गण्डकी


राष्ट्र बैंकका पूर्वगर्भनरलाई प्रश्न : उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन?

राष्ट्र बैंकका पूर्वगर्भनरलाई प्रश्न : उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन?

नेपालखबर
मंसिर २, २०८१ आइतबार २०:२५, पोखरा

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन्।

उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे। सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्, त्यहाँ विदेशी लगानी पनि बढ्ने तर्क गरे।

पोखरा उद्योग वाणिज्य संघले आइतबार मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘नीतिपछि बल्ल सरकार आउँछ,अहिले देशमा उत्तरी र दक्षिणी ध्रुव मिलेका छन्। साँच्चै देश बनाउन यो सरकार बनेको हो भने किन उत्पादनशील क्षेत्रमा लगानी बढेन भनेर सोच्नुपर्छ।’

दुई ठूला दल मिलेर सरकार बनेको झण्डै चार महिनामा पनि अर्थतन्त्र चलायनमान नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो।

‘अहिले वैदेशिक मुद्राको संचिति अवस्था ५१ सय ५२ अर्ब छ। त्यस्तै बैंकमा पनि उत्तिकै पैसा थुप्रिएको छ,’ उनले भने,‘विदेशी मुद्रा संचिति बढ्नु भनेको वैदेशिक लगानी आकर्षित हुने अवस्था हो तर भएको छैन,’उनले भने,‘ देशमा उत्पादनमुलक केही काम नभए पनि २१ महिना ढुक्कले बस्न सकिन्छ। देश घ्यू खाएर मस्तसँग सुतेको जस्तो भएको छ।’

उनले आर्थिक गतिविधि सुस्ताउनुमा राजनीतिक नेतृत्वभन्दा पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीति दोषी रहेको जिकिर पनि गरे। अर्थतन्त्रको अवस्थाबारे ख्याल नराख्ने र ठूला–ठूला योजना अगाडि सार्ने राजनीतिक नेतृत्वलाई अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउनु नियमनकारी निकाय राष्ट्र बैंकको कर्तव्य भएको पनि उनले बताए।

‘मौद्रिक नीति र सरकारको कुरा मिल्दैन। जहाँ मिल्छ,त्यहाँ अर्थतन्त्र जान्छ। केन्द्रीय बैंक नेताजस्तो उदार हुन मिल्दैन। केन्द्रीय बैंक र अर्थमन्त्रीको कुरा संसारभर नै मिल्दैन,’उनले भने,‘कोभिडकालीन समयमा राजनीतिक नेतृत्वसँगै राष्ट्र बैंक उदार बन्यो,बजारमा पैसा प्रवाह ग¥यो तर त्यसलाई छिटो व्यवस्थापन गर्न नसक्दा अहिलेको समस्या आएको हो।’

राष्ट्र बैंकको गभर्नर हुँदा बैंकहरु गाभ्ने तथा भूकम्पको समयमा अनुदान प्रवाह गर्दा राजनीतिक नेतृत्वको आग्रहभन्दा पनि अर्थतन्त्रको यथार्थता हेरेकोले आर्थिक अवस्था नडग्मगाएको पनि उनको जिकिर थियो। उनले वैदेशिक रोजगारीका लागि विदेशिनुलाई नराम्रो भन्न नमिल्ने र गैरआवासीय नेपाली नागरिकलाई दोहोरो नागरिकता दिँदै लगानीको लागि प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बैंकमा तरलता थुप्रिँदा पनि निजी क्षेत्र ऋण लिन उत्साहित नहुनु, निर्माण व्यवसायीले समयमा कामको भुक्तानी नपाउनु तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म पनि घोषणा अनुरुप भौतिक पूर्वाधारका कामको ठेक्का नलाग्नुलाई निजी क्षेत्रले निको नमानेको बताए।

‘निजी क्षेत्र उत्साहित नहुँदासम्म, उत्पादकत्व बढाउने क्षेत्रमा लगानी नहुँदासम्म सिथिल अर्थतन्त्रले गति लिँदैन, निजी क्षेत्र मैत्री वातावरण निर्माणमा सरकार लागोस् र उत्पादकत्व बढोस् भन्ने हाम्रो चाहना हो,’उनले भने,‘रेमिट्यान्सले हैन, स्वदेशी उत्पादनले नै कुल ग्राहस्थ उत्पादनमा योगदान गर्ने वातावरण हाम्रो चाहना हो।’

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन र संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष वसन्त उदासले युवा पलायन दर बढ्दा बजार सुस्ताएको जिकिर गर्दै पढ्नकै लागि विदेश जाँदा पनि कम्तिमा मापदण्ड कायम गराउनुपर्ने सुझाव दिए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बुद्धाचार्य, वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य,उपमहासचिव सुदीप प्रधानाङ्ग,कार्यसमिति सदस्य देवेन्सन प्रजु र राम कँडेल,पत्रकार विजय नेपाल,व्यवसायीहरु मिलन तिवारी,अध्ययेता सरोज कोइराला,सहजकर्ता सुरेन्द्रबाबु तिवारी,फर्निसिङ तथा फर्निचर व्यवसायी संघ कास्की अध्यक्ष थोमनाथ अर्याललगायतले व्यवसाय गर्नेले किन सहज तरिकाले ऋण पाउँदैनन्, किन नियमनकारी निकायहरु उद्योगी/व्यवसायी मैत्री व्यवहार गर्दैनन्, किन साना तथा मझौला उद्योगीहरुलाई सहज हुने खालको नीति ल्याइँदैन,किन निश्चित वर्गको हितका खातिर नीति नियम बनाइन्छ भन्नेलगायतका जिज्ञासा राखेका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad