मकवानपुरको मनहरीमा आज बिहान स्कार्पिओ दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
मनहरी गाउँपालिका-९ खरङ्गास्थित पूर्वपश्चिम राजमार्गमा स्कार्पिओ गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जनाएको छ।
आज बिहान ५:३० बजेतिर बाराको निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-२२ च ६८६२ नम्बरको स्कार्पिओ गाडी अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको विद्युतको पोलमा ठोक्किएर झण्डै ५० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ ट्राफिक प्रहरी र स्थानीय उद्धार टोली घटनास्थलमा खटिएका थिए।
दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी मनहरी अस्पताल पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले नेपालखबरलाई जानकारी दिए।
दुर्घटनामा गाडी चालक ४५ वर्षीय धनबहादुर स्याङतान, उनकी श्रीमती ३८ वर्षीय हरिमाया लामा, छोरा १३ वर्षीय यरोश तामाङ र ३३ वर्षीय सबु लामा घाइते भएका छन्।
घाइतेहरूको टाउको, अनुहार र छातीमा चोट लागेको भए पनि अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
तीव्र गतिको कारण गाडी अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया