सरकारले सवारी चालकको जाँचमा अझ कडाइ गर्ने भएको छ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकले बोलाएको दुर्घटना न्यूनीकरणसम्बन्धी बैठकले सो निर्णय गरेको हो।
सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकहरूले मादक पदार्थ, लागु पदार्थ सेवन गर्न नदिन लागि चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
त्यसैगरी बैठकले यातायात व्यवसायीहरूलाई पनि सवारी चालकलाई आवश्यक तालिमको तत्काल व्यवस्था मिलाउन सचेत गराएको छ।
प्रवक्ता तिवारीका अनुसार, सवारी दुर्घटना नियन्त्रणका लागि सिटभन्दा बढी यात्रु नराख्ने, यात्रुवाहक सवारी साधनमा मालसामान ढुवानी गर्न नहुनेलगायतका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ।
प्रवक्ता तिवारीले भने, ‘आज माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा सवारी दुर्घटना नियन्त्रण सम्बन्धमा सरोकारवाला सम्पूर्ण निकायहरूबीच हामीले छलफल गर्यौँ। छलफलमा मूलतः सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेका छौँ। प्रयोजनअनुसार सवारी साधनहरू चलाउने, मालसामान ढुवानी गर्ने साधनमा यात्रु र यात्रुवाहक साधनमा मालसामान ढुवानी नगर्ने, मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न अझ चेकजाँचलाई कडाइ गर्ने। लामो दूरीमा २ जना चालकलाई अनिवार्य राख्ने र ओभर स्पिडलाई नियन्त्रण गर्ने निष्कर्ष आजको छलफलले निकालेको छ।’
निर्णय कार्यान्वयनका लागि तत्कालै कार्ययोजना बनाएर काम गर्ने तिवारीको भनाइ छ। लाइसेन्सलाई अझ प्रभावकारी बनाउन, चालकहरूलाई तालिमलगायतको व्यवस्था यातायात व्यवसायीहरूले पनि गर्ने र त्यसमा यातायात व्यवस्था विभागले समन्वय गर्ने निर्णय भएको उनले बताए।
Shares

प्रतिक्रिया