बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ हाउसले कनेक्ट आइपीएस इ-पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ।
मोबाइल एप्स, वेब, सदस्य बैंकको इन्टरनेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएस इ–पेमेन्ट मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ।
बैंक वित्तीय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो। यसले सर्वसाधारणले अन्लाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ।
कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ। यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाटरु १ लाख सम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ। कनेक्ट आइपीएसको फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल/इन्टर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ।
प्रतिक्रिया