दैनिक कोरोनाका कारण मृतक र संक्रमित बढ्दै गएका छन्।
बिहीबारसम्मको तथ्यांकअनुसार हालसम्म २ लाख २५ हजार ३८१ जना कोरोनाबाट संक्रमित बनेका छन्।
यसबाट मृत्यु हुनेको संख्या ९ हजार २७६ पुगेको छ। हालसम्म उपचारपछि ८५ हजार ८३१ स्वस्थ बनेर घर फर्किएका छन्। यद्यपी यसको औषधि अझैपनि परीक्षणकै क्रममा छ।
पछिल्लो समय कोरोनाको केन्द्रविन्दु युरोप बनेको छ। युरोपमा मृतक र संक्रमितको दर बढ्दै जाँदा संयुक्त राज्य अमेरिका पनि कोरोनाबाट निकै प्रभावित बनेको छ।
हालै न्युयोर्क टाइम्सले एक लेख प्रकाशित गरेको छ। जहाँ ‘भेन्टिलेटर अभाव’का कारण संसारभर कोरोनाले संक्रमित मानिसको मृत्यु हुने गरेको उल्लेख गरिएको छ।
भेन्टिलेटर स्वासप्रस्वासमा समस्या भएकालाई कृतिम रुपमा स्वासप्रस्वासमा सहयोग पुर्याउने प्राविधिक उपकरण हो। कोरोनाको संक्रमणले निमोनियासँगै सास फेर्न गाह्रो हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
भेन्टिलेटरको अभावमा ज्यान गुमाउने राष्ट्रहरुमा विकसित मुलुक पनि पर्ने न्युयोर्क टाइम्सले जनाएको छ।
समाचारअनुसार हाल विश्वभर भेन्टिलेटरको माग यति बढेको छ, अमेरिकी र युरोपेली उत्पादनकर्ताले आफूहरुले हाल विश्वमा बढेको माग पूर्ति गर्न नसक्ने बताइरहेका छन्।
हरेक देशमा हजारौं संक्रमित भएको अवस्थामा एकैपटक भेन्टिलेटरको माग पूर्ति गर्न नसकिएको जनाइएको छ।
विश्वमा सबैभन्दा बढी भेन्टिलेटर उत्पादन गर्ने स्वीजरल्यान्डको कम्पनी हेमिल्टन मेडिकलका प्रमुख कार्यकारी आन्द्रेस विल्यान्ड भन्छन्,‘वास्तविक रुपमा भन्नुपर्दा हामीसँग पर्याप्त भेन्टिलेटर नै छैन।’
हाल चीन, इटली, फ्रान्सजस्ता देशबाट भेन्टिलेटरको भारी माग भइराखेको छ। तर कसलाई कति बेच्ने भनेर आफूहरु नै दोधारमा रहेको उनी सुनाउँछन्।
विल्यान्डका अनुसार हालै इटलीले ४ हजार वटा भेन्टिलेटरको माग गरेको थियो। तर त्यो मात्रामा भेन्टिलेटर पठाउन नसकेपछि आफूहरुले इटलीलाई ४ सयवटा मात्र पठाएको उनको भनाइ छ।
एनबीसी न्युजका अनुसार इटलीमा हाल कोरोनाको संक्रमण बढ्दो छ। बिहीबारसम्म इटलीमा ३५ हजार ७१३ संक्रमित बनेका छन्। त्यहाँ २९ सय ७८ को मृत्यु भइसकेको छ। चीनपछि सबैभन्दा बढी ग्रस्त मुलुक इटली हो। इटलीको मृतक दरले चीनलाई उछिन्न लागेको छ।
तर पछिल्लो समय चीनमा भने कोरोनाको प्रभाव घट्दा त्यहाँ संक्रमित र मृतक दर घट्दै गएको छ। मृतक दर भारी मात्रामा बढेपछि इटलीले हालैका दिनमा बाँच्न सक्ने र कोरोनाको प्रभावलाई थेग्न सक्नेलाई मात्र भेन्टिलेटरको सुविधा प्रदान गर्न थालेको छ।
भेन्टिलेटर महँगो मेसिन पनि हो। यसको मूल्य २५ देखि ५० हजार अमेरिकी डलरसम्म पर्छ। हाल अमेरिकामा १ लाख ६० हजार भेन्टिलेटर रहेको अनुमान गरिएको छ।
बिहीबारको तथ्यांकअनुसार अमेरिकामा ९ हजार ४६४ कोरोनाबाट संक्रमित छन्। त्यहाँ १ सय ५५ जनाको मृत्यु भइसकेको छ। यद्यपी अमेरिकामा पनि भेन्टिलेटरको माग बढ्दै गएको छ। किनभने हरेक राज्यमा हजारौं संक्रमितको आशंका गरिएको छ। जसलाई भेन्टिलेटरको आवश्यकता छ।
अमेरिकी भेन्टिलेटर निर्माता कम्पनी भेन्टेकले हालै जापानलाई १ सय ५० भेन्टिलेटर बेच्ने तयारी गरेको उक्त कम्पनीका कार्यकारी प्रमुख क्रिस किपले बताए। हाल भेन्टेक कर्मचारी थपेर भेन्टिलेटर निर्माण गर्ने कसरतमा जुटेको छ।
‘मलाई अस्पताल, सरकारी अधिकारी, धनाढ्य व्यक्तिहरुबाट दैनिक फोन आउँछ र उनीहरु भेन्टिलेटरको माग गर्छन।’ किपल भन्छन्,‘म सत प्रतिशत भन्नसक्छु हाल विश्वका सबै भेन्टिलेटर निर्माता कम्पनीलाई यस्तै सास्ती बढेको छ।’
जर्मनीमा हाल २५ हजार भेन्टिलेटर छन्। जर्मनीमा कोरोनाका कारण हालसम्म १३ हजार ८३ संक्रमित छन् ३१ को मृत्यु भइसकेको छ। कोरोनाको आशंकामा हजारौंलाई क्वारेन्टाइनमा राखिएको छ।
हजारौंलाई भेन्टिलेटरमा राखेर उपचार गरिनुपर्ने आवश्यकता छ। यसरी कोरोनाबाट ग्रस्त बन्नेहरु दैनिक बढ्दै जाँदा हालै जर्मन सरकारले आगामी वर्षसम्म माग पूर्ति गर्नेगरी १० हजार भेन्टिलेटर निर्माण गर्न स्वदेशी कम्पनी ड्रेगरलाई निर्देशन दिएको छ।
यसरी हरेक देशमा हजारौं संक्रमित भएको अवस्थामा एकैपटक भेन्टिलेटरको माग पूर्ति गर्न नसक्दा मानिसहरुले ज्यान गुमाएको जनाइएको छ।
यो पनि:
कोरोनाविरुद्धको चिनियाँ कदमबाट अरु देशले के सिक्ने?
कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु
विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्यो १५ सुझाव

प्रतिक्रिया