रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयानको प्रक्रिया ढिलासम्म चलेपछि पोखरा फर्काउने प्रक्रिया रोकिएको छ।
उनी बिहीबार राति रूपन्देही प्रहरीकै हिरासतमा रहने भएका छन्।
'रुपन्देहीमा रवि लामिछानेको बयान ढिलासम्म चलेपछि आज उहाँलाई पोखरा नफर्काइने भएको छ। रुपन्देही प्रहरीका अनुसार उहाँलाई भोलि बिहान पहिलो उडानबाट पोखरा पठाइनेछ,' रविका सहयोगी दीपक बोहोराले जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलको रोहवरमा प्रहरीले तीन दिन लगाएर लिएको बयान आज (बिहीबार) सकेको हो। उनलाई पोखरा लैजान साँझ ६:३० को उडानको टिकट काटिएको थियो।
उनको बयान सकेर सहीछाप गराउँदासम्म राति ८ बजिसकेको थियो। बिहान साढे १० बजेदेखि उनको बयान लिन थालिएको थियो।
सरकारी वकिलको रोहबरमा रूपन्देही प्रहरीका अनुसन्धान अधिकारीले बयान लिएका थिए।
रविसँग मंगलबार ४ घण्टा र बधुबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको थियो।
प्रहरीले रविलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न गत मंगलबार भैरहवा ल्याइएको थियो।
सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप रविमाथि छ। त्यस्तै लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ निकासा भएको पाइएको छ।
यसै प्रकरणमा उनका व्यापारिक साझेदार छविलाल बन्जाडे जोशीसँग यसअघि नै बयान लिएर पोखरा पठाइसकिएको छ। अर्का साझेदार जीबी भनिने गीतेन्द्रबाबु राई भने फरार छन्।
Shares

प्रतिक्रिया