समाज


सरकारी वकिलको प्रतिप्रश्न– रविले सहकारीबाट ऋण लिएको होइन भने ९० लाख किन तिरेको?

सरकारी वकिलको प्रतिप्रश्न– रविले सहकारीबाट ऋण लिएको होइन भने ९० लाख किन तिरेको?

नेपालखबर
माघ २, २०८१ बुधबार १५:२९, काठमाडौँ

रवि लामिछाने सहकारीसँग प्रत्यक्ष कारोबारमा नजोडिएकाले मुद्दा चलाउन नपाइने भन्ने उनका कानुन व्यवसायीको तर्कलाई सरकारी वकिलले खण्डन गरेका छन्। 

रविका पक्षबाट थुनछेक बहस सकिएपछि जवाफी बहसमा भाग लिएका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले भने, ‘यदि ऋण लिएको होइन भने ९० लाख किन तिरेको? यसभन्दा के चाहियो त प्रमाण?’

उनले स्वर्णलक्ष्मी सहकारीको कारोबारसम्बन्धी विवरण खुल्ने गरी सर्भरका डाटाहरू हार्ड डिस्कमै राखेर इजलासमा पेस गरिसकेको जानकारी दिँदै ती डिजिटल अभिलेखलाई प्रमाणको रुपमा लिन इजलाससमक्ष आग्रह पनि गरे।

उनको भनाइ थियो, ‘हार्ड डिस्कमा सबै विवरण छ। उहाँको प्रत्यक्ष संलग्नता खुल्छ। सहकारीको रकम गैरकानुनी रूपमा सहकारी ऐनविपरीत गोर्खा मिडियामा पैसा लगिएको छ। त्यो पैसाको कारोबारमा रवि लामिछाने प्रत्यक्ष जोडिएका छन्।’

अभियुक्तको कद र अनुहार नहेरी आदेश गर्न पनि उनले आग्रह गरे।

रवि पक्षका कानुन व्यवसायीले उनी सहकारीको कारोबारमा प्रत्यक्ष नजोडिएको तर्क गरेका थिए। साथै जीबी राईले सहकारीबाट रकम ल्याएको कुरा रविलाई थाहा नभएको र जीबी मुख्य कारोबारी रहेकोले त्यहाँको कर्मचारीका रूपमा गरेको कामका आधारमा रविलाई अभियुक्त बनाउन नमिल्ने दलील पनि सरकारी वकिलले पेस गरेका थिए। साथै रवि यो देशको चौथो ठूलो दलको नेता भएका कारण कहीँ कतै भागी जाने अवस्था पनि नभएको कारण थुनामा पठाउन नहुने उनका कानुन व्यवसायीको माग थियो।

तर सरकारी वकिलले भने, ‘यो मुद्दामा आदेश गर्दा अदालतले प्रमाण हेर्दोरहेछ, अभियुक्तको मुख वा उचाइ हेर्दो रहेनछ भन्ने देखाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad