समाज


रुपन्देहीमा रविमाथिको अनुसन्धान टुंगियो, पोखराको थुनछेकपछि मात्र मुद्दा अदालत बुझाइने

रुपन्देहीमा रविमाथिको अनुसन्धान टुंगियो, पोखराको थुनछेकपछि मात्र मुद्दा अदालत बुझाइने

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार २१:९, काठमाडौँ

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धान सकिएको छ।

प्रहरीले सरकारी वकिलको रोहबरमा तीन दिन लगातार बयान लिएपछि अनुसन्धानको प्रक्रिया पनि टुग्याएको हो। 

‘तीन दिन लगाएर करिब ७० वटा सवालमा सोधपुछ भयो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘योसँगै अनुसन्धानको प्रक्रिया पनि लगभग टुंगिएको छ।’

बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान गर्न रविलाई मंगलबार पोखराबाट भैरहवा लगिएको थियो। मंगलबार १ बजेदेखि ५ बजेसम्म उनको बयान रेकर्ड गरिएको थियो। त्यस्तै बुधबार र बिहीबार ९ घण्टाभन्दा बढी उनीसँग सोधपुछ चलेको थियो।

पोखरामा उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान चलिरहेको छ। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका उनलाई पोखरामा पनि जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलकै रोहवरमा प्रहरीले बयान लिएको थियो। 

अब कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि थुनछेक बहस हुनेछ। सरकारी वकिल र रविका कानुन व्यवसायीको बहस सुनिसकेपछि अदालतले उनलाई थुनामै राख्ने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भनेर आदेश गर्नेछ। कास्की अदालतको त्यस्तो आदेशपछि मात्र रुपन्देही प्रहरीले रविविरुद्धको मुद्दा सरकारी वकिलमार्फत अदालतमा बुझाउनेछ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता एवं डीएसपी लक्ष्मी खनालले नेपालखबरसँग भनिन्, ‘अब (रवि लामिछानेलाई) पोखरा पठाउँछौँ। उताको मुद्दामा थुनछेकको प्रक्रिया सकिएपछि यताको अदालतमा प्रस्तुत गर्छौँ।’  

जीबी भनिने गीतेन्द्रबाबु राई समूहका सहकारीहरूको करिब ६५ करोड रुपैयाँ ठगी गरेको भनिएको प्रकरणमा रवि मुछिएका छन्।

बुटवलको सुप्रिम सहकारीको सवा १४ करोड रुपैयाँ रविसमेत साझेदार रहेको गोर्खा मिडियामा प्रवाह भएको पाइएको छ। त्यस अलावा रविका नाममा २ करोड रुपैयाँ अलग्गै निकासा भएको प्रहरी अनुसन्धानले देखाएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि नै २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा चलिसकेको छ। त्यतिखेर रवि लामिछाने र उनका साझेदार छविलाल बन्जाडे जोशीलाई अभियुक्त बनाइएको थिएन। उक्त मुद्दा अदालतमा दायर हुँदा रवि गृहमन्त्री थिए।

राजनीतिक शक्तिको आडमा उनलाई प्रहरीले जोगाइएको भनी संसदमा आवाज उठेपछि संसदीय विशेष छानबिन समिति नै गठन गरिएको थियो। एमाले सांसद सूर्य थापा नेतृत्वको उक्त समितिले रवि र छविलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

सूर्यदर्शन र सुप्रिम सहकारीको अनुसन्धान सकिएपछि प्रहरीले सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी, काठमाडौँ र सानो पाइला सहकारी, वीरगन्जमा रविको संलग्नताबारे अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ।

यस्तै रविको सम्पत्ति र आर्थिक कारोबारमा केन्द्रित रहेर सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको छ।

जीबी राई भने हालसम्म फरार छन्। उनी मलेसियामा रहेको आशंका गरिए पनि सरकारले झिकाउन सकेको छैन। जीबी अध्यक्ष रहेको गोर्खा मिडियामा छवि केही समय उपाध्यक्ष थिए भने रवि १५ प्रतिशत सेयर लगानीकर्ता तथा प्रबन्ध निर्देशक थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad