युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यान्सर रोग बारेको जनचेतना फैलाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपालमा क्यान्सर रोगको रोकथामका लागि सरकारले आजदेखि सुरु गरेको एचपीभी खोप अभियान २०८१ लाई सफल बनाउन युवाहरुले भूमिका खेल्नुपर्ने मन्त्री चौधरीले बताए।
नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) ले विश्व क्यान्सर दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको जनचेतनामूलक र्यालीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोकथाममा सरकारको योजनाहरु सकारात्मक हुँदै गएकाले यसमा सबैको साथ आवश्यक रहेको बताइन्। क्यान्सर रोगका भोगाइहरु व्यक्तिपिच्छे फरक हुने भएकाले आफ्ना परिवारका सदस्य वा वरपरका क्यान्सर रोगीहरुप्रति जिम्मेवार भएर व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।
विश्व क्यान्सर दिवसकै अवसर पारेर नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौँका विभिन्न स्थानबाट उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल जाने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ।
र्यालीमा संस्थाका केन्द्रीय पदाधिकारी, शाखाका प्रतिनिधि, त्रिवि शिक्षण अस्पताल महारागजमा अध्ययनरत एबीबीएस विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालका विद्यार्थीहरु गरी पाँच सय बढीको सहभागिता थियो।
र्याली काठमाडौँको भृकुटीमण्डपबाट– सहिद गेट– जुद्ध शालिक– असन– जमल– त्रिचन्द्र कलेज– पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो।
Shares

प्रतिक्रिया