समाज


राति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना

राति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १८:८, काठमाडौँ

आज (बिहीबार) राति तीन प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ। 

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। 

यसैगरी कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। 

मौसम महाशाखाका अनुसार देशभर पश्चिमी वायुको प्रभाव छ भने पहाडी भेगमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ।

जसका कारण यतिबेला (बिहीबार साँझ) कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो (२६ देखि ५० प्रतिशतसम्म) बादल लाग्नु हो भने साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादल लाग्नु हो।

मौसम मुख्यतया सफा भनेको चाहिँ लगभग आकाश सफा (२५ प्रतिशत मात्र बादल लाग्नु) हो। 

यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो। 

मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो। एक/दुई स्थान भन्नाले जुनसुकै ठाउँमा पानीपर्न सक्छ भनेर बुझ्नपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्। 

थोरै स्थान भनेको चाहिँ एक/दुई स्थानभन्दा अलि धेरै ठाउँ भन्ने बुझ्नुपर्छ।  

हाल नेपालमा पोस्ट मनसुन चलिरहेकोे छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad