लुम्बिनी


दुई करोडबारे रविको बयानमा विरोधाभास, दोस्रो दिन ९ घण्टा सोधपुछ

दुई करोडबारे रविको बयानमा विरोधाभास, दोस्रो दिन ९ घण्टा सोधपुछ

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार २०:७, बुटवल

सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको छ।

बिहान कार्यालय खुल्नासाथ १० बजे नै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर सरकारी वकिलकै रोहवरमा बयान लिन सुरू गरेको थियो। साँझ अँध्यारो भइसक्दा पनि बयान निरन्तर गरिएको थियो। ७ः२५ बजे मात्र सरकारी वकिल कार्यालयबाट उनलाई प्रहरीले गाडीमा राखी हिरासततिर लगेको थियो।

‘बयानको क्रम अझै सकिएको छैन,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले नेपालखबरसँग भने, ‘उहाँसँग सम्बन्धित धेरै सवालजवाफ आज भएको छ। केही कुराहरू अझै रुजु गर्नुपर्नेछ। केही थपघट हुन सक्छ। बयानको क्रम भोलि पनि निरन्तर चल्छ।’ 

 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही पुर्‍याइएको थियो। हिजो सुरु गरिएको लामिछानेको बयानलाई आज पनि निरन्तरता दिइएको थियो।

मंगलबार दिउँसो १ बजेदेखि ५ बजेसम्म बयान लिइएको थियो। 

स्रोतका अनुसार, रविले केही ठाउँमा बाझिने प्रकारका अभिव्यक्ति दिएका छन्। सुरूमा थाहा छैन भनेका कुरा पछि गएर अन्य सवालमा केही तथ्यहरू खुलाएका छन्। 

खासगरी उनका नाममा २ करोड रूपैयाँ सुप्रिम सहकारीबाट निकासा भएको यसअघि नै अदालतमा दायर अभियोगपत्रमा उल्लेख गरिएको थियो। तर, त्यतिखेर रविलाई प्रतिवादी बनाइएको थिएन। 

रविले उक्त रकम आफूले आवेदन दिएर नलिएको बताए पनि आफू सम्बद्ध खातामा कसरी जम्मा भयो भन्ने विषयमा केही विरोधाभासपूर्ण अभिव्यक्ति दिएका छन्। साथै जुन ठेगाना उल्लेख गरिएको छ, त्यो रवि लामिछाने को हो त भन्ने विषयमा पनि उनले फरकफरक कुरा बताएका छन्।

सुप्रिम सहकारीबाट सवा १४ करोड रूपैयाँ गोर्खा मिडियामा गएको छ। त्यसबाहेक रविको नाममा मात्र थप २ करोड रूपैयाँ अनियमित तरिकाले निकासा गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। ‘तर रविले यसमा आफू जिम्मेवार नभएको भन्ने जिकिर गरिरहेका छन्,’ प्रहरी स्रोतले भन्यो।  

बयानको क्रम नसकिएकाले रविको रूपन्देही बसाइँको क्रम पनि लम्बिएको छ। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ। कास्की जिल्ला अदालतले उनलाई पछिल्लोपल्ट १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ, जुन मंसिर ८ गते सकिनेछ। 

अनुसन्धानको क्रम नटुंगिए प्रहरीले पुनः अदालतमा पेस गरी म्याद थपका लागि आग्रह गर्न सक्नेछ। 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याइएको थियो।

सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई यसअघि नै बुटवल लगेर बयान लिई पुन: पोखरा फर्काइसकिएको छ। 

बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा यसअघि २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा चलिरहेको छ। उनीहरूले १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको अभियोग छ।

त्यसमा रवि र छविलाई प्रतिवादी बनाइएको थिएन। अभियोगपत्रमा रविलाई प्रतिवादी नबनाइए पनि उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको किटान गरिएको छ। 

अब रवि र छविविरूद्ध पूरक अभियोगपत्र दर्ता गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad