महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
गाउँको भित्री सडकमा अत्यधिक तीव्र गतिमा आउँदै गरेको ज १ त ५२४१ नं को ट्याक्टरले आफ्नै घर अगाडि उभिरहेका बालक अन्सारीलाई पछाडिबाट अचानक ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। बालकलाई उपचारका लागि स्थानीय स्वास्थ्य क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्र्याक्टरको ठक्करबाट मृत्यु भएका बालक अन्सारीको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ भने घटना पश्चात ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस
प्रतिक्रिया