर्ने नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ।’

उनले अभिनय पनि एक जनरा भएको भन्दै भने, ‘अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहनुभएको छ। मेरो फिल्म पुर्ण बहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यहि हो।’

पहिले सहायक भूमिकामा रहँदा र अहिले मुख्य भूमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभएपनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए। उनले भने, ‘सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भूमिकामा जिम्मेवारी वोध र दवाव महशुस हुने रहेछ।’

त्यस्तै, फेस्टिभलमा अभिनेत्री मनिषा कोइरालाले कला यात्रामा लाग्नुको कारण पारिवारिक पृष्ठभूमि राजनीतिक मात्रै नभएर परिवार कला प्रति झुकाव पनि रहेको बताइन्।

उनका अनुसार बाल्यकालमा पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि म सामान्य हुर्किन् र उनले साहित्यिक कार्यक्रममा बोल्न मन लाग्नुको कारण पनि खुलाईन्, ‘नयाँ पुस्ताका विद्यार्थी माझ पुग्दा म आफूलाई अझै धेरै काम गर्ने उर्जा आउँछ,’ उनले भनिन्, ‘र कथाहरु सुन्ने र सुनाउने थलो भएकाले म यस्ता कार्यक्रममा पुग्छु।’

त्यस्तै, आनी छोइङ डोल्माले विद्यार्थीहरुलाई लहैलहैमा विदेश नजान सल्लाह दिईन्। उनले भनिन्, ‘पढ्न, सिक्न जानुस् तर आफ्नै देशमा फर्किएर घर बनाउनुस्।’

निर्देशक मिन भामले पनि अहिलेसम्म आफूले एक पटक मात्रै टिकट काटेर विदेश गएको स्मरण गर्दै भने, ‘म तलव लिएर विदेशमा घुम्न जान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad