कारोबार


भारतको पूर्णागिरी मेला बन्द हुँदा ब्रम्हदेव बजार ठप्प, करोडौं घाटा

भारतको पूर्णागिरी मेला बन्द हुँदा ब्रम्हदेव बजार ठप्प, करोडौं घाटा

गोकुल जोशी
चैत ६, २०७६ बिहिबार १३:३८,

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका व्यापारी लक्ष्मीदत्त पनेरु हिजोआज दिनभर प्रायः खाली हुन्छन्। ऐतिहासिक बजार ब्रह्मदेवमा पनेरुको एउटा होटल छ। चैत्र ३ गतेसम्म आफ्नो व्यवसायमा निकै व्यस्त पनेरुलाई आजभोली भने होटलमा बसेर दिन कटाउनै मुस्किल छ। उनलाई यस्तो स्थिती सृजना गरिदिएको हो, विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले।

प्रत्येक वर्ष फागु पूर्णिमादेखि असार पूर्णिमासम्म तीन महिना भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरीमा मेला लाग्ने गर्दछ। यो मेलाको दर्शन गरे पछि नेपालको ब्रह्मदेव र महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरमा आउने गर्दछन्, दर्शनार्थी। पूर्णागिरी मेलाको दर्शन गरेका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका दर्शनार्थीहरुको यहाँको ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरको दर्शन गरे पछि मनोकाँक्षा पुरा हुने विश्वास छ।

त्यसैले गर्दा ब्रह्मदेव र महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा चैत्रदेखि जेठ महिनासम्म तीन महिना निकै भिडभाड हुन्छ। मन्दिरमा मात्रै नभएर यहाँको बजार क्षेत्रमा समेत चहलपहल बढ्छ। व्यापार, व्यवसाय पनि राम्रै हुन्छ। भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव बजारमा केवल तीन महिना मात्रै राम्रो व्यापार हुन्छ। ब्रह्मदेव बजार पूर्णागिरी मेलाको अवधिमा भारतबाट आउने दर्शनार्थीका लागि मात्रै स्थापना गरिएको यहाँका व्यापारी बताउँछन्।

bramhadev.jpgब्रम्हदेवकाे भीमदत्त चाेक

पछिल्लो समय भारतीय ग्राहक अथवा सिद्धबाबा मन्दिर दर्शनका लागि आउने दर्शनार्थी स्वाट्टै घटेका छन्। त्यसैले गर्दा लक्ष्मीदत्त पनेरु जस्ता ब्रह्मदेव बजार क्षेत्रका धेरै व्यापारी आजभोली फुर्सदिला बनेका छन्।

भारतको उत्तराखण्डको छिमेकी प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिन थाले पछि त्यसलाई मध्यनजर गर्दै त्यहाँको प्रशासनले पूर्णागिरी मेला स्थगित गरेको छ। जसको प्रत्यक्ष असर नेपाली बजार ब्रह्मदेवमा देखिएको छ। मेला अवधिमा तीन महिनाका लागि मात्र व्यापार हुने ब्रह्मदेव बजार पूर्णागिरी मेला स्थगित भएपछि ठप्प बनेको हो।

यो बजार यतिबेला बजार सुनसान छ। आजभोली अधिकांश पसलहरु बन्द देखिन्छन्। खुलेका दुई/चार वटा पसलका व्यापारीहरुले पनि व्यापार नभएर त्यसै दिन काट्नु परेको गुनासो गरे।

‘मेलाको अवधिमा व्यापार राम्रै हुन्थ्यो, अगाडिको वर्ष मात्रै दुई/तीन लाख कमाइ भएको थियो।’ लक्ष्मीदत्त पनेरुले भने, ‘यो पाली मेला बन्द हुँदा धेरै घाटा भयो, त्यही मेलाको भरमा डेढ/दुई लाखको सामान थपिएको थियो, त्यो पनि अहिले त्यसै रहेको छ।’

आजभोली ब्रह्मदेव बजार प्रायः सुनसान नै रहन्छ। भारतीय ग्राहकमा निर्भर बजारमा कोरोनाको त्रासले ग्राहक आउन छाडे पछि व्यापार ठप्प भएर व्यापारी मारमा छन्।

पूर्णागिरी मेला स्थगित भए पछि व्यापार ठप्प भएको ब्रह्मदेवका अर्का फेन्सी व्यापारी मदन राज पनेरुले बताए।

‘मेरो फेन्सी पसलमा मेलाको लागि भनेर तीन लाख बराबरको सामान खरिद गरेको थिएँ। तर ग्राहक नआउँदा सामान त्यसै थन्किएको छ’ उनले भने, ‘अहिले बिहानदेखि साँझसम्म केही सामान नै बिक्री हुँदैन। ब्रह्मदेव बजार भारतीय ग्राहकहरुमा निर्भर हुनाले यसो भएको हो।’

bramhadev1.jpgग्राहक नआएपछि फुर्सदिला व्यवसायी

ब्रह्मदेव बजारका अधिकांश व्यापारीहरुले मेलाका लागि खरिद गरेको सामान त्यसै थन्किएको छ। पसलहरु बन्द गरेर व्यापारीहरु अन्य काम गर्न लागेका छन्। यता महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पनि आवतजावतमा कमी आए पछि यहाँको व्यापारमा पनि गिरावट आएको व्यापारीहरुको भनाई छ।

करोडाैं घाटा
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पूर्णागिरी मेला रोकिए पछि करोडौँको खाटा बेहोर्नु परेको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्त बताउँछन्।

‘मेला नै यहाँका व्यापारीको मुख्य आयस्रोत हो, त्यो मेला नै बन्द भए पछि बजारमा चहलपहल शून्य छ, यस पाली नराम्रोसँग घाटा लागेको छ’ अध्यक्ष पन्तले भने, ‘प्रत्येक वर्ष मेला अवधिमा करोडको व्यापार हुने ग¥थ्यो, यसपाली व्यापारीको सामान त्यसै थन्किएको छ।’

उनका अनुसार बिगतका वर्षमा मेला अवधिमा ब्रह्मदेव बजार क्षेत्रमा रहेका साना तथा ठुला पसल तथा होटलले सम्पूर्णले गरेर करोडौँको व्यापार गर्ने गरेका थिए।

‘मेला बन्द भए पछि दीनदुःखीहरु समेत मर्कामा परेका छन्, बजारको विभिन्न ठाउँमा सानो त्रिपाल मुनि व्यापार गर्नेहरु पनि नराम्रोसँग प्रभावित छन्’ अध्यक्ष पन्तले भने, ‘साँझको छाक जोर्नका लागि त्यसरी व्यापार गर्नेको लगानी नै खेर भएको छ।’

ब्रह्मदेव बजार व्यवस्थापन समितिका अनुसार हाल एक सय व्यापारी समितिमा आबद्ध छन्। यस अतिरिक्त सडकको फुटपाथमा व्यापार गर्ने पनि छन्।

भीमदत्त नगरपालिका–९ मा रहेको अहिलेको ब्रह्मदेव बजार २०४५ पछि विकास भएको हो। वि.सं. २०२२ तिर यहाँ बसोबास सुरु भएपछि फाटफुट रूपमा पसलहरू खुलेका थिए। २०४५ मा टनकपुर ब्यारेज निर्माण सुरु भएपछि बजार विस्तार भएको स्थानीय बुढापाका बताउँछन्।

bramhadev-4.jpegगत वर्षहरुमा पूर्णागिरी मेलाका क्रममा हुने गरेकाे भिडभाड

‘कोरोनाले डुबायो’
कोरोना भाइरसले गर्दा यसपटकको पूर्णागिरी मेला स्थगित भए पछि व्यापारमा घाटा लागेको ब्रह्मदेवका व्यापारीको गुनासो छ। कोरोना भाइरसले यस पटकको व्यापारमा निकै घाटा भएको खेमराज भट्टले बताए।

‘क्रण निकालेर सामान किनेको थिएँ, व्यापार नै भएको छैन्, झन् अब मेला पनि स्थगित भएको छ’ उनले भने, ‘यसपाली कोरोनाले हामीलाई डुबायो।’ उनले थपे, ‘भारतको भरोसामा सामान थपियो, डेढ लाख जतिको सामान थपिएको थियो, त्यो यसै थन्किएको छ।’

मन्दिरलाई पनि लाखौँ घाटा
यसपालीको पूर्णागिरी मेला स्थगित भए पछि सिद्धबाबा मन्दिर संरक्षण समितिले पनि लाखौँ घाटा बेहोर्नु परेको छ। मेला अवधिमा प्रसादी, भेटी तथा दानबाट प्रत्येक वर्ष लाखौँ आम्दानी हुने गरेको थियो। तर यस पटक मेला स्थगित भए पछि पैसा उठ्ने स्थिती नरहेको सिद्धबाबा मन्दिर संरक्षण समितिका अध्यक्ष बिर बहादुर खड्काले बताए।

‘मेलाको प्रसादीका लागि ६० लाखको ठेक्का भएको थियो। ठेक्का मेलौली नागार्जुन सप्लायर्सले पाएको थियो। भेटी र दानबाट गत वर्ष २० लाख रकम उठेको थियो। प्रसादी, भेटि तथा दानबाट ८०/९० लाख आम्दानी हुन्थ्यो। तर यो साल कोरोना भाइरसका कारण मेला स्थगित हुँदा लाखौँको घाटा लागेको छ’ अध्यक्ष खड्काले भने।

मन्दिरबाट उठेको रकमको केही प्रतिशत रकम मन्दिर स्तरोन्नती र संरक्षणका साथै विभिन्न सामाजिक काममा खर्च गर्ने गरिएको थियो । 

याे पनि : भारतको पूर्णागिरी मेलामा रोक

भारतको पूर्णागिरी मेलाले नेपालमा कोरोना भित्रिने खतरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad