समाज


होटलमा बास बस्ने बहानामा विषादी सेवन गराई लुटपाट, दुई आरोपी पक्राउ

होटलमा बास बस्ने बहानामा विषादी सेवन गराई लुटपाट, दुई आरोपी पक्राउ

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार २०:५, काठमाडौँ

बाँकेको कोहलपुरमा विषादी सेवन गराई लुटपाट गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्कीको साविक धिताल गाविस वडा नं. ९ हाल माछापुच्छ्रे गाउँपालिका–६ अस्तम बस्ने वर्ष ६१ को कालु परियार र पोखरा महानगरपालिका–३ नदिपुर बस्ने ३२ की सन्जु कोइराला रहेका छन्।

प्रहरीका अनुसार उनीहरू गत असोज १२ गते बेलुका अन्दाजी ६ बजेको समयमा बाँकेको कोहलपुर नगरपालिका–११ नयाँ बस्पार्क स्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बाहानामा पुगेका थिए। त्यसक्रममा उनीहरूले होटेल संचालककी आमा पार्वती उपाध्यायलाई आमा नाता लगाई उनको भरोसा जितेका थिए।

पछि १५ गते राति अन्दाजी ११ बजे पार्वती र उनका २ जना नातिनी विधा आचार्य र विनिशालाई फ्रुटी तथा मोहीमा घातक विषादी मिसाई खुवाएका थिए।

त्यसपछि उनीहरूको शरीरमा रहेको एक तोला सुनका रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथनिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको ३० हजार रुपैयाँ बराबरका नगद तथा जिन्सी सामान चोरी गरी भागेको थिए।

तत्काल नामथर वतन थाहा नभएका ‘सानुसन्जु९२०’ टिकटक आईडी भएकी चिउँडोमा कालो कोठी भएकी अन्दाजी उमेर २५/२६ भएको महिला र अन्दाजी उमेर ५५/६० जस्तो देखिने कालो वर्ण भएको पुरुषलाई प्रहरीले हुलियाका आधारमा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा सन्जु र कालुको घर ठेगाना खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक रेशमलाल पौडेल समेतको प्रहरी टोली खटि सन्जुलाई पोखरा–१३ अमलाचौरस्थित निजको आफनै घर कोठाबाट र कालु परियारलाई तनहुँ देवघाट गाउँपालिका–५ क्षेत्रीटोलबाट असोज ३० पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके ल्याइएका कालु परियारको साथबाट लोराजिपाम ट्याबलेट्स आईपी २ एमजी लेखेको (२ स्ट्रीप) जम्मा १७ ट्याबलेट बेहोस पार्ने औषधि बरामद भएको छ।

साथै, यस्ता खालका घटनाहरू निजहरूबाट अन्य ठाउँमा घटेका भए इलाका प्रहरी कार्यालय कोहलपुरमा सम्पर्क राख्न हुन समेत प्रहरीले अनुरोध गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad