समाज


माल्टामा नेपाली राहदानी बनाउन ६५० जनाले दिए आवेदन

माल्टामा नेपाली राहदानी बनाउन ६५० जनाले दिए आवेदन

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८१ आइतबार ५:४७, काठमाडौँ

विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन माल्टामा ६०० भन्दा बढी नेपालीले आवेदन दिएका छन्।

राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको हो।

शिविरबाट राहदानीको म्याद सकिएका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका बालबालिकाको नयाँ गरी कुल ६५० जनाको जैविक विवरणसहितको आवेदन संकलन गरेको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले जानकारी दिए। 

पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै ७०० नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताए।

शिविरबाट करिब ७८ हजार युरो अर्थात् एक करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको पौड्यालले बताए।

‘राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौँ’, उनले भने, ‘शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्‍यौँ। माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुशी व्यक्त गरे।’

शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरेको दूतावासले जनाएको छ। 

घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए। टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली संघ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो।

घुम्ती सेवालाई गैरआवासीय नेपाली संघ माल्टासहित त्यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad