समाज


देशभर फैलियो ‘दाना’ चक्रवातको प्रभाव, बदलियो मौसम

देशभर फैलियो ‘दाना’ चक्रवातको प्रभाव, बदलियो मौसम

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १८:४६, काठमाडौँ

भारतमा भयाभव अवस्था सिर्जना गरेको चक्रवात ‘दाना’को प्रभाव नेपालमा पनि देशभर फैलिएको छ। 

बंगालको खाडीमा विकसित चक्रवात दाना गएराति भारतीय राज्य ओडिसाको तटीय क्षेत्रमा बज्रिएको थियो। जसका कारण ओडिसा र पश्चिम बंगालमा तीव्र हावाहुरीका साथ भारी वर्षा भएको थियो। 

यद्यपि अहिले अवस्था सामान्य हुँदै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त चक्रवात ओडिसामा ल्यान्डफल (जमिनमा प्रवेश) गरेपछि त्यसको आंशिक प्रभाव यता पनि मुलुकभर परेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जानकारी दिएको छ। बिहानसम्म यसको आंशिक प्रभाव कोसी प्रदेशमा मात्र परिरहेको थियो। 

चक्रवातको प्रभाव आंशिक मात्र परेकाले केही बादल आई मौसम बदली भए पनि वर्षाको भने धेरै सम्भावना देखिएको छैन। 

पश्चिमी वायुमा दानाको समेत आंशिक प्रभाव थपिएका कारण यतिबेला (शुक्रबार साँझ) कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी प्रदेशमा आंशिक बदली छ। कोसी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइहेको मौसम महाशाखाले जनाएको छ।

आज राति पनि कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी प्रदेशलगायत देशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो बादल लाग्नु हो भने साधारणतया बदली भनेको धेरैजसो आकाश बादलले ढाकिनु हो। अनि मौसम मुख्यतया सफा भनेकोचाहिँ लगभग पूरा आकाश खुला हुनु हो। 

मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो। 

देशभरका पहाडी क्षेत्रका एक/दुई स्थान भन्नाले यसका जुनसुकै ठाउँमा पानीपर्न सक्छ भनेर बुझ्नपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्। 

यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो। 

हाल नेपालमा पोस्ट मनसुन चलिरहेकोे छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad